बजारमा बढ्दो गुणस्तरहीन खाद्यपदार्थको नियमनका लागि सम्बद्ध नियामक निकायले सचेतनालाई प्राथमिकतामा राखेर होटल व्यवसायी संघसँग सहकार्यको नीति अबलम्बन गरेको छ ।
त्यसक्रममा पहिले जिल्लास्थित होटल व्यवसायीहरुलाई सचेतना अभियान शुरु गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेले सोमवार यहाँका झण्डै एकसय होटल तथा रेष्टुरेन्ट व्यवसायी प्रतिनिधिहरुलाई खाद्य स्वच्छताका बहुआयामिक पक्षहरुबारे अभिमुखिकरण तालिम प्रदान गरेको हो ।
‘म पनि आफै धेरै कुरा नजान्दा कारबाहीको फन्दामा पर्ने अवस्थाबाट गुज्रिएको छु,’ कार्यक्रम उद्घाटन गर्दै होटज व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले व्यवसायीहरुबीच भने, ‘पहिले सबै कुरा जानकारी लिनुस्, क्रमशः पालना गर्दै अगाडी बढौं ।’
खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेल, खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछाने र नेत्रा बोगटीले खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न आवश्यक विभिन्न पक्षहरुबारे प्रस्तुतिहरु गर्दै व्यवसायीका स्तर सुधारमा दिशा निर्देश गरे ।
कार्यक्रममा आफ्ना प्रस्ुततिहरु दिंदै सरकारी अधिकृतहरुले खाद्य स्वच्छताको सुनिश्चिततामा स्थानीय सरकारसँगको घनिष्ठ समन्वय अनिवार्य रहेको बताएका छन् । उनीहरुले बजार अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउन स्थानीय तहको सक्रिय भूमिकाको खाँचो देखिएको औल्याएका थिए ।
कार्यक्रममा सहभागी व्यवसायीहरुले खुला रुपमा सडकमा बिक्रीवितरण हुने खानाको खाद्य स्वच्छतामा सरकारी निकायले पटक्कै वास्ता नगरेको बताए । ‘हामी त सकेसम्म राम्रो दिने कोशिश गरिरहेका हुन्छौं,’ व्यवसायीको भनाइ थियो, ‘उनीहरुले न त कर तिरेका छन्, नत खाद्य स्वच्छतामा ध्यान नै दिएका हुन्छन् ।’ त्यसको नियमनमा कार्यालयको ध्यानाकर्षण गराउँदै युवा व्यवसायी शरद चापागाईले भने, ‘उनीहरु बेलगाम हुँदा हाम्रो व्यवसाय निकै प्रभावित बनेको छ ।’
वरिष्ठ अनुसन्धान अधिकृत पोखरेलले स्थानीय सरकारलाई जिम्मेवार बनाएर जान सके सडक व्यापार व्यवस्थित हुने बताए । ‘हामी स्थानीय सरकारसँग समन्वय गरेर काम गरिनैरहेका छौं,’ उनले भने, ‘अझै धेरै गर्न तीनै तहका सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’
कार्यालयले नियमित रूपमा होटल, रेष्टुरेन्ट तथा खाद्य उद्योगको अनुगमन गर्दै आएको भए पनि न्यूनतम मापदण्ड पालना नगरेका, काँचो–पाकेको खाद्यान्न छुट्याएर नराख्ने जस्ता आधारभूत त्रुटि अझै देखिने गरेको औल्याएको छ । ‘यस्ता समस्यालाई न्यून गर्न व्यवसायीलाई सुसूचित र सचेत बनाउँदै जाने तथा कानुन उल्लङ्घन गर्नेहरूलाई कारबाही अघि बढाउने दुवै नीति कार्यालयले अवलम्बन गरिरहेको’ खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछाने स्पष्ट पारे ।
लामिछानेले स्थानीय तहसँगको संयुक्त अनुगमनले बजारमा देखिने हेलचक्राइ र गलत अभ्यास रोक्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । ‘खाद्य स्वच्छता सम्बन्धी ऐनले स्थानीय तहको क्षेत्राधिकारलाई पनि जोडेर राखेको छ, त्यसैले तीनै तहको सरकार सक्रिय भएर अघि बढ्नुपर्छ,’ उनले भने ।
गत आर्थिक वर्षमा कार्यालयले ६ मुद्दा दर्ता गरेको र एक उजुरीमा अदालतले ६ महिनाको कैद तथा जरिवाना सुनाइसकेको उनले जानकारी पनि दिएका छन् ।
‘अहिले हामी सचेतनामा नियामक निकायसँगै साझेदारी गरिरहेका छौं,’ संघका अध्यक्ष कंडेलले व्यवसायीहरुसँग भने, ‘अनुगमनका क्रममा समस्या भयो भने हामी गलत गर्नेलाई जोगाउनुपर्छ भन्ने पक्षमा छैनौं ।’ अटेरी गर्नेलाई नियामक निकायले कारबाही गर्ने चेतावनी पनि अध्यक्ष कंडेलको थियो ।
कार्यक्रममा सहभागी व्यवसायीहरुलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयले विभिन्न जानकारीमूलक सामाग्री पनि प्रदान गरेको थियो । ‘सबैले देखिने गरि होटलमा टाँस्नुहोला, हरेक दिन हेर्नुहोला,’ नियामक निकायका अधिकारीहरुले प्रष्ट निर्देशन दिंदै थिए ।