मोबाइल, क्यामेरा र सपनासँग नेपालगन्जका युवालाई जोड्दै निहाल

‘नेपालगन्जका युवाहरू आज केवल दर्शक छैनन्,’ युवा सक्रियतामा उत्प्रेरक काम गरिरहेका मोहम्मद निहाल अख्तर भन्छन्, ‘उनीहरू क्यामेराको पछाडि उभिएर कथा भन्न थालेका छन्, मोबाइलबाट आवाज उठाउन थालेका छन् र डिजिटल संसारमा आफ्नै पहिचान खोजिरहेका छन् ।’ यही पहिचानलाई एउटै मञ्चमा जोड्ने प्रयासमा जुटेका युवा हुन् निहाल अख्तर ।

स्थानीय युवाको सिर्जनात्मक ऊर्जा र डिजिटल क्षमतालाई उजागर गर्ने उद्देश्यसहित उनै निहालको संयोजनमा नेपालगन्जमा दोस्रो कन्टेन्ट सर्जक भेला आयोजना हुन लागेको छ । सामुदायिक संस्था मिट एन्ड ग्रिटको पहलमा आयोजना हुने यो भेला आगामी शनिवार गरिंदैछ ।

युवाका लागि युवाकै मञ्च सिर्जना गरेका निहाल आफु भने बैंकर हुन् । ‘यस भेलामा सहभागी हुनेहरू कोही पहिलो भिडियो बनाइरहेका छन्, कोही हजारौँ दर्शक बटुलिसकेका छन्,’ निहाल आफु रुचीले भ्लगिङमा लागेको बताउँछन् । उमेर, अनुभव र शैली फरक भए पनि सबैलाई जोड्ने साझा कुरा एउटै छ—केही सिर्जना गर्ने चाहना । निहाल भन्छन्, ‘युथ एंगेज मेरो सोंच हो, धेरैले राम्रो पैसा पनि कमाएका छन्, सिर्जनशीलतामा लागेका छन् ।’

पहिलो भेलाबाट उत्साहित निहाल दैनिक नेपालगन्जसँग गफिंदै भन्छन्, ‘नेपालगन्जमा क्षमता छ, तर प्लेटफर्म कम छ । यो भेला युवालाई देखाउने मञ्च हो—तिमी एक्लै छैनौ भनेर सम्झाउने ठाउँ हो ।’ भेलामा युवा फोटोग्राफर, भिडियोग्राफर, भ्लगर, डिजिटल कथावाचक, युट्युब र टिकटक सर्जकहरू एउटै छानामुनि भेटिनेछन् । छोटो समयको कार्यक्रम भए पनि यसले दीर्घकालीन सहकार्य र मित्रताको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

यसअघि भएको पहिलो सर्जक भेला युवाहरूका लागि आत्मविश्वासको सुरुवात बन्यो । पन्ध्र वर्षदेखि सन्ताउन्न वर्षसम्मका बाइस जना सर्जक एकै ठाउँमा जुटे । निहाल भन्छन्, ‘सबैले मिलेर बनाएको सामूहिक भिडियो र कनेक्ट नेपालगन्ज अभियानले नेपालगन्जका युवालाई एउटै डिजिटल समुदायका रूपमा चिनायो ।’

निहाल नयाँ सर्जकहरूलाई डर नमान्न आग्रह गर्छन् । ‘भिडियो पहिलोपटक राम्रो नहुन सक्छ, प्रतिक्रिया कडा हुन सक्छ । तर निरन्तरता नै सफलताको आधार हो,’ दैनिक नेपालगन्जका लागि पनि बेलामा तस्वीर भिडियो कन्टेन्ट प्रदान गर्ने गरेका उनी भन्छन् । आगामी दिनमा अझ ठूलो, अझ प्रभावकारी र नियमित सर्जक भेला आयोजना गर्ने योजनासहित निहाल र उनको टोली अघि बढिरहेको कुरा उनीसँगको संवादबाट बुझ्न सकिन्छ ।

Exit mobile version