संसारका जुनसुकै देशको अस्तित्व रक्षाको लागि त्यो देशमा, आफ्नो देश चिनेको, देशको कुलधर्म बुझेको, देशको साँस्कृतिक बिरासतलाई अक्षुण राख्न सक्ने, देशबासीमा आशा जगाउन सक्ने हिम्मत र आँट भएको नेता चाहिन्छ । नेपाल जस्तो भूराजनीति र भूआर्थिक अवस्था भएको देशमा त झन राजनेता बिनाको देश बन्न त परै जाओस् बच्न पनि गाह्रो छ । यो कुरा त राजा महेन्द्रको पालामा देखिइसकेको छ । यदि राजा महेन्द्र सुकुलका राजा मात्रै भएको भए र उनमा राजनेताको खुबी नभएको भए आज नेपाल भन्ने देश रहने थिएन । हिजोका दिनमा देश राजाहरूले नै बनाए । देशको अस्त्वि र अस्मिता राजाहरूले नै बचाए । किन कि उनीहरूमा देशप्रति सच्चा इमान थियो । देश भन्दा राजगद्दी र दरबार प्यारो थिएन । अरूका भाउँतामा राजाहरू त्यत्तिकै अल्झेर देश बुझ्न अरूको मात्रै भर पर्दैनथे । देशको लागि सर्वोच्व त्याग्ने राजाहरू थिए । देशको मुख्य अभिभावकमा भएको नैतिकताका कारण जनतामा नैतिक पतन हुनसक्ने सम्भावना कम थियो । त्यो बेलाका समकालिन नेताहरूमा पनि कमोबेस यस्तै नैतिकता थियो । अभिभावकको डर थियो । गलत गर्दा दण्ड सजायँको त्रास थियो । नैतिकहिनतालाई सकेसम्म समाजमा स्थान थिएन । यसैले देशको इज्जत पनि राष्ट्रिय अन्र्तराष्ट्रिय रूपमा नै उच्च थियो ।
देशको स्थायी अभिभावक हुँदा देशमा शासन गर्ने नेता कस्तो हुन्छ र कति समयका लागि हुन्छ भन्ने कुराले खासै असर गर्दैैनथ्यो । देशको परराष्ट्रनीति, आर्थिक नीति देखि आवश्यक नीतिहरूमा शासक परिवर्तन पिच्छे भिन्नता आउने कुरै थिएन । प्रधानमन्त्री मन्त्रीहरूको हेरफेरले देशमा कुनैपनि किसिमको राजनैतिक तरलता आउने सम्भावना पनि थिएन ।
आज देशमा स्थायी अभिभावक छैन । देशको मुल कुल धर्म सँस्कृतिलाई बुझेको र यसलाई अक्षुण राख्ने नेता छैन । देश सर्वोपरि, नीति र नैतिकता सर्वोपरि भनेर काम गर्ने नेता छैन । देशको शासन दलहरूको दलदलभित्र रहेका गुट उपगुट र त्यो गुटको च्याँखेदाउबाट उम्रेका नेताले गरिरहेको छ । देशको लागि दीर्घकालिन नीति नियम, उच्च आचरण, नैतिकता भन्दा पनि जुनसुकै कर्म कुकर्म गरेर सस्तो पपुलरिज्म कमाउनेहरूले देशको बागडोर समाल्ने प्रतिष्पर्धा छ । सत्ता र शक्तिको लागि आफ्नै जनता देखि सहकर्मी समेत मराउने, परिवारवादमा रमाउने, सम्पत्तिको लागि आफ्नो इमान कूल धर्म बेच्न कत्तिपनि लाज नमान्ने नेताहरूले आज नेपाल ज्वजलाएमान भएको अवस्था छ ।
