प्रयोगविहीन नगरबस व्यवस्थापनका लागि समिति

करोडौं खर्चेर खरिद गरिएका बस प्रयोगविहीन भएपछि नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको छ ।

नगरबस सञ्चालनका लागि उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । तर, खरिदको केही समय उपमहानगरपालिका आफैले नगरबस सञ्चालन गरेपनि निरन्तरता दिन सकेको थिए ।

उपमहानगरपालिका आफैले नगरबस सञ्चालन गर्न नसकेपछि बस सञ्चालनका लागि टेण्डर आव्हान गरी ठेक्कामा लगाएको थियो । तर, ठेकेदारले समेत बस सञ्चालन नियमित गर्न नसकेपछि बर्षौदेखि नगर बस थन्क्याइएको छ । लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी राज्यको धनराशि खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरिंदै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको गत कार्तिक ३० गते बसेको कार्यपालिका बैठकले नगर बस व्यवस्थापनका लागि वडा नं. ४ का अध्यक्ष गोपाल पुनको संयोजकत्वमा ६ सदस्यीय नगर बस व्यवस्थापन अध्ययन समिति गठन गरेको छ ।

नगरबसका विषयमा अदालतमा समेत मुद्दा रहेको बताइन्छ । थन्किएको अवस्थामा रहेको नगरबसको हालको अवस्था, कानुनी मुद्दा र त्यसको प्रयोगको अवस्थाबारेमा अध्ययन गरी प्रतिवेदन आगामी कार्यपालिका बैठकमा पेश गर्न १५ दिन समय तोकि समिति गठन भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिएका छन् ।

‘बरु थप बजेट विनियोजन गरेर भएपनि जुन उद्देश्यले बस खरिद गरिएको सोही बमोजिम सञ्चालन गर्न उचित हुन्छ’, उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका रिजालले भने, ‘तर, त्यसको समग्र पाटो प्रतिवेदनमा आएपछि आगामी कार्यपालिकाले के गर्ने भन्ने निर्णय लिनेछ ।’

Exit mobile version