हाम्रो परिवार, समुदाय र समाजमा आजपनि घरभित्र दैनिक गरिने क्रियाकलापलाई काम÷श्रमको रूपमा हेरिने गरिएको छैन, मासिक तलब वा औपचारिक क्षेत्रमा गरिने श्रमलाई मात्रै श्रम भनिन्छ, यस्ता अनौपचारिक क्षेत्र खेति किसानी, घरमा हेरचाह, वा घरको कामसँगै बाहिर दोहोरो काम गर्नेमा पुरुषको तुलनामा महिलाहरूको संलग्नता धेरै छ, जसलाई हामी काम नै मान्दिनौ । यसरि सामाजिक संरचनाले पुर्नउत्पादक भूमिकामा महिलाहरूको सहभागिता बढी हुनुहुन्छ ।
घरपरिवारमा प्रत्यक्ष आयआर्जन नदेखिने तर त्यस्ता कामहरूमा पनि महिलाहरूको नै सहभागिता बढी छ, यसलाई महिलाहरूको काम ठान्ने सोच प्रबृत्ति नै छ, त्यस्ता कामलाई कतिपय पुरुषहरूले त्यो त कामै नै हैन भन्ने सोचले ग्रसित छौ । परिवारका अन्य सदस्य काम, व्यवसाय वा रोजगारीले व्यस्त हुँदा घरभित्रका धेरै काम महिलामाथि निर्भर हुन्छन्, जसमा बालबच्चा, बिरामी, र वृद्धको हेरचाहसमेत प्रमुख छन् । महिलाहरूले दैनिक खाना पकाउने, सरसफाइ गर्ने, कोठा मिलाउने, खर्च–ब्यवस्थापन, सुरक्षाजस्ता थुप्रै सामाजिक र घरेलु काम निरन्तर गर्दै आएका छन् ।
यस्ता घरेलु कामहरूले परिवारको आर्थिक, सामाजिक तथा राजनीतिक गतिविधि सहज बनाउन ठूलो योगदान पु¥याउँछन्, तर यसको मूल्यांकन प्रायः हुँदैन । विभिन्न संघसस्थाहरूले नेपालमा गरेको सर्भेक्षणहरूले घरेलु काममा महिलाहरू दिनको ६–८ घन्टासम्म खटिरहेका हुन्छन भने, युवा उमेर समूहका महिलाहरू ४८ प्रतिशत घरेलु श्रमिक रूपमा कार्य गरिरहेको देखाएको छ । यसरि अनौपचारिक क्षेत्रमा काम गरिरहेका महिला मात्रै छैनन पुरुषहरूपनी रहेका छन् ।
परिवारका सदस्यहरू मिलेर श्रमको मुल्यांकन सहित घरयासि भित्र वा बाहिर, औपचारिक वा अनौपचारिक जहा गरेपनि त्यसलाई प्रोत्साहन गर्ने, समभावको हिसाबले श्रमको मुल्यांकन हुनै पर्दछ यहाँ धादिंग जिल्ला थाक्रे गाउपालिका ६ महादेबेशीको एउटा परिवार जो उदाहरणका रूपमा प्रस्तुत गरिएको छ । पढेलेखेकाले घरायसी त्यो पनि पुरुष अनि खेति किसानी गर्नुहुन्न भन्ने मान्यतालाई तिस वर्षदेखि तोडिएको छ । हाम्रो समुदायमा साक्षर महिलाहरू बढी यो क्षेत्रमा हुनुहुन्छ, पढेलेखेका महिलाहरूले पनि बाहिरको कामसँगै घरका यस्ता काममा दोहोरो भूमिका रहनुपरेको छ, यसका लागि यो पात्र उदाहरण हुनुहुन्छ ।
शिक्षित दम्पति, साधारण जीवनः किसानी हात
सखारै गाउँभरि मोटरसाइकलको हर्नको आवाजसँगै रानीबारीका किसानहरू आफ्नो बिहान सुरु गर्छन्। यो हर्न बजाउने व्यक्ति हुन् — ३० वर्षदेखि गाउँका घर–घर पुग्ने रामचन्द्र पण्डित। दूधका क्यान, तौल नाप्ने उपकरण÷सामान र किसानका लागि आवश्यक दाना–चोक्कर बोकेर उनी दैनिक २५–३० किमि कच्चिबाटोमा उकालो–ओरालो कुदिरहेका हुन्छन् । हर्न सुनेपछि किसानले ढिलो नगरी दूध निकालेर ल्याइदिनु, एकछिनमै गुणस्तर जाँचेर दूध लिने, उनको दिनचर्या नै हो । कहिलेकाहीँ किसानले मागेको सामान ल्याइदिने, अनि गाउँका ४०–५० घर घुमेर करिब तीन सय लिटर दूध संकलन गर्ने उनको दिन बिहान ३ः३० बाट सुरु भएर राति ११ बजेतिर मात्रै सकिन्छ ।
