बाँकेको फुटबललाई राष्ट्रिय मञ्चमा नयाँ उचाइ

शहिद स्मारक सी डिभिजन लिग छनौट फुटबल प्रतियोगिताको उपाधि नेपालगन्ज–११ स्पोर्टिङ क्लबले जित्दै बाँकेको फुटबल इतिहासमा नयाँ अध्याय थपेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा नेपालगन्ज–११ ले सिन्धुपाल्चोक फुटबल क्लबलाई २–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो ।

फाइनलमा प्रवेश गरिसकेका नेपालगन्ज–११ र सिन्धुपाल्चोक दुवैले यसअघि नै शहिद स्मारक सी डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए । यद्यपि उपाधि जितसँगै नेपालगन्ज–११ ले आफ्नो प्रभुत्व सावित गर्दै बाँकेको फुटबल क्षमता र सम्भावनालाई राष्ट्रिय स्तरमा मजबुत रूपमा प्रस्तुत गरेको छ ।

नेपालगन्ज–११ ले फाइनल यात्राको क्रममा शुक्रबार भएको सेमिफाइनलमा मसुरिया फुटबल एकेडेमीलाई १–० को साँघुरो जित निकाल्दै निर्णायक खेलमा स्थान बनाएको थियो । प्रतियोगिताभर देखाएको अनुशासन, टोली समन्वय र खेल कौशलले क्लबलाई उपाधिसम्म पु¥याएको हो ।

‘नेपालगन्ज–११ को यो सफलता केवल एउटा क्लबको जित मात्र होइन, बाँके जिल्लाको फुटबल विकास र उदाउँदै गएको खेल प्रतिभाको स्पष्ट संकेतसमेत हो,’ उक्त टिमका प्रशिक्षक जनक केसीले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘सी डिभिजन लिगमा स्थान सुनिश्चित भएसँगै बाँकेको फुटबलले अब राष्ट्रिय लिगमा थप आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्ने आधार तयार गरेको छ ।’

क्लब स्थापनाको केही वर्षदेखिनै नेपालगन्ज–११ स्पोर्टिङ क्लबका अध्यक्ष घनश्याम थापालाई राष्ट्रियस्तरमा बाँकेको फुटबललाई प्रतिनिधित्व गर्ने सोंच थियो । ‘पटक–पटकको प्रयासले यसपटक सफलता पाएको छ,’ एन्फा कम्प्लेक्समा जीतको उत्सव मनाइरहँदा दैनिक नेपालगन्जसँग भने, ‘अब हामीलाई बाँकेका स्थानीय सरकारको साथ चाहिन्छ, हामी राष्ट्रियस्तरमै गतिलो उपस्थिति देखाउन चाहन्छौं ।’

२०७४ फागुनमा बैधानिक औपचारिकता पाएको नेपालगन्ज–११ स्पोर्टिङ क्लबले सी–डिभिजनमा क्वालिफाइट भइरहँदा निकै ठुलो संघर्ष गरिरहेको अध्यक्ष थापा सम्झन्छन् । ‘अघिल्लो पटक आर्थिक अभावलेनै हामी यो प्रतिष्पर्धामा सहभागिता जनाउन सकेनौं,’ अध्यक्ष थापाले भावविभोर हुँदै सम्झिए, ‘त्यसअघि झण्डै २५ लाख खर्च भएको थियो, सेमिफाइनलबाटै बाहिरिनु परेको थियो ।’ खेलाडी व्यवस्थापनमा हुने खर्च आफैले व्यहोरिरहेको सुनाउँदै उनी भन्छन्, ‘यसलाई जिल्लाकै साझा उपलब्धीका रूपमा लिएर सहकार्य गरौं ।’

अध्यक्ष थापाका अनुसार, नेपालगन्ज–११ स्पोर्टिङ क्लबको यो पछिल्लो प्रतिष्पर्धामा २३ जना खेलाडी छन् । तीमध्ये ७ जना बाँकेका स्थानीय छन्, जसलाई नेपालगन्ज–११ ले संरक्षण र प्रशिक्षण गरिरहेको छ । ‘यो वर्षमात्रै ३० लाख खर्च भएको छ,’ अध्यक्ष थापाले उत्साहबीच भने, ‘एक्लै कहिलेसम्म सक्छु, स्थानीय सरकारले साथ देओस् ।’

Exit mobile version