नेपालगञ्ज । जिल्ला हुलाक कार्यालय बाँकेले नागरिकसँग सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया तथा प्रचारप्रसार कार्यक्रम मिति २०८२ साल पुस ०२ गते बैजनाथ गाउँपालिकाको सभा हलमा सम्पन्न गरेको छ ।
हुलाक सेवाप्रति आम नागरिकको पहुँच, विश्वास र उपयोग बढाउने उद्देश्यले आयोजित कार्यक्रममा बैजनाथ गाउँपालिकामा रहेका सबै प्रकारका बैंक, लघुवित्तीय संस्था, सहकारी, सरकारी कार्यालयका प्रतिनिधि, सरकारी तथा गैरसरकारी विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि, गाउँकार्यपालिकाका शाखा प्रमुखलगायत सरोकारवाला बौद्धिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक अधिकृत गजेन्द्र प्रकाश थारुको अध्यक्षता रहेको थियो भने बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने वडा अध्यक्षहरू अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला हुलाक कार्यालय बाँकेमा कार्यरत खरिदार साधुराम चौधरीले गर्नुभएको थियो । स्वागत मन्तव्य नायब सुब्बा शान्ता शाही सिंहले दिनुभएको थियो भने हुलाकको सेवा प्रवाहसम्बन्धी विस्तृत जानकारी खरिदार राम बहादुर चौधरीले पावर पोइन्ट प्रस्तुतीमार्फत प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुतीमा कार्यक्रमको उद्देश्य, हुलाकले प्रदान गर्ने विभिन्न सेवाहरू, सेवा लिँदा–दिँदा आइपर्ने समस्या र समाधानका उपाय, सेवाग्राहीका दायित्व, बदलिँदो परिवेशअनुसार हुलाकले अपनाएको सेवा विविधीकरण, प्रविधिको प्रयोग तथा हालसम्म गरिएका सुधारका विषयहरू मुख्य रूपमा समेटिएका थिए ।
अन्तरक्रिया क्रममा प्रमुख अतिथि प्रकाश बहादुर शाहीले हुलाक सेवालाई गाउँ–बस्ती तहसम्म प्रभावकारी रूपमा प्रचारप्रसार गर्न सहभागी सबैलाई आग्रह गर्नुभयो । साथै, बैजनाथ गाउँपालिकाको प्रमुखको हैसियतले हुलाकलाई आवश्यक पर्दा सधैं सहयोग गर्न तयार रहेको बताउँदै पालिकाका कर्मचारीहरूलाई समेत हुलाक सेवासँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी सुर्योदय मावि, बैजनाथ–१ चिसापानी बाँकेका सहायक प्रधानाध्यापक प्रेम बहादुर शाहीले हुलाक सेवा पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहलाई चुस्त, दुरुस्त र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको परिवेशमा ४–५ दिनसम्म कुरेर सामान प्राप्त गर्ने समय नभएको उल्लेख गर्दै सेवाको गति र विश्वसनीयता बढाउन सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी अग्रज तथा दिग्गज व्यक्तित्वहरूले अन्तरक्रियामा सक्रिय सहभागिता जनाउँदै हुलाकले प्रदान गर्ने सेवाबारे यसअघि पर्याप्त जानकारी नपाएको र आजको कार्यक्रमबाट हुलाकप्रतिको जिज्ञासा र भ्रम हटेको प्रतिक्रिया दिएका थिए । साथै, आगामी दिनमा हुलाकले उपलब्ध गराउने सेवाहरू हुलाकमार्फत नै उपयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष गजेन्द्र प्रकाश थारुले सबै सहभागीलाई सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै उठेका सवाल र सुझावहरू कार्यान्वयनका लागि कार्यालयको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, नीतिगत तथा संरचनागत सुधारका लागि केन्द्रिय निकायमा सुझाव पठाइने जानकारी गराउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुभयो । बैजनाथ गाउँपालिकाले सभा हल उपलब्ध गराई सहयोग पुर्याएकोमा अध्यक्षसहित सम्पूर्ण टिमप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।
