रुपैडिहा र नेपालगन्जबाट ठूला परिमाणमा चरस र स्म्याक बरामद
नेपाल र भारत दुबैतर्फका सुरक्षाकर्मीहरूले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करीविरुद्ध संयुक्त रूपमा कडा निगरानी र कारबाही तीव्र बनाएका छन् । दुवै देशका प्रहरीबीच सूचनाको आदान–प्रदान बढेसँगै तस्करहरूमा त्रास फैलिएको अवस्था देखिएको छ ।
सीमावर्ती रुपैपिडहास्थित भारतीय पत्रकार सुरेन्द्र मधेसियाका अनुसार, उत्तर प्रदेशको रुपैडिहा क्षेत्रमा एन्टी नारकोटिक्स टास्क फोर्स (एएनटीएफ) र स्थानीय प्रहरीको संयुक्त टोलीले आइतबार बिहान करिब ४ बजे छापा मार्दै ठूलो परिमाणमा चरससहित एक जनालाई पक्राउ गरेको छ ।
भारतीय प्रहरीका अनुसार, चकियारोडस्थित मोबाइल एसेसरीज पसलमा गरिएको छापामार कारबाहीमा ६ किलो ७ सय ७० ग्राम चरस बरामद गरिएको हो । पक्राउ पर्नेमा ४० वर्षीय स्माइल (हनिफका छोरा), रुपैडिहा नगर पंचायत–६, जमुनहा निवासी रहेका छन् । उनले पसललाई आवरण बनाएर नेपालबाट चरस मगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीलाई उदधृत गर्दै पत्रकार मधेसियाले बताए ।
प्रहरीका अनुसार, बरामद चरसको अन्तर्राष्ट्रिय मूल्य करिब डेढ करोड रुपैयाँ आँकिएको छ । आरोपितविरुद्ध लागूऔषध नियन्त्रण ऐन (एनडीपीएस) अन्तर्गत मुद्दा दर्ता गरी बहराइच अदालत पठाइएको प्रहरीले जनाएको छ ।
यता, नेपाल प्रहरीले लागुऔषधविरुद्धको कारबाहीलाई झनै तिब्रता दिएको छ । नेपालगन्ज उपमहानगरपालिका–२२ शान्ति चोकबाट प्रहरीले ३ सय ७० ग्राम स्म्याकसहित तीन जनालाई पक्राउ गर्दा गोली समेत चलाउनु परेको जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, टोली पुगेपछि मोटरसाइकलमा भाग्न खोजेका तीनै जनालाई रोक्न दुई राउन्ड हवाई फायरसमेत गरिएको थियो । त्यसपछि नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूबाट कुल ३७० ग्राम स्म्याक बरामद भएको हो ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसारविरुद्ध दुवै देशका सुरक्षा निकाय सक्रिय बन्दै जाँदा तस्करी सञ्जालमाथि दबाब बढ्दै गएको सुरक्षा अधिकारीहरूको भनाइ छ । नेपालबाट चरेस जाने र भारतबाट स्म्याक, नाइट्रोजन ट्याब जस्ता लागु औषध आउने क्रमले सुरक्षा निकायको आलोचना गरिंदै आएको छ । त्यसको नियन्त्रणका लागि आपसमा सूचना आदान–प्रदान भइरहेको बताइन्छ ।
