व्यापारीलाई हत्याको नियतले दाङको लमही बजारमा दिनदहाडै गोली चलेको छ । लमही बजारस्थित जुन तारा सुनचाँदी पसलमा शनिवार अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते भएका छन् । लुटपाट प्रयास गर्ने क्रममा गोली चलाउँदा सुनार घाइते भएको लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिए । घाइते सुनारको स्थानीय लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोली लागेर पसल सञ्चालक सामान्य घाइते छन् । सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली प्रहार गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । सुन पसल गोली प्रहार गर्ने व्यक्ति फरार रहेकाले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनापछि वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको कमाण्डमा प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा घेरामा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको पनि घटनाको कुनै खास सुराक फेला परेको छैन । दिउसै गोली चलेपछि स्थानीयहरु त्रसित भएका छन् । अज्ञात व्यक्तिबाट चलाइएको गोलीपछि स्थानीय व्यापारीहरूले बजारमा असुरक्षित भएको स्थानीय व्यापारी गणेश घिमिरले प्रतिक्रिया दिए ।