नेपालगन्ज शिरोमणिको आँगनमा

हिजो शुक्रवार म मंगल प्रागणको गौरवभूमिमा आफना विचार राखेँ । मंगल प्रसाद मावि (एमपी हाइस्कूल) अब झण्डै सय वर्षको पुग्दैछ । मगल माडसाब (मंगल प्रसाद गुप्ता, १९६२ जेठ ११ गते– २०४५ जेठ १०) अर्थात नेपालगन्ज शिरोमणि उहाँ केवल शिक्षक होइन नेपालगन्जकै चेतना र आत्माको शिल्पकार बन्नुभयो । मैले उहाँका शिष्यहरुसंग भेर्टेँ, उहाँबारे बनेका किंबदन्ती सुनेँ, ब्यक्तित्वका आदर्शका चर्चा सुनें तब उहाँ एउटा महाकाब्य झैँ लाग्यो । मैले भने स–शरीर सो काब्य पढ्न भने पाइन ।

हरेक समाजले आफनो समयको नायक जन्माएको हुन्छ । उसको आदर्श मौन समाजमा प्रेरक बन्छ । मंगल माडसाबले एउटा अर्थपूर्ण दियो जलाए— आशाको, ज्ञानको, मानविय संवेदनाको दियो । त्यो दियोमा तेल हामीले हाली रहने कि नरहने प्रश्न हामीसामु ठिंङ्ग उभिएको छ । यस चेतनाको नेतत्व विद्यालय व्यबस्थापन समिति र गुरुवर्गले दायित्व निभाउँछ कि निभाउँदैन ? मंगल माडसाबको गौरवशाली इतिहासले सधै प्रश्न गरिरहनेछ ।

मंगल स्कूलको विद्यार्थी, शिक्षक र ब्यबस्थापन समितिमा सदस्य हुनु आफैँमा गौरवता हो । यस विद्यालयबाट २४ जिल्लाको विविध क्षेत्रका प्रतिभा निक्ले । हरेक बिद्यालय जिज्ञाशा उत्पदनको कारखाना हुने गर्छन । शिक्षक ज्ञानको उर्वरा भूमिमा प्रवेश गराउँछन; तर गुरु ज्ञानलाई जीवनमा बग्ने नदी बनाइदिन सक्छन् । विद्यार्थी जब सम्मानको दीप बालेर आफ्नो मनमन्दिर गुरुका चरणतिर फर्काउछ, त्यो सम्मान केवल व्यक्तिप्रति हुँदैन— ज्ञान, चेतना, संस्कार, संस्कृति र स्वाभिमान सबैलाई एकैसाथ नमन गरिरहेका हुन्छन् ।

गुरुको महानता उनले बोलेका शब्दमा मात्र होइन, उनले छोएर उठाइदिएका आत्माहरूमा नापिन्छ । शक्तिको भरमा उक्लिएको दर्जा गुरुत्व होइन, गुरुत्व त त्यो हो— जो हृदय, श्रम र चरित्रको उज्यालोबाट विद्यार्थीका अध्याँरा कोणहरू छुट्याइदिन्छ ।


स्कूलमा विज्ञानका विद्याथीहरुले बनाएका सामाग्री प्रदर्शनी भइरहेका थिए । उनीहरुका कल्पना प्रयोगात्मक ज्ञान स्टलमा सजिरहेका थिए । मंगल माडसाबका स्मृति झल्किरहेको भान हुन्थ्यो । शिक्षाले मानिसलाई ज्ञानको क्षेत्रमा प्रवेश गराउँछ । ज्ञानले सोच्न, खोज्न, गर्न र भोग्न सिकाउँछ । यसले मानिसलाई मानवमा रूपान्तरण गरेर उसमा भएका अन्तरनिहित क्षमता र शक्तिहरूलाई जागृत गराँउदै एक नयाँ, सक्षम, आत्मविश्वासी व्यक्तित्व निर्माण गर्छ । जब यस्तो शिक्षाले भरिएका किशोर किशोरी वा युवायुवतीहरू जीवनका प्रतिकूलतालाई अनुकूल पार्दै भूमिकामा उत्रन्छन्, तब समाजको रूप नै फेरिन्छ ।


बजारले थिचेका मूल्य र आधुनिकताको तिब्रताले तोडेका परम्पराहरू जहाँ मौन भएर पतनोमूख छन, त्यहीँ मगल माडसावको स्मृति ताजा गर्नु भनेको शिक्षा, बिद्या र स्वविभमानको फेरी गम्भीर बहसको आवस्यकता हाम्रो समाजमा छ भन्ने स्वीकारिनु हो ।
समय फेरिए । समयसंगै समाजका सौन्दर्य पनि फेरिए । समाजमा बजार हावी भएपछि शिक्षा अहिले ब्यवसाय बनेर गुरुचेला परम्परामा धाँजा पर्दै गयो । शिक्षकको हैसियत गुरुको स्तरमा पुग्न सकेन भने विद्यार्थी पनि शिक्षार्थी (शिक्षाका उपभेक्ता) मा फेरिए । तब फेरि मंगल माडसावको बहानामा समाजसंग, दानसंग, युवाहरुसंग संवाद टड्कारो रुपमा खड्कियो । हामी अहिले के सोच्न सकौँलाः मंगल माडसावको दिमागमा कुन आदर्शको इन्जेक्ट भयो होला जस्ले उहाँलाई शिक्षाको ज्वती बाल्न हौस्यायो होला ?