हेर्दा त दलहरू भिन्न भिन्न छन् । नाम झण्डा पनि भिन्न भिन्न देखिन्छन् । तर सबैको नैतिकता उस्तै छ । नीति उस्तै छ । देशभन्दा माथि दल, दल भन्दा माथि गुट र गुटको नेता सबैको उस्तै छ । एउटा गुटको नेता भएपनि च्याँखे थाप्ने र सत्ताको मझेरीमा राइँफाँइ गर्न पुग्ने चरित्र उस्तै छ । उहि १२ बुँदेको बुइ चढेर बुर्कुसी मार्ने लर्को छ ।
देशलाई आफ्नो च्याँखेदाउको मैदान बनाउनैका लागि सबैले अर्काको भूमिमा बसेर १२ बुँदे गरेर एउटै कित्तामा उभिएका थिए । देशलाई कित्ता कित्तामा बाँडेर वडा देखि केन्द्रसम्म, विद्यालय व्यवस्थापन समिति देखि संवैधानिक नियुक्तिसम्म, प्रतिक्षालय, विश्वविद्यालय देखि न्यायलय र राजदूतसम्म भागबण्डा र कित्ताकाटको दलदलमा आज देश छ । ‘मलाई छैन त तँलाई पनि हुन्न दिन्न’ भन्ने प्रवृतिले सबै ओतप्रोत भएका दलहरू छन् ।
देशले स्थितिगत्यात्मक परिवर्तन खोजेको थियो । तर यस्तो गतार्थ परिवर्तन पक्कै खोजेको थिएन । देशमा राज्यविहिनताको राज्य र यस्तै रहे कालान्तरमा राज्यविहिन जनता हुने खालको परिवर्तन पक्कै खोजेको थिएन ।
देशमा सहि अभिभावक हुँदा नै यो देशमा सन्त नेताहरू जन्मेका हुन । देशलाई सर्वोपरि राख्ने राजनेता पनि जन्मे । तर लावारिस बनेको समाज र देशमा आज एउटा पनि राजनेता बन्ने कोहि देखिएको छैन ।
समयले गिरिजालाई राजनेता बन्ने मौका नदिएको होइन तर उनी चुके । मदन भण्डारी बाँच्नै पाएनन् । शेर बहादुरबाट राजनेताको अपेक्षा शायद काँग्रेसजनले पनि गरेनन् होला । ओली जतिसुकै छुद्रो भएपनि एक समय उनको उँचाइ बढेको थियो र राजनेता बन्छन् कि भन्ने कुरा चल्थ्यो तर उनको स्कूलिङ र विगतले उनलाई च्याप्यो र उनमा अहंकार मात्रै भरियो । प्रचण्ड एउटा अर्कै पृष्ठभूमिबाट आएका नेता थिए । उनको उठान नै देशको मुलकुल धर्म सँस्कृति सापेक्ष थिएन यसैले उनी सडकभित्ते राष्ट्रपति त भए तर राजनेता बन्ने चरित्र उनमा कहिल्यै आउन सकेन ।
विगतमा पार्टीहरू द्धारा जनतालाई शिक्षित र प्रशिक्षित गर्ने नेपाल सापेक्ष शिक्षा भएन । आफ्नोलाई दुत्कारेर अरूको नै राम्रो भन्ने शिक्षाले देशप्रति माया भन्दा पनि घृणा बढ्दै गयो । देश कसरी बनेको थियो ? कसरी चलेको थियो ? देशको छवि कस्तो थियो ? देशको मूल कुल धर्मको आधार के थियो ? देशको इतिहास कति गौरान्वित थियो ? भन्ने कुराको शिक्षाबाट च्यूत गरेर एउटा पुस्तालाई नै देशभन्दा बाहिरको सबथोक राम्रो भन्ने भाष्यमा शिक्षित प्रशिक्षित गरियो । देशको माटो गन्हाउने, यहाँको कुलधर्म सँस्कृति गन्हाउने पुस्ताले देश चलाउने भनेको त अहिले भएको जस्तो त हो नि !
