हेमन्त राज काफ्ले
बेसार नेपाली भान्सामा मसला मात्र होइन हजारौँ वर्षदेखि प्रयोग हुँदै आएको एक प्रभावकारी जडिबुटी हो । आयुर्वेद घरेलु उपचार र आधुनिक विज्ञान सबैले यसको औषधीय महत्व स्वीकार गरेका छन् । बेसारमा पाइने करक्युमिन नामक तत्वले शरीरका प्राय सबै अंगमा सकारात्मक प्रभाव पार्छ । यही कारणले आधुनिक औषधि उद्योगले समेत एन्टिबायोटिक तथा विभिन्न औषधि निर्माणमा बेसारको प्रयोग गर्दै आएको छ । नियमित रूपमा उचित मात्रामा बेसार सेवन गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुने सूजन कम हुने र संक्रमणबाट जोगिने क्षमता वृद्धि हुने विशेषज्ञहरूको मत छ । शरीरभित्र प्रवेश गर्ने ब्याक्टेरिया भाइरस र विषाक्त पदार्थसँग लड्न बेसारले प्राकृतिक सुरक्षा कवचको काम गर्छ । यही कारण दैनिक जीवनमा बेसारलाई आहारको अभिन्न अंग बनाउन सुझाव दिइन्छ ।
बेसारको सबैभन्दा ठूलो विशेषता भनेको यसले शरीरभित्रका धेरै रोगको रोकथाम र उपचार दुबैमा सहयोग पु¥याउनु हो । ग्यास्ट्रिक, पेट दुखाइ, अपच र आन्द्रासम्बन्धी समस्यामा बेसार निकै उपयोगी मानिन्छ । लामो समयदेखि ग्यस्ट्रिकको समस्या भोगिरहेका व्यक्तिले नियमित रूपमा बेसारको सेवन गर्दा उल्लेखनीय सुधार देख्न सकिन्छ । दूध र बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहने, कब्जियत कम हुने र पेट सफा रहने विश्वास गरिन्छ । बेसारलाई प्राकृतिक पेन किलरका रूपमा पनि चिनिन्छ । चोटपटक, घाउचोट, पोलेको ठाउँ वा सूजन भएको स्थानमा बेसारको धुलो प्रयोग गर्दा पीडा कम हुनुका साथै घाउ छिटो निको हुन सहयोग पुग्छ । शरीरका मांसपेशी र हड्डीमा हुने पीडामा बेसारपानी सेवन गर्दा दुखाइ केही हदसम्म कम हुने अनुभव धेरैले गरेका छन् ।
मानसिक स्वास्थ्यका दृष्टिले पनि बेसार अत्यन्त उपयोगी मानिन्छ । नियमित बेसार सेवनले डिप्रेसन चिन्ता र मानसिक तनाव कम गर्न सहयोग पु¥याउँछ । करक्युमिनले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने भएकाले स्मरण शक्ति बढ्ने, ध्यान केन्द्रित गर्न सजिलो हुने र अनिद्राको समस्या घट्ने विश्वास गरिन्छ । सुत्नुअघि दूधमा बेसार मिसाएर पिउँदा गहिरो निद्रा लाग्ने र शरीरलाई आराम मिल्ने मान्यता छ । महिलाहरूका लागि पनि बेसार विशेष लाभदायक छ । महिनावारीको समयमा हुने पेट दुखाइ कमजोरी र असहजता कम गर्न बेसार उपयोगी हुन्छ । त्यसैगरी छालाको चमक बढाउन अनुहारमा आउने दागधब्बा कम गर्न र समयअगावै बुढोपन देखिन नदिन पनि बेसारको प्रयोग प्रभावकारी मानिन्छ । नियमित बेसार सेवनले शरीरलाई भित्रैबाट शुद्ध राख्ने भएकाले छालामा स्वाभाविक चमक देखिन्छ ।
स्वास्थ्य जोखिम र गम्भीर रोगको सन्दर्भमा पनि बेसारको भूमिका महत्वपूर्ण छ । बेसारमा रहेको करक्युमिनले क्यान्सरका कोषिकाको वृद्धि रोक्न सहयोग गर्ने क्षमता राख्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् । रक्तचाप मुटुसम्बन्धी समस्या मधुमेह र तौल नियन्त्रणमा समेत बेसार उपयोगी मानिन्छ । मधुमेहका बिरामीले बिहान र बेलुका १–१ चम्चा शुद्ध बेसारको धुलो पानीसँग सेवन गर्दा फाइदा पुग्ने जनविश्वास छ । धेरै पिसाब लाग्ने, अत्यधिक तिर्खा लाग्ने दिसापिसाबमा संक्रमण हुने जस्ता समस्यामा पनि बेसार सहायक हुन्छ ।
मिर्गौलासम्बन्धी रोगमा समेत बेसार फाइदाजनक मानिएको छ यद्यपि यस्ता अवस्थामा चिकित्सकको सल्लाहअनुसार सेवन गर्नु उचित हुन्छ । साथै विभिन्न औषधिबाट हुने साइड इफेक्ट कम गर्न पनि बेसारले सहयोग गर्ने विश्वास गरिन्छ । यसरी हेर्दा बेसार सस्तो सजिलै उपलब्ध र बहुउपयोगी प्राकृतिक औषधि हो । सन्तुलित आहार र स्वस्थ जीवनशैलीसँगै बेसारलाई दैनिक जीवनमा समावेश गर्न सके दीर्घकालीन स्वास्थ्य र सक्रिय जीवनको आधार बलियो बन्न सक्छ ।
अन्त्यमा भन्नुपर्दा बेसार केवल भान्सामा स्वाद र रंग थप्ने मसला मात्र नभई मानव जीवनका लागि अमूल्य औषधि हो । प्रकृतिले दिएको यो वरदानले शारीरिक, मानसिक र सौन्दर्यसम्बन्धी समस्यालाई एकैसाथ सम्बोधन गर्ने क्षमता राख्छ । नियमित र सन्तुलित रूपमा बेसारको सेवन गर्दा रोगसँग लड्ने शक्ति बढ्ने दीर्घ रोगबाट जोगिने र जीवनशैली स्वस्थ बन्ने निश्चित देखिन्छ । कुनै गम्भीर रोग वा विशेष अवस्थाका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।
आधुनिक औषधिसँगै आयुर्वेदिक ज्ञानलाई सम्मान गर्दै बेसारजस्ता प्राकृतिक जडिबुटीको सही प्रयोग गर्न सके स्वस्थ, दीर्घायु र सुखी जीवन साकार पार्न सकिन्छ ।
