लुम्बिनी प्रदेशमा उपभोक्ता अधिकार संरक्षणका लागि क्रियाशील उपभोक्ता हित संरक्षण मञ्चले मंसिर २० गते दाङस्थित मन्त्र होटल एण्ड लजमा आयोजना गरिएको भेलामार्फत आफ्नो नयाँ प्रदेश नेतृत्व चयन गरेको छ। पुनर्गठन गरिएको प्रदेश कमिटीको अध्यक्षमा बाँकेका प्रभातकुमार ठकुरी सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्षमा दाङकी बेनु श्रेष्ठ, कोषाध्यक्षमा नवलपरासीका धनञ्जय पौडेल, महासचिवमा रुपन्देहीका दुर्गा गौतम तथा सदस्यमा तुल्सीराम भण्डारी, केशरबहादुर थापा, हुमनाथ आचार्य र समुद्र जिसी चयन भएका छन्। अन्य जिल्लाबाट अनुपस्थित पदाधिकारीहरूको पदपूर्ति पछि मनोनयनमार्फत गरिने अध्यक्ष ठकुरीले जानकारी दिएका छन्।
यसैबीच पूर्व अध्यक्ष तेजकुमार पाठक केन्द्रीय उपाध्यक्षमा पदोन्नति भएका छन्। यस्तै लुम्बिनी प्रदेशबाट वसन्त गौतम र सरस्वती ढकाल केन्द्रीय सचिवमा, भने चिन्तामणि पौडेल र सरस्वती शर्मा पंगेनी केन्द्रीय सदस्यमा चयन भएका छन्। यसबीच केन्द्रीय उपाध्यक्ष केशव शर्मा मजगैंया र सदस्य ऋषि आजादले पदबाट अवकाश लिएका छन्। कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय सचिव वसन्त गौतमले उपभोक्ता हित संरक्षण मञ्च नेपालले अन्तर्राष्ट्रिय स्तरमै सुदृढ पहिचान बनाउन सफल भएकाले अबको नेतृत्व थप व्यवस्थित, छरितो र प्रभावकारी बन्नुपर्ने बताए। उनले लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहमा संस्था विस्तार गर्ने लक्ष्य राख्दै नवीन नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे।
अध्यक्ष ठकुरीको कार्यकालमा संस्थाको सञ्जाल तीव्र रूपमा विस्तार हुने अपेक्षा गरिएको छ। प्रमुख अतिथि गौतमले “फादर अफ कन्जुमर” नर्बु लामा तथा पचासको दशकदेखि सक्रिय तेजकुमार पाठकजस्ता अनुभवी व्यक्तिहरूबाट प्रेरणा लिएर उपभोक्ता आन्दोलन अघि बढ्नुपर्ने उल्लेख गरे। डिआर घिमिरेजस्ता अभियन्ताहरूको योगदानको पनि उच्च प्रशंसा गरिएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष पाठकले ग्लोबलाइजेशन र डिजिटल युगसँगै बजार संरचना जटिल बन्दै गएको उल्लेख गर्दै उपभोक्ताको संवैधानिक हक सुरक्षित राख्न संस्था निरन्तर खबरदारी र निगरानीमा रहनुपर्ने बताए। उनले हालैको जेन्जी आन्दोलनका कारण वस्तु तथा सेवा आपूर्ति अवरुद्ध भएको, बजार अस्तव्यस्त बनेको र निजी लगानीकर्ता हतोत्साहित भएको चुनौतीलाई संस्थाले गम्भीरतापूर्वक सम्बोधन गर्दै अघि बढ्नुपर्ने धारणा राखे। साथै खाद्य सुरक्षा, इन्टरनेट सेवा, स्वच्छ पानी, यातायात क्षेत्रका मनमानी, शिक्षा क्षेत्रको अव्यवस्था, अनलाइन व्यापारका समस्या, बजार एकाधिकार, विषादीको बढ्दो प्रयोग, मूल्यवृद्धि, भ्रष्टाचार र सुशासनका कमजोरीलगायत विषयमा सक्रिय हस्तक्षेप आवश्यक रहेको बताए।
कार्यक्रमले बुटवलका उपमहानगर उपाध्यक्ष तथा पूर्व उपसचिव भक्त बहादुर कार्कीको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्यो। कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्यधारणका लागि समवेदना व्यक्त गरिएको थियो। यस्तै बरघाट र बुटवलमा सञ्चालन भएका उपभोक्ता सचेतना अभियानका उल्लेखनीय प्रयासको प्रशंसा गर्दै समुद्र जिसी र हुमनाथ आचार्यलाई विशेष बधाई दिइयो। कार्यक्रम प्रदेश अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता र महासचिव दुर्गा गौतमको सञ्चालनमा सम्पन्न भयो।