रामचन्द्र पण्डितले आफूले गरेको कामलाई कहिल्यै सामान्य मानेनन्, तर ठूलो–सानोको अहंकार पनि गरेनन । सुट लगाएर शहरमा जागिर खान सक्थे, शिक्षक बन्न सक्थे, विदेशिन सक्थे। उनको शैक्षिक योग्यता पनि त्यही अवसर दिएको थियो। तर आफू जन्मे–हुर्केको गाउँमै बसेर काम गर्ने चाहना, समुदायसँगको माया र व्यवहारिक जीवनबाट सिकिएको ज्ञानले उनलाई यतै रोकेर राख्यो। गाउँका किसान र गाउँको समय–छन्दसँग मिलेर काम गर्ने अभ्यास नै उनका लागि कर्म र पहिचान बनेको छ। उनको घरमा बृद्ध आमा सहित श्रीमती नर्मदा अर्याल र एक छोरा छन् । परिवारका सबै सदस्यहरू मिलेर तीन गाई–वस्तु पाल्छन् ।
गाउँमा प्रायः महिलाले गरेरै मानिने गाई–वस्तु स्याहार्ने काम यो घरमा मिलेर गरिन्छ। बिहान श्रीमान–श्रीमती नै गाईगोठ स्याहार्न र सरसफाईतिर लाग्छन, घरका काममा व्यस्त हुन्छन्। आमा सात दशक कतिसक्नु भएको भएपनि अझै घरको काममा सक्दो सहयोग गर्नुहुन्छ। आमाले पनि बिहान बेलुकाको खाना पकाउन, घर हेर्न मद्दत गरिरहनुहुन्छ। घरभित्र गरिने यिनै कामहरूले बाहिरको काम सहज बनाइदिन्छन्—यो बुझाइ यस घरमा स्वाभाविक रूपमा विकसित भएको छ ।
रामचन्द्रले राजनीतिकशास्त्र र नेपाली साहित्यमा स्नातकोत्तर गरेपछि एलएलबी पनि गर्दै छन्। समय नमिलेका कारण केही ढिला भएको बताउँदै उनी भन्छन्—“कुनै दिन खाली भएर मात्र पढाइ हुन्छ भन्ने होइन, समय निकालेर गर्ने हो।” साहित्यप्रेमी भएका कारण उनले लिलाबहादुर क्षेत्रीको बसाइँ उपन्यासका लोकउक्तिमा थेसिस गरेका रहेछन्। अब केही वर्षमै नेपाली साहित्यमै पीएचडी गर्ने लक्ष्य बनाइरहेका छन् र नर्मदा अर्याल पनि समाजशास्त्रमा स्नातकोत्तर, शिक्षा संकायमा स्नातक, अनि मन्टेस्वरी तालिमसमेत लिएकी उनी बिहान श्रीमानसँगै काम सकेर स्थानीय संस्थामा सामाजिक परिचालकको जागिर गर्छिन्। छोरा कक्षा ११ मा पढ्ने भएकाले उहाँको दैनिकी पनि अध्ययन र घर–सम्बन्धी काममा व्यतित हुन्छ ।
परिवारका सबै सदस्यको समय, श्रम र जिम्मेवारी मिलेर हिँड्ने संस्कार भएको घर भएकाले कुनै पनि काम कसैको ‘कर्तव्य मात्रै’ जस्तो भएर बाँकी रहँदैन—सबैले मिलेर गर्ने, सबैको मूल्य बराबर राख्ने चलन छ । कुनैबेला दुग्ध विकास संस्थाले रामचन्द्रलाई “फुड टेक्नोलोजी” पढ्न सहयोग गर्ने प्रस्ताव पनि दिएको थियो तर स्थायी रूपमा दिनभर र समय–सूची मिलाएर काम गर्नुपर्ने थियो। बिहान ३ः३० बाट सुरु हुने दैनिकी र गाउँका किसानसँगको सम्बन्ध त्यागेर जान मन लागेन। उनी भन्छन्—“मलाई गाउँ छाडेर जानु राम्रो लागेन, सिकेकै कुरा यतै बसेर गर्दै आएको छु।” यसरी हेर्दा उनीहरूको जीवनब्रति शिक्षासँग पनि गाँसिएको छ र कामसँग पनि । यो घरमा आम्दानी र खर्चको हिसाब दुवैले मिलेर हेर्ने चलन छ। मासिक रूपमा कति कमाइ भयो, कति खर्चियो—सबै कुरा खुलेर छलफल हुन्छ। अहिले केही महिनादेखि दुग्ध विकास संस्थाबाट आउने रकम रोकिँदा रामचन्द्रले सावित्रीसँग पैसा सरसापट मागेर ब्यवसाय चलाइरहेका छन्। तर घरभित्र झगडा हुँदैन। उनीहरू दुवैले मान्छन्—आम्दानी र श्रम दुवै बराबर हुन्। “माम–काम–दाम सबै बराबर,” रामचन्द्र हाँस्दै भन्छन् ।
