नेपालगन्ज नाकाबाट ३० अर्बको सामान भित्रियो

नेपालगन्ज नाका हुँदै चालु आर्थिक बर्षको पाँच महिनामा ३० अर्ब बढीको मालसामान आयात भएका छन् । नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०८२÷०८३ को मंसिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार मूल्य बराबरको वस्तु तथा सामान आयात भएका छन् ।

गत आर्थिक बर्ष २०८१÷०८२ को सोही अवधीमा २९ अर्ब ८ करोड ४५ लाख ४४ हजार मूल्य बराबरको मालसामान आयात भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयबाट चालु आ.व.को पाँच महिनामा १ अर्ब १ करोड ६३ लाख ८९ हजार बराबरको मालसामान निर्यात भएको छ । अघिल्लो आ.व.को सोही अवधीमा ८८ करोड ६८ लाख ८२ हजार बराबरको मालसामान निर्यात भएको थियो ।

चालु आर्थिक बर्षको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट कुल ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजार बराबरको कारोबार भएको छ । अघिल्लो आ.व.को सोही अवधीमा २९ अर्ब ९७ करोड १४ लाख २६ हजार बराबरको कारोबार भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आ.व. र चालु आ.व.को पाँच महिनाको अवधीमा उस्तै रहेको छ । अघिल्लो आ.व.को पाँच महिनामा व्यापार घाटा ९७ प्रतिशत रहेकोमा चालु आ.व.मा व्यापार घाटा ९६.६८ रहेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार, चालु आ.व.को पाँच महिनामा ७ अर्ब ६५ करोड १९ लाख ९० हजार भन्सार राजश्व संकलन भएको छ । जुन मंसिर महिनाको लक्ष्यको ८३.४५ प्रतिशत हो । चालु आ.व.को कुनै पनि महिनामा नेपालगन्ज भन्सार कार्यालयले निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौं महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कार्तिकमा ७६.४४ प्रतिशत र मंसिरमा ७६.२७ प्रतिशत राजश्व संकलन भएकोमा चालु आर्थिक बर्षको क्रमशः उक्त महिनाहरूमा मासिक लक्ष्यको ७४.१४ प्रतिशत, ६९.७७ प्रतिशत, ८७.८३ प्रतिशत, ७२.३० र ८३.४५ प्रतिशत राजश्व संकलन भएको छ ।

Exit mobile version