नेपालको अर्थतन्त्रका बारेमा सडके, पटके बिज्ञहरु देखि नेपालको वास्तविक अर्थलाई बुझ्न नचाहने पश्चिम किनारका अर्थविदहरुले अनेकौं कुरा लेखेको बोलेको सुन्न पाइन्छ । नेपालको अर्थतन्त्रलाई आइएनजिओको हावाहवाई कागज मिलाइ खेतीमा तौलेर जुलुस गर्ने सडके अर्थविदहरुले नेपाललाई स्वीटजरलेण्ड बनाउने कथा भन्दै स्वाजिलेण्ड बनाइरहेका छन् । अर्कोतिर सत्ताको चास्नीको मिठास वरिपरिको कित्तामा लामालामा आर्टिकलका भित्ता कोरेर नेपाललाई यूरोअमेरिकी चश्माभित्रबाट अस्फोर्ट र क्याम्ब्रिजको नजरले हेर्ने र त्यसैमा नेपाल नै हरिलोभरिलो देख्ने अर्थविदहरुको कारण नेपालको मौलिक अर्थतन्त्रका सबै आयामहरु मेटिँदै गएका छन् । कुनैपनि देशको अर्थतन्त्रको बारेमा निर्णायक केन्द्र भनेको लोकतन्त्रमा त्यहाँका राजनीतिक पार्टीहरु नै हुन्छन् । तिनका सरकारले लिने आर्थिक नीतिले देशको अर्थतन्त्रको मार्ग तय गर्ने गर्छ । ती राजनीतिक पार्टी हाँक्ने विज्ञहरु, त्यसको राजनीतिक सिद्धान्त कहाँ कुन देशको परम्परा, भौगोलिकता, ऐतिहासिकतासँग मेल खाएको छ र आफ्नो देशमा त्यो सापेक्ष छ छैन भन्ने कुराले पनि त्यस्ता पार्टीहरुले लिने आर्थिक नीतिले देशको अर्थतन्त्रको दिशा र दशा तय गर्ने गर्दछ ।
नेपालमा अहिले चलिरहेको अर्थतन्त्रको चरित्रमा कतै न कतै यस्तै यस्तै कुराहरुको चर्चा नभएर देशको अर्थ बिनाको अर्थतन्त्रका कुरा भैरहेका छन् । अब नेपालको वास्तविक अर्थ सहितका अर्थतन्त्रको चर्चा पनि हुन आवश्यक छ । नेपालको अर्थतन्त्रको लयलाई नेपाल सापेक्षताको भाकामा ढालेर सुरताल निकाल्नै पर्छ ।
नेपालमा राजा महेन्द्रको शासनकालमा चलेको अर्थतन्त्रको चरित्र वास्तवमा नेपाल सापेक्ष रहेको रहेछ भन्ने कुरा उनको देहवसानको चार दशक पछि मात्रै वास्तविक रुपमा नागरिकहरुलाई मात्रै होइन हिजो अरुको अर्थतन्त्रको बयान गरेर राजनीति गर्नेहरुलाई समेत अनुभूूत भएको हुनुपर्छ । यद्दपि उनलाई आजपर्यन्त पनि गाली गर्नेहरुको एउटा वर्गको लामो लर्को छ । त्यो कुनै अर्थतन्त्रिय कारणले होइन मात्रै मनपरितन्त्रिय चेतनामा भएको नियन्त्रणको कारणले मात्रै हो । तर राजा महेन्द्रको नेपाल हेर्ने अर्थतन्त्रिय दृष्टिकोणमा प्रमाणिक खोट लगाउन सक्ने ल्याकत आजको कुनैपनि अक्सपोर्टियन, क्याम्ब्रिजियन र पश्चिम किनारका अर्थविदहरुमा छैन । हुन पनि सक्दैन ।
राजा महेन्द्रसँग विदेशी विश्वविद्यालयको डिग्री थिएन तर उनमा नेपाल बुझेको, नेपाल चिनेको, नेपालको भौगोलिक साँस्कृतिक अवस्था र यहाँको मूल आवश्यकताको अर्थ बुझेको अर्थतन्त्र र राजनीतिकशास्त्रको विद्यावारिधी पक्कै थियो ।
अहिलेका विज्ञले बहुदल, छताछुल्लवाद र संघियताले देशको अर्थतन्त्रको विकास हुन्छ भने । राजा महेन्द्रलाई गाली गरेर खडा भएको राजनीतिलाई पनि नेपाली जनताले सहजै पत्याइदिए । होला त नि भन्दा भन्दै झण्डै चार दशक बित्या, देश तन्नम बन्दै गयो । जनता बिस्तारै आर्थिक रुपमा परनिर्भर मात्रै होइन विदेशी र बहुराष्ट्रियताको कमारा बन्दै गए । आज देखियो वर्तमान राजनीतिक दृष्टिकोणले अर्थतन्त्रको विकास भएको छ कि नेपालको अर्थतन्त्रको अन्यत्रै निकास भएको छ ?