बडामहाराजधिराज पृथ्बीनारायाण शाहले दिब्योपदेशमा भन्नु भएको थियो, देशलाई पराई बैरीबाट जोगाउनू, विदेशीलाई देशमा सीमा तोकेर आउन दिनू र काम सकेर फिर्ता पठाउनू, तर हाम्रा वर्तमान दलीय शासकहरूले विदेशीलाई देशभित्र छताछुल्ल हुनेगरि हरेक घरआँगन देखि वालुवाटारसम्मै नाङ्गो नाच गर्ने छूट दिए । ओछ्यानमा विदेशी पुग्ने बाटो खोलिदिए । युवालाई विदेशी राजदूतावासको योजनामा आफ्नै देश विरुद्ध जाइलाग्ने तालिममा सहभागी हुने छूट दिए । देश बनाउने भन्दा पनि कसरी जलाउने भन्ने प्रशिक्षण दिए । हरेक भाषणमा गरीब, किसान, मजदूर भन्दै तिनैको जरो काट्दै झनझन गरीब बनाउने र त्यसैलाई भजाएर सत्ताको मैजारो सजाउने योजनामा लागि रहे ।
हत्याहिंसा र यौनलाई सर्वोपरि राखेर यसैको रापतापमा रमाउन सिकाए । देश कसरी बन्छ भन्दा पनि ‘म कसरी पार्टीको मुखिया बन्छु र कसरी सत्ताको डाडु पन्यू समाउनेमा पुग्छु’ ? भन्ने चिन्तनले ग्रस्त नेता बनाएर देशलाई बुझ्ने नेता जन्माउनै छोडियो ।
आज समकालिन नेताहरू ओली, देउवा, प्रचण्ड, माधव, सिके, युवा भनिएका गगन देखि पपुरिज्म भएका बालेन, रविसम्म आइपुग्दा देशप्रति चिन्तन कसैको देखिन्न । देशलाई अझ कसरी तन्नम बनाउने र देशको सम्पत्ति सम्पदाहरू विदेशीलाई कुन जुक्तिले जिम्मा लगाउने भन्ने चिन्तन भरिएकाहरूको आजपनि नेपाली राजनीतिमा बोलबाला नै छ । पद पार्टी र सत्ताभन्दा ठूलो देश यी कसैमा देखिन्न । राजनेता बन्ने वा बनाउने गुण यी कसैमा देखिन्न ।
लोकलाज सम्म पनि नभएको नेता कहिल्यै राजनेता बन्नै सक्दैन । देश नबुझेको र देशको मुल कुल धर्मले ओतप्रोत नभएको मान्छेसँग राष्ट्रप्रतिको जिम्मेवारी बोध र नैतिकताको आशा गर्न सकिन्न । आज सत्ता बाहिर रहेर पनि देशको राजनेता बन्ने ल्याकत भएका नेता नभएका त होइनन् । छन् । तर उनीहरूमा पनि कतै न कतै देशमा विगत तीन दशक देखि चलेको सत्ताको अनैतिक सम्बन्धमा सत्ताभोग गर्ने चरित्रको छायाँ पक्कै परेको छ । उनीहरू पनि आफ्नो सम्भावित पदको मोह, सत्ताको मोहबाट बाहिर निस्किन सकिरहेका छैनन् । पुराना दलभित्र राम्रै हैसियत राख्ने र राजनैतिक विरासत बोकेका नेताहरू समेत यो देशको राजनेता बन्ने हिम्मत गरिरहेका छैनन् । आँट गर्न उनीहरूलाई के ले रोकेको छ ?
देश अब यस्तै पाराले चलिरहन त सक्दैन । देशले स्थायी अभिभावकीय संस्था त राख्नैपर्छ । देशले कुनै न कुनै राजनेता जन्माउनैपर्छ होइन भने देशको अस्तित्व किनारामा पुग्ने त निश्चित नै छ । यथास्थितिमा अब देश रहन सक्दैन । आज देशका पुराना राजनीतिक दलहरू भित्र भयङ्कर तुष भरिएर बेलुन बनिसकेको छ । यसका नेताहरूको हातबाट लगाम छूटिसकेको छ । यिनीहरूलाई परिचालन गर्ने शक्ति बाहिर भएपछि महाधिवेशन गरेर, केहि केहि अनुहार फेरेर मात्रै अब कुनै बिष्फोट रोकिनेवाला पनि छैन । समयले मागेको ‘टालाटुलि बटुली कति राम्री पुतली’ भनेझैं विदेशीको अत्तर छर्केर गन्हाएर बसेकाहरूको चौपालमा १२ बुँदेको बुइ चढेर यसैको रङमा भाङ घोलेर पिउने नेता होइन । यी जोसुकै भएपनि यहाँ कुनै चमत्कार हुनेवाला छैन । नेपाली जनतामा धैर्यता छैन भनौं भने बिगत दशकौं देखि सहरे पर्खेर बसेका छन् छ भनौं भने उर्लिएको भेलमा मात्रै रेल देख्ने गरेका छन । राज्य जादुले चल्दैन । सुशासन गफले आउँदैन । भोट बेचेर सुशासन माग्ने बानी जनताले पनि त्याग्नैपर्छ । राजनेता बन्ने बाटोमा कोहि नेताको चरित्र फेरिएमा भने केहि होला । पार्टी त रहे नरहे पनि देशलाई केहि फरक पर्नेवाला छैन तर देश नै रहेन भने त्यो पार्टी, गुट अनि त्यो गुटको नेता र सत्ताको मैजारोको कुनै अर्थ हुने छैन । देशले त्यस्तो मैजारो लगाउने खाप्चो खोजेको होइन, देशलाई चाहिएको एउटा राजनेता हो ।































