४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

नेपालगन्जका सडकमा छाडा पशुको संख्या बढ्दै गएपछि उपमहानगरपालिकाले नियन्त्रण सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको हो । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ ।

शनिबार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं। २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ ।

नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार, संकलन गरिएका पशुचौपायामध्ये गाई, बाच्छाबाछी, साँढे र गोरु गरी ३३ वटा रहेका छन् भने घोडा, घोडी र बछेरा ८ वटा रहेका छन् । शनिबार कुल ४३ पशुचौपायालाई नियन्त्रणमा लिएर व्यवस्थित गरिएको हो ।

उपमहानगरपालिकाले सडक सुरक्षासँगै दुर्घटना न्यूनीकरण र सहरी व्यवस्थापनलाई ध्यानमा राख्दै छाडा पशुचौपाया नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ । साथै, पशुधनीलाई आफ्ना पशु खुला रूपमा नछोड्न समेत आग्रह गरिएको छ ।

बाँकेमा छाडा पशुका कारण हुने दुर्घटनामा मानिसहरुको ज्यान समेत जाने, घाइते हुने गरेका छन् । सडकमा रहेको पशुको पनि यातायातका साधनले दिने ठक्करका कारण मृत्यु हुने गरेको छ ।

Exit mobile version