उ बेलै राजा महेन्द्रले देशको प्रशासनलाई विकेन्द्रिकरण गरेर जनतालाई घरदैलोमा शासनको अनुभूति गराउने काम गरे । देशको शासनको केन्द्र काठमाण्डौं भएता पनि प्रशासन दैलोमा पुर्याएर जनताका समस्यासँग नजिक हुने काम गरे । देश चलाउन देश बचाउन, देशका नागरिकको सुरक्षाको प्रत्याभूति दिन जुनसुकै शक्तिसँग कुटनैतिक तरिकाले लड्ने र जस्तोसुकै जोखिम पनि लिने क्षमता राजा महेन्द्रमा थियो भन्ने कुरा थप भनिरहनु पर्दैन । घटनाक्रमले आज सबै प्रष्ट भैसकेको छ ।
छिमेकी देश भारतको फलाम तथा स्टील कम्पनीहरुको विकासमा सबैभन्दा ठूलो योगदान रुसको रहेको छ । बोकारो स्टील, भिल्लाई स्टील प्लान्ट, रुरकेला, दुर्गापुर र विसाखापटनम जस्ता स्टील प्लान्टहरुको विकास देखि भारतको सबैभन्दा ठूलो एनर्जी कम्पनी भेललाई सर्पोट गर्नमा भारतको परम्परागत मित्रराष्ट्र रुसको साथ रहेको पाइन्छ । उता रक्षा क्षेत्रदेखि भारतको प्रौद्योगिकी क्षेत्रमा आइआइटी बम्बईको निर्माणमा समेत रुसको सहयोग रहेको देखिन्छ । त्यसरी बनाइएका संस्थाहरु आजपनि भारतका राज्यनियन्त्रित र शक्तिशाली संस्थाका रुपमा छन् । त्यहाँको अर्थविदले ती संस्थाहरुलाई बन्द गर्नुपर्ने सल्लाह दिँदैनन् । त्यहाँको राजनीतिले त्यसलाई दिवालिया बनाएर क्रान्तिको भ्रान्ति बाँड्दैन । तर नेपालमा राजा महेन्द्रका पालामा र २०४५ साल पहिला निकै ठूलो कुटनीतिक सफलताका साथ मित्रराष्ट्रहरुबाट सहयोगमा बनाइएका देशको अति नै आवश्यकताका संस्थाहरुलाई दिवालिया बनाएर नेपालको आर्थिक विकास र आयात प्रतिस्थापनका नयाँ नयाँ र अपत्यारिला कथा बुन्नमा अहिलेका अर्थ बिनाका अर्थतन्त्रका गरिने गरिएको छ ।
नेपालका समाजवादीहरु त यदिसम्मका लाजपचाएका छन् कि आफ्ना छाउरा संगठन लगाएर वा प्रायोजित अर्थविज्ञ लगाएर नेपालमा शिक्षा स्वास्थ्य निशुल्क हुनुपर्छ, उत्पादन राज्यले गर्नुपर्छ, बिजुली पनि सित्तै बाँड्नुपर्छ, सबथोक निशुल्क र राज्यले नै दिनुपर्छ पर्छ भन्न लगाउँछन् तर नेपालमा राजा महेन्द्रकालिन सत्ताले निर्माण गरेका विद्यालय विश्वविद्यालयमा घटिया राजनीति गरेर बन्द गराएका छन् । धार्मिक समाजिक गुठी, विद्यालय विश्वविद्यालयका जमीन समेत हडपेर मोटाएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानहरु र अस्पतालहरु जीर्ण बनाएका छन् । राज्यका अत्यन्तै महत्वपूर्ण आर्थिक संस्थाहरु देखि बैंक, बीमा, इन्धन, जहाज संस्थाहरुमा कार्यकर्ता भर्ती गर्ने र लूट मचाउने काम गरेका छन् । अनि भन्दैछन् समाजवाद समाजवाद । यिनीहरुले चारसय बर्ष द्वन्दमा फँसेको, मान्छेलाई गलामा साँङ्लो लगाएर दास बनाएर राख्ने तत्कालिन यूरोपलाई पढेर, माक्र्सलाई पुजेर, करोडौैंको हत्या गर्ने स्टालिनलाई सलाम ठोकेर नेपाल बुझिन्न न नेपालको आवश्यकताको समाजवाद बुझिन्न भन्ने स्वीकार गर्दैनन् । नेपाली समाजवादको अर्थ बुझ्न त राजा महेन्द्र र पञ्चायत शासनलाई गाली गरेर होइन यसको गुदी कुरा पढ्नुपर्ने आवश्यकता हो भन्ने जान्दैनन् । पञ्चायतकालिन राजनीति कुटनीति अर्थनीति नेपालका राजनीतिक दलले अलिकति मनन मात्रै गर्ने हो भने नेपाल सापेक्ष समाजवादको महासागर नै पाउने छन् । वास्तविक नेपाली अर्थतन्त्रको अर्थ पाउने छन् ।
