निजी विचार

नेपाल सरकारले मित्रराष्ट्र बाट बाट रु. १०० भन्दा बढी मूल्यका सामान खरिद गर्दा अनिवार्य भन्सार प्रक्रिया लागू गर्ने निर्णय गरेकोमा हामी हार्दिक स्वागत तथा उच्च सम्मान व्यक्त गर्दछौँ।

यो निर्णय सीमापार व्यापारलाई निरुत्साहित गर्ने नभई वैध, पारदर्शी र व्यवस्थित व्यापार प्रणालीलाई संस्थागत गर्ने दूरदर्शी कदम हो। यसले स्वदेशी बजार संरक्षण, राजस्व अभिवृद्धि, अनुशासित व्यापार संस्कृतिको विकास तथा राष्ट्रिय अर्थतन्त्रको आधार सुदृढ पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ।

नेपालगञ्ज उद्योग वाणिज्य संघ सधैं विधि, नीति, कानुन र स्थापित प्रक्रियाको पक्षमा दृढतापूर्वक उभिँदै आएको जिम्मेवार संस्था हो। राज्यद्वारा लागू गरिएका सकारात्मक नीतिहरूको सफल कार्यान्वयनमा निजी क्षेत्रको सहकार्य, जिम्मेवारीबोध र सक्रिय सहभागिता अपरिहार्य रहने हाम्रो स्पष्ट धारणा रहेको छ।

राष्ट्र निर्माण केवल सरकारी दायित्व मात्र होइन, यो नागरिक, व्यवसायी र राज्यबीचको साझा उत्तरदायित्व हो।

सीमा सुरक्षा, भन्सार अनुशासन तथा राजस्व संरक्षणका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नम्बर ३० गणले हाल देखाएको सक्रियता अत्यन्त प्रशंसनीय छ। विशेषतः सशस्त्र प्रहरी उपरीक्षक भीम चन्द ज्यूको नेतृत्वमा भन्सार नाकामा देखिएको कडाइ, पारदर्शिता, निष्पक्षता र कार्यकुशलता राष्ट्रसेवाको उत्कृष्ट उदाहरण बनेको छ।

कानुनको अक्षरशः पालना गराउने उहाँको दृढता, प्रशासनिक दक्षता र राष्ट्रप्रतिको निष्ठाले सम्पूर्ण जिम्मेवार निकायलाई प्रेरणा दिएको छ। यस्ता कर्तव्यनिष्ठ राष्ट्रसेवकहरूप्रति हार्दिक सम्मान, उच्च प्रशंसा तथा धन्यवाद व्यक्त गर्दछौँ।

सीमावर्ती जिल्लाहरू, विशेषतः नेपालगञ्ज क्षेत्रका सम्पूर्ण व्यवसायी महानुभावहरूलाई उपभोक्तामैत्री सेवा, गुणस्तरीय सामग्री तथा सर्वसुलभ मूल्यमा वस्तु उपलब्ध गराई स्थानीय बजारलाई अझ विश्वासिलो, प्रतिस्पर्धी र सुदृढ बनाउन हार्दिक अनुरोध गर्दछौँ। जब स्थानीय बजारमा उचित मूल्य, गुणस्तर र विश्वास कायम हुन्छ, तब उपभोक्ताको आकर्षण स्वदेशी बजारतर्फ स्वतः बढ्छ; व्यापार फस्टाउँछ, रोजगारी विस्तार हुन्छ र पूँजी देशभित्रै परिचालित हुन्छ।

आज राष्ट्रहित, आर्थिक स्वाधीनता र आत्मनिर्भर भविष्यको प्रश्नमा प्रत्येक नागरिक, व्यवसायी तथा सरोकारवाला पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको छ। राष्ट्रप्रेम केवल नारामा सीमित विषय होइन; यो व्यवहार, अनुशासन, कर तिर्ने संस्कार, कानुन पालनाको चेतना तथा स्वदेशी उत्पादनप्रतिको सम्मानमार्फत प्रकट हुने उच्च नागरिक भावना हो।

जब हामी स्वदेशी उत्पादनको प्रयोग, बिक्री वितरण र प्रवर्द्धनलाई प्राथमिकता दिन्छौँ, तब राष्ट्रिय उद्योगधन्दा बलियो बन्छ, युवा शक्तिका लागि रोजगारी सिर्जना हुन्छ, उद्यमशीलता फस्टाउँछ र अर्थतन्त्रको मेरुदण्ड सुदृढ बन्छ। आफ्नै उत्पादनलाई सम्मान गर्नु भनेको आफ्नै श्रम, सीप, स्वाभिमान र भावी पुस्ताको समृद्धिलाई सम्मान गर्नु हो।

साथै, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अवैध रूपमा मूल्यवृद्धि गर्ने, तस्करीजस्ता राष्ट्रघाती गतिविधिमा संलग्न हुने, जनतालाई शोषण गर्ने सुदखोरीमा संलग्न जोसुकैमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। कानुन सबैका लागि समान हो, र कानुनी राज्यव्यवस्थामा कुनै व्यक्ति, समूह वा प्रभाव विशेषाधिकारको दायराभन्दा माथि हुन सक्दैन। वैध व्यापारको संरक्षण र अवैध गतिविधिको नियन्त्रण बिना समुन्नत अर्थतन्त्रको परिकल्पना सम्भव हुँदैन।

वर्तमान महँगीबाट प्रभावित आम नागरिकलाई राहत दिन सरकारले कर तथा राजस्व संरचनाको समयानुकूल पुनरावलोकन गरी व्यावहारिक सहुलियतका उपाय अवलम्बन गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ। नीति कठोर मात्र होइन, न्यायपूर्ण, सन्तुलित र जनमुखी पनि हुनुपर्छ।

आजको आवश्यकता आरोप होइन सहकार्य, विरोध होइन विवेक, स्वार्थ होइन राष्ट्रहित, र विभाजन होइन साझा प्रतिबद्धता हो। नागरिक, व्यवसायी र सरकार एउटै लक्ष्यमा एकताबद्ध भए मात्र आत्मनिर्भर, समुन्नत र समृद्ध नेपाल निर्माणको सपना यथार्थमा परिणत हुनेछ ।

राष्ट्रप्रेमको साँचो स्वरूप यही हो—आफ्नो देशको उत्पादनलाई माया गर्ने, आफ्नै बजारलाई बलियो बनाउने, कानुनको सम्मान गर्ने र समृद्ध नेपालको अभियानमा आ-आफ्नो स्थानबाट इमानदार योगदान दिने। यही भावनासहित सबै पक्षबीच सहकार्य, समन्वय र समृद्धिको वातावरण निर्माण होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।

(धामी, नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष हुन् )

Exit mobile version