रानीबारीका किसानहरू पनि रामचन्द्र आउँदा निश्चिन्त हुन्छन्। बिहान गाउँबाट बजार पुगेर दूध बेच्न जान धेरै समय लाग्थ्यो। तर रामचन्द्र घरमै लिएर जान थालेपछि किसानलाई बिहानको समय घर–गोठ, बालबच्चा र खेतबारीका काममा लगाउन सजिलो भयो। उनीहरूको सेवा केवल दूध संकलन मात्रै होइन—किसानका दैनिकी सहज बनाउने सहयोग हो । यसले गाउँमा समय, श्रम र कामको मूल्य एकअर्कासँग जोडिदिएको छ। रामचन्द्र र नर्मदा समुदायमा पनि सक्रिय छन् । गाउँका युवासँग छलफल गर्ने, पढ्ने–सिक्ने थलो बनाउने, सामुदायिक पुस्तकालय खोल्ने प्रयास गर्दैछन । यी सबै गाउँलाई माथि उठाउने सोचले प्रेरित छ । “हामीले सिकेका कुरा गाउँका मानिसले पनि सिक्नुपर्छ, यही सोचले काम गर्छौँ । शिक्षित भएर गाउँमै बस्ने र गाउँकै भलाइ सोच्ने दम्पति कमै पाइन्छ उनीहरू त्यसका जिवन्त उदाहरण हुन् ।
दुवै जनाको काम फरक–फरक भए पनि एकअर्कामा सम्मान छ । घरभित्र गरिने काम देखिँदैन तर महत्त्वपूर्ण छ; गाउँमा बिहान–बिहान मानिसहरूको दैनिकी सजिलो बनाइदिने काम देखिन्छ तर परिवार र समाजले मुल्यांकन गरेको छैन, सबै काम सम्मानयोग्य छ भन्ने सचेतनाको लागिपनि रामचन्द्र–नर्मदाको दैनिकीले गाउँका धेरै युवा, विद्यार्थी र परिवारका लागि प्रेरणा बनेको छ, कुनै ठूलो आदर्श घोषणा बिना—कति अर्थपूर्ण तरिकाले योगदान दिन सकिन्छ भन्ने उनीहरूले देखाइदिएका छन् । उनीहरूका अनुभव र जीवनशैलीले एउटा कुरामा जोड दिन्छ—घरभित्र गरिने श्रम, बाहिर गरिने श्रम, दुवै बराबरी; एकअर्काको कामको सम्मान, दुवैको जीवनको सहजता । रामचन्द्र र नर्मदाको परिवार एउटा सकारात्मक उदाहरण मात्रै हो, अधिकाश परिवारमा महिलाले घर भित्र मात्रै, बाहिरको काम गरेपनि घरको काम चाहि महिलाकै हो भन्ने नै छ । श्रम घर बाहिर वा भित्र जता गरेपनि उचित मुल्यांकन हुनु जरुरि छ । यो मुल्यांकन परिवार र समाजले बुझ्न जरुरि छ भने राज्यले यसलाई श्रम कै रूपमा लिएर नीतिगत ब्यबस्था गर्न पर्नेछ ।
पछिल्लो समयमा केहि पालिकाहरूले (मकवानपुरको भीमफेदी गाउपालिकाले अनौपचारिक क्षेत्रकालाई सामाजिक सुरक्षा कोषमा जोडिरहेको छ) यसमा काम थालेपनि त्यो नगन्य र अपुग छ । अझ अनौपचारिक क्षेत्रका श्रमिकहरूको बारेमा मसिनो तरिकाले तथ्यांक संकलन गर्ने र तिनलाई नीतिगत रूपमा सुरक्षित श्रमको बारेमा सचेतना र शिक्षा दिनु अत्यन्त जरुरि भैसकेको छ ।
नेपालमा घरायसी कामलाई अझै श्रम मानिँदैन। महिलाहरू दिनको ६–८ घन्टा हेरचाह, सरसफाइ र घरेलु काममा खटिन्छन्, तर मूल्यांकन हुँदैन। रामचन्द्र–नर्मदाको उदाहरणले देखाउँछ—श्रम ठूलो–सानो हुँदैन; घरभित्र वा बाहिर, सबै काम बराबरी सम्मानयोग्य छ, नीतिगत मान्यता आवश्यक छ ।