नेपाल हिजो वास्तवमा नै कृषि प्रधान देश थियो र आजपनि कृषि प्रधान देश नै हो । जतिसुकै औद्योगिक क्रान्ति, यूरोपियन विकासको भ्रान्ति छरेपनि आजको राजनीतिले नेपालको अर्थतन्त्रको हिस्सेदारीमा त्यस्तो विकासको योगदान दुई अंकमा पनि गर्न सकेको छैन भने कृषिलाई जतिसुकै गाली गरेपनि कृषिले नेपालको अर्थतन्त्रमा झण्डै २७ प्रतिशत योगदान गरेको कुरा यिनै विकासेहरुको तथ्याङ्कले बताइरहेको छ । यो कुनै नेपालको कृषिलाई यूरोपियन विकासे अर्थविदहरुले माया गरेर बनाएको तथ्याङ्क होइन । जतिसुकै मिथ्याङ बनाएर नेपालमा प्रस्तुत गरेपनि नेपालको कृषिको तथ्याङ मेट्न र यसलाई मिनिमाइज गर्न सकिँदैन भन्ने पनि प्रायोजित अर्थविदहरुले बुझेकै छन् ।
नेपालको भौगोलिक अवस्था र यहाँको पर्यावरणीय अवस्था नै कृषिमैत्री रहेको छ । यहाँका सबै चाडपर्व देखि सनातानको नेपाली मौलिक पद्धति नै किसान अनि कृषिकर्ममा आधारित र सामिप्यतामा रहेको छ । यो कुरा तत्कालिन समयमा झार पनि नउम्रिने मध्यपूर्व, अरबको मरुभूमि, छ महिना हिउँले पुरिने र प्रविधी बिना मान्छे बस्न नसक्ने ठाउँको अर्थतन्त्रको पाठले अभ्यस्त भएकाहरुको दिमागमा आउन सकेन ।
आधुनिक विज्ञानको बुद्धि र प्रविधिको विकासले जुन कुरा त्यहाँ सम्भव भयो त्यो कुरा पक्कैपनि त्यहाँको तत्कालिन स्थितिलाई त्याज्य गरेर भएको होइन । त्यहाँको मौलिकतालाई आधार मानेर नै स्थितिगत्यात्मक गरेको हो भन्ने कुरा नबुझि नेपालको मौकिलता र यहाँको धरातलिय यर्थाथलाई त्याज्य बनाएर विकासको अर्थतन्त्रको खाका कोर्नेहरु वास्तवमा नेपाल निरपेक्षताको अर्थ बिनाको अर्थतन्त्रको कुरा गरिरहेका छन् भन्नै पर्ने हुन्छ ।
संसारका विकसित भन्नेहरुले यो कुरा बुझिसके कि जिवनको अर्थ खोज्न गाउँ, प्रकृति र सँस्कृतिमा रमाउनु पर्ने रहेछ, आफ्नो मौलिकता बचाउनु र सजाउनु पर्ने रहेछ, आफ्नै परम्पराभित्र विकास भएको अर्थपूर्ण समाजिक अर्थतन्त्रको आधारलाई खोज्नुपर्ने रहेछ, आफ्नै भाषा सँस्कृतिको सबलिकरण बिना बन्ने जुनसुकै अर्थतन्त्रले देशको सार्वभौमिकता र आन्तरिक सुरक्षा समेत खतरामा पर्ने रहेछ भन्ने । तर हामी नेपालीहरु राष्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहले अढाईसय बर्ष पहिला भनेका कुरा र राजा महेन्द्रले कार्यान्वयन गरेका अर्थपूर्ण अर्थतन्त्रका कुरालाई मासेर मरुभूमिमा मुल फुटाउने कुार गरेका छौं । नेपाल सापेक्षताको अर्थ बिनाका अर्थतन्त्रको परिकल्पना गर्नमा समय, विज्ञता र अर्थ खर्चिरहेका छौं ।