हालै एउटा समाचार भाइरल बन्यो । गोर्खा धार्चे–२, रुन्चेल गण्डकी माध्यामिक विध्यालयका प्रधानाध्यापक अर्थात चार दशकदेखि ज्ञानको दीप जलाइरहेका गुरु इन्द्र उपरकोटी आज देशभर शिक्षा क्षेत्रमा चर्चाका शिखरमा छन् । उनको विदाईमा गाँउमा ठूलो भोज भयो । पूर्व विद्यार्थीहरु र अभिभावकहरुले हेलिक्याप्टरद्वारा विद्यालयबाट विदाई गरे । मानौँ एक गुरुलाई होइन, एक युगलाई, एक सुगन्धित स्मृतिलाई, एक अव्यक्त आशीर्वादलाई उचालेर पठाइरहेजस्तो हेलिकप्टरमा राखेर आकाशसँगै विदाइ गरे । त्यो महाउत्सवले गुरु चेला सम्बन्ध, शिक्षककर्म, हस्तान्तरण गरिएका ज्ञानको उचाईको एउटा सन्देश दिइरहेको थियो । शिक्षक र अन्य पेशामा रहेका फरक र सार्वजनिक सम्मानका अर्थ लगाईरहेका थिए । त्यो भावनात्मक क्षण भित्र छिपेका अर्थ नियाल्न यत्रतत्र सर्वत्र प्रोत्साहित गरिरहेको थियो । अभिभावकहरूको आँखाबाट बगेको बलिन्द्रधारा आँसु केवल एउटा प्रधानाध्यापकको विदाइका लागि थिएन; त्यो त छोरी बदाइको आँगनजस्तै गण्डकी माविको प्रागन बनेको थियो । ज्ञानको कारखाना, सामाजिक अनुशासनको सिपाही गाउँबाट बिदा हुँदै थियो । जहाँ गुरुका पाइलाहरू थामेर पछ्याएर कदम चालेका शिष्यहरुका बिदाइ क्षणका पीडाको आँसु बगिरहेका थिए । हेलिक्याप्टरका पंखा घुम्दै थिए त्यसका हावा मात्रै चलेको थिएन भावना, संवेदना र पीडा मिश्रित क्षणले समाजलाई छोइरहेको थियो ।


उनले छोडेको छाप देशैभरीका शिक्षक र विध्यार्थीकालागी प्रेरक बन्न सक्छ । त्यो उपरकोटी सरले बालेको एउटा दियोले भन्छ— ‘गुरु–चेला परम्परा अझै मरेको छैन । साँचो गुरु भेटिए मानिसको भित्रको मानव अझै जाग्छ । बधाई छ गोरखाली विद्यार्थीहरूलाई, जसले सम्मानको भाषा बिर्सिएका समयलाई फेरि सम्झाइदिए । बधाई छ गोरखाली विद्यार्थीहरूलाई, जसले सम्मानको भाषा बिर्सिएका समयलाई फेरि सम्झाइदिए । त्यस विदाइले फेरि एकचोटि हामीलाई सम्झायो— शिक्षक धेरै जन्मन्छन्, गुरु दुर्लभ हुन्छन् । किताब पढाउने हात सयौँ हुन्छन्, तर आत्मा छुन सक्ने हृदय थोरै मात्र हुन्छन् ।


म गुरु उपरकोटीलाई व्यक्तिगत रूपमा चिन्दिनँ, तर गण्डकी माध्यमिक विद्यालयका अनुहारहरू, गोर्खालीहरूको उज्यालो मन, र आकाशमा उडेको त्यो हेलिकप्टर—ती सबैले एउटा गहिरो सन्देश पठाए— कि शिक्षा केवल कक्षाकोठाको सीमा होइन, यो त मानवताको पुनर्जन्म हो ।


बिट मार्दै गर्दाः
शिक्षा मनलाई जगाउँछ, ज्ञान आत्मालाई जागृत गर्छ, र गुरुले— मनुष्यलाई मानव बनाउँछन । जब गुरुका स्पर्शले किशोर–किशोरीको काँचो विश्वासलाई अँगालेर क्षमताको प्रयोग गरेर बनेको ब्यक्तित्वले जीवनका आँधीहुरीलाई हाँस्दै सामना गर्न सिकाउँछ, तब ती युवायुवतीहरू मानव रूपमै होइन—अस्तित्वकै पहिलो कक्षामा प्रवेश गर्छन् ।


सुनारका हातमा परेपछि काँचो सुन गहनामा फेरिन्छ; गुरुको समर्पणमा परेपछि काँचो मन मानवीय उज्यालोमा रूपान्तरित हुन्छ । उहाँको विदाइ एउटा समारोह मात्र थिएन— यो त एउटा सत्यको पुनः उद्घोषको महायज्ञ थियो– कि गुरुहरू दुरदृष्टा हुन्, भविष्यका शिल्पी, र चर्चा नभएका कविहरू— जसले हरेक विद्यार्थीको मनमा आफ्नै जीवनको कविता लेखिदिन्छन् । त्यसका उम्दा कवि, सिल्पी मंगल माडसाबलाई प्रणाम । आफना गुरुको उच्च सम्मान गर्ने गण्डकी माध्यामिक विद्यालयका पूर्व विध्यार्थीहरुलाई बधाई ।

Exit mobile version