बाँकेको खजुरामा जारी दोस्रो नेशनल प्याब्सन पालिका स्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि गुराँस चाइल्डहुड र मर्निङ स्टारले उचालेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन ) खजुराको आयोजनामा बिहीबार देखि सुरु भएको रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ६-८ निमावि तर्फ गुराँस चाइल्डहुड प्रथम भयो । निमावि तर्फ लिटिल हार्वर एकेडेमी दोस्रो र बाँके गोल्डेन इङ्लिस मिडियम तेस्रो भए ।
यस्तै १-५ प्राथमिक तहतर्फ गुराँस चाइल्डहुड प्रथम भयो । प्राथमिक तहमा आयत इङ्लिस मिडियम स्कूल दोस्रो र मर्निङ स्टार तेस्रो भए । १ – ३ प्राथमिक तहतर्फ आयत इङ्लिस मिडियम स्कूल दोस्रो र लर्ड बागेश्वरी तेस्रो भए । पूर्व प्राथमिक युकेजी देखि नर्सरी सम्मको प्रतिस्पर्धामा आयत इङ्लिस मिडियम स्कूल प्रथम भयो । गुराँस चाइल्डहुड दोस्रो र मर्निङ स्टार तेस्रो भए । रनिङ शिल्डमा महत्वपूर्ण मानिएको फुटबल खेलमा गुराँस चाइल्डहुड नै प्रथम भयो ।
फुटबलमा लिटिल हार्बर दोस्रो भयो भने बाँके गोल्डेन तेस्रो भए । भलिबलतर्फ छात्र छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो । छात्रातर्फ गुराँस चाइल्डहुड प्रथम, बाँके गोल्डेन दोस्रो र ओनस इङ्लिस मिडियम स्कूल तेस्रो भए । यस्तै छात्रातर्फ पनि गुराँस चाइल्डहुड प्रथम भयो । लिटिल हार्बर दोस्रो र ओनसले तेस्रो स्थानमा चित्त बुझाए ।
समग्रमा ६ -८ निमावि तर्फ गुराँस चाइल्डहुडले उपाधि उचाल्यो भने १-५ प्राथमिक तह तर्फ मर्निङ स्टारले उपाधि प्राप्त गरे । पुरस्कार प्राप्त विद्यार्थी तथा विद्यालयहरूले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको एन प्याप्सन खजुराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । एन प्याब्सन संग आबद्ध रहेका ११ विद्यालयले सहभागिता जनाएका थिए ।
नेशनल प्याब्सन खजुराका अध्यक्ष कृष्ण भण्डारीका अनुसार ५ सय विद्यार्थी सहभागी भएका थिए । खजुरा गाउँपालिका खेलकुद विकास समिति सँगको सहकार्यमा भएको कार्यक्रममा न्यू डाँफे स्पोर्ट्स क्लब खजुराले व्यवस्थापनमा भएको कार्यक्रम अवधिभरका लागि खजुरा स्थित बाँके सिटी हस्पिटल प्रालीले निःशुल्क रुपमा ३ दिन सम्म प्राथमिक स्वास्थ्य सेवा प्रदान गरेको थियो ।