बर्दियाको ठाकुरबाबामा १५ शैयाको आधारभूत नगर अस्पताल सञ्चालन

बर्दियाकाे ठाकुरबाबा नगरपालिकामा १५ शैयाको ठाकुरबाबा आधारभूत नगर अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

नेपाल सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’ निर्माण गर्ने लक्ष्य अनुरूप झन्डै ५ वर्षपछि ठाकुरबाबा नगरपालिका ३, नेउलापुर भवन निर्माणकार्य सम्पन्न पश्चात् नवनिर्मित भवनबाट आधारभूत नगर अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

​शुक्रबार आयोजित एक विशेष समारोहका बीच ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर विना भट्टराईले अस्पतालको उद्घाटन गर्नुभएकाे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी याेगी भावुकले जानकारी दिनुभयो ।

अस्पतालकाे नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मेयर तिलकराम लम्सालले नगरबासीलाई घर आँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आफू निर्वाचित भएको ६ महिना भित्रै २४ सै घण्टा अस्थायी रुपमा आधारभूत अस्पताल सञ्चालनमा ल्याइएकोमा भवनकाे निर्माणकार्य सम्पन्न भएपछि अहिले नयाँ भवनबाट सेवा शुभारम्भ भएको बताउनुभयो ।

आधारभूत नगर अस्पताल निर्माणका लागि स्थानीय बासिन्दाहरूको सक्रियतामा झण्डै २ बिगाहा जग्गा व्यवस्थापन गरिएको थियो । झन्डै ५ वर्ष अघि जग्गाको व्यवस्थापन भएपछि मात्र नेपाल सरकारले नगर अस्पतालका लागि स्वीकृति प्रदान गरेको थियो ।

अस्पतालको भवन निर्माणका लागि नेपाल सरकारले १८ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा १२ करोड २४ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएकोमा केही अपुग रकम थप गरि १२ कराेड ८४ लाख लागतमा नगर अस्पतालकाे भवन निर्माण कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।

​ठाकुरबाबा आधारभूत नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी योगी (भावुक) ले अस्पताललाई सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा जोड दिइएको बताउनुभयो ।

बर्दिया जिल्लामै पहिलो पटक स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई औषधि वितरण गर्ने पालिकाका रूपमा ठाकुरबाबाले पहिचान बनाएको छ । हाल अस्पतालबाट तीन जना एमबीबीएस डाक्टरसहित ४७ जनाकाे जनशक्तिबाट सम्पूर्ण आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध भइरहेकाे समितिका अध्यक्ष याेगीले बताउनुभयो ।

​अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याेगीका अनुसार, निकट भविष्यमै दन्त सेवा र आँखा सेवा समेत थप गर्ने योजना छ । यी सेवाहरू थपिएपछि सरकारले तोकेको आधारभूत अस्पतालको पूर्ण मापदण्ड पूरा हुने अध्यक्ष योगीले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाबासि नागरिकसंगै छिमेकी पालिका बारबर्दिया र मधुवन नगरपालिका यसैगरी छिमेकी प्रदेश सुदुर पश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको तेलपानी क्षेत्रबाट समेत गरि दैनिक १ सय देखि २५० विरामीले उपचार सेवा लिइरहेका छन् ।

झन्डै ३ वर्ष अघि भुरीगाउँमा रहेको नेउलापुर स्वास्थ्य चाैकीकाे भवनबाट अस्थायी रुपमा सेवा सुरु भएको आधारभूत नगर अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा, सर्पदंश उपचार सेवा, रेविज विरुद्धको खाेप लगायत साप्ताहिक रुपमा विशेषज्ञ सेवा समेत प्रदान गर्दै आइरहेको छ । याे आर्थिक वर्षकाे चैत महिनासम्म ११ हजार ६ सय ७० जना बिरामीले उपचार सेवा प्राप्त गरेका छन् ।

अस्पताल व्यवस्थापनका लागि केही दिन लाग्ने भएको छ । भुरीगाउँ बजारदेखि झन्डै ३ किलोमिटर टाढा नेउलापुरमा रहेको नगर अस्पताल आवत जावत गर्नका लागि नि:शुल्क २ वटा अटाे र एम्बुलेन्स सेवा व्यवस्था मिलाइएको छ ।

भवन सँग सँगै पार्किङ, क्यान्टिन समेत निर्माण भएको छ ।अस्पतालबाट २४ सै घण्टा आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय ल्याव, भेन्टिलेटर सहित सर्प दंशको उपचार सेवा, निःशुल्क शव वाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार सेवा, आँखा उपचार सेवा समेत सञ्चालनमा ल्याइने भएको छ ।ठाकुरबाबा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी योगीले अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई समेत सेवा दिइरहेको बताउनुभयो ।

हाल अस्पतालमा तीन जना चिकित्सकले सेवा दिइरहेको बताउँदै निकट भविष्यमा एमडिजिपि चिकित्सक सहितको सुविधा दिने योजना रहेको बताउनुभयो । प्रत्येक हप्ताको शनिबार विशेषज्ञ सेवा दिने योजना रहेको छ ।

आधारभूत ​नगर अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि पनि सदरमुकाम वा नेपालगञ्ज जानुपर्ने यहाँका स्थानीयको बाध्यता हटेको छ । ४२ वटा काेठा र हलसहित ५० काेठा रहेको दुई तले नवनिर्मित भवनबाट सेवा सुभारम्भ भएपछि स्थानीय बासिन्दासंगै छिमेकी पालिकाका स्थानीयहरु पनि खुसि भएका छन् ।

Exit mobile version