‘बैंकहरूको नीतिगत दिशाले नै मुलुकको आर्थिक भविष्य निर्धारण’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशको आर्थिक विकासका लागि प्रभावकारी पूँजी परिचालन नीति निर्माण हुन नसक्नु नै प्रमुख चुनौती भएको बताएका छन् । नेपालगन्जमा शुक्रवार राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले बैंक तथा वित्तीय क्षेत्रले ठूलो लगानीकर्ता केन्द्रित सोच त्यागेर आम नागरिक र सम्भावनायुक्त युवामुखी नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले तत्काल मुनाफामुखी सोचका कारण बैंकहरू स्वयं जोखिममा पर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै कम स्रोतबाट बढी पूँजी परिचालन गर्न सक्ने रणनीतिमा ध्यान दिनुपर्ने बताए । पूर्व मुख्यमन्त्री पोखरेलका अनुसार, राज्यले पूर्वाधार निर्माणको जिम्मेवारी वहन गर्नुपर्छ भने निजी क्षेत्रलाई सशक्त बनाउँदै जनतामै आधारित पूँजी परिचालनको अवधारणा विकास गर्न सकिए देश निर्माणमा धेरै समय नलाग्ने स्पष्ट गरे ।
‘देश बनाउन कस्तो वित्तीय नीति अपनाउने र बैंकहरूले कस्तो भूमिका खेल्ने भन्ने विषय निर्णायक हुन्छ,’ एमाले महासचिवमा पुनः निर्वाचित भएपछिको पहिलो औपचारिक सम्बोधनमा उनले भने, ‘हरेक नागरिकलाई उद्यमशील बनाउने गरी पूँजी परिचालनको क्षमता विकास गर्न सकियो भने मुलुक छिट्टै अगाडि बढ्छ ।’ तर व्यवहारमा नवयुवा तथा नयाँ सोच बोकेकाहरू बैंकिङ पहुँचबाट बाहिर रहनु चिन्ताको विषय भएको उनले बताए ।
एमाले महासचिव पोखरेलले नवप्रवर्तन गर्न नसक्ने ठूला घरानामै केन्द्रित ऋण प्रवाहले आर्थिक गतिशीलता नआउने धारणा राखे । ‘जससँग सम्भावना छ, सपना छ र केही गर्न सक्छ, त्यस्ता व्यक्तिलाई खोजेर लगानी गर्न नसक्दासम्म देश बन्न सक्दैन,’ उनले भने । त्यसैले राष्ट्रिय तथा वाणिज्य बैंकहरूको नीतिगत दिशाले नै मुलुकको आर्थिक भविष्य निर्धारण गर्ने उनको भनाइ थियो । पोखरेलले ठुला घराना केन्द्रीत बैंकिंग प्रणालीप्रति कटाक्ष पनि गरे ।
राष्ट्रिय वाणिज्य बैंकजस्ता संस्थाले परियोजना योजना भएका नवयुवामा लगानी गर्दा जोखिम मात्रै हेरेर पछि हटे देशको आर्थिक रूपान्तरण सम्भव नहुने उनले बताए । लामो आर्थिक राजनीतिक र समसामयिक विषयमा बोलेका पोखरेलले भने, ‘नेपालको मुख्य समस्या व्यवस्थापकीय कमजोरी हो, जसको प्रत्यक्ष असर निजी क्षेत्रमा देखिएको छ ।’ समुदायमा विद्यमान सीप पुस्तान्तरण हुन नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले विश्वविद्यालय र कलेजहरू सीप उत्पादनभन्दा प्रमाणपत्र वितरणमा सीमित भएको टिप्पणी गरे । व्यवस्थापकीय ज्ञान र उद्यमशील क्षमताको अभावका कारण धेरै मानिस उद्यममा प्रवेश गर्न नसकेको उनको भनाइ थियो ।
नेपालमा रोजगारीको समस्या चर्चा गरेजस्तो नभएको पूर्व मुख्यमन्त्री पोखरेलको छ । ‘एक करोड खर्च गरेर विदेश गएर श्रम गर्न मानिस तयार हुन्छ, तर त्यही रकम लगानी गरेर उद्यमी बन्न किन तयार हुँदैन ?’ भन्दै उनले यसको कारण शिक्षा प्रणालीले आत्मविश्वास र उद्यमशील सोच विकास गर्न नसक्नु भएको बताए । बैंकका कर्मचारीहरूले अवकाशपछि के गर्ने भन्ने योजना अहिलेबाटै बनाउनुपर्ने सुझाव दिँदै उनले कार्यअनुभवबाट प्राप्त व्यवस्थापकीय ज्ञानलाई उद्यमसँग जोड्न आग्रह गरे ।
राजनीतिक सन्दर्भमा महासचिव पोखरेलले हतार र आवेगले सफलता नआउने उल्लेख गर्दै राजनीतिमा धैर्य, प्रतिबद्धता र दीर्घकालीन सोच आवश्यक हुने बताए । युवाहरूले भावनामा होइन, तथ्य र यथार्थको विश्लेषणका आधारमा समाज परिवर्तनको यात्रामा लाग्नुपर्ने उनको भनाइ थियो ।
विषयगत ज्ञानयुक्त नयाँ पुस्ताले राष्ट्रलाई सही दिशामा लैजान सक्ने उल्लेख गर्दै कम्यूनिष्ट नेता पोखरेलले सचेत युवाहरू राजनीतिमा सक्रिय हुनुपर्नेमा जोड दिए । नेकपा (एमाले) युवाको नाममा राजनीति गर्ने नभई युवालाई राजनीतिमा जोड्ने पार्टी भएको दाबी गर्दै महासचिव पोखरेलले ११औँ महाधिवेशनबाट एकतिहाइ नयाँ युवा नेतृत्व निर्वाचित भएको जानकारी दिए ।
तीन पुस्ताको संयोजनको अवधारणालाई व्यवहारमा उतारिएको उल्लेख गर्दै महासचिव पोखरेलले राष्ट्र निर्माणप्रति निराश हुन नपर्ने बताए । ‘युवाको भविष्य सुरक्षित गर्ने आधार एमालेले तयार गरिसकेको छ,’ उनले भने ।
देशभरिबाट आएका संघका ८ सयबढी प्रतिनिधि पर्यवेक्षकबीच बैंक तथा वित्तीय क्षेत्रका केन्द्रीय प्रतिनिधिहरुले विद्यामान पछिल्लो अस्थीरताले बैंक कर्मचारीको मनोबल खसेको भन्दै यस्तै अवस्था रहे पलायनको जोखिम औंल्याए । ‘खाएको ऋण नतिर्ने मनोविज्ञानले हामीलाई कहाँ पुर्याउँछ ?’ पछिल्ला घटनाक्रम माथि टिप्पणी गर्दै उनीहरुले भने, ‘अराजकतालाई कारबाहीको दायरामा ल्याउनेतर्फ राज्यको ध्यान पुग्नैपर्छ ।’
संघका केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासचिव रविन्द्र प्रसाद चौलागाईंले कर्मचारी हितका तमाम सवालमा संघले गरेका गतिविधिबारे प्रकाश पार्दै सरकारले मनोबल बढाउन गर्नेपर्ने काम गर्न नसकेको टिप्पणी गरे । उनले लोकतान्त्रिक व्यवस्थाका लागि आफुहरुले गरेको संघर्षको चर्चा गर्दै दलहरुले कर्मचारी हितमा काम भने गर्न नसकेको गुनासो गरे ।
संघका लुम्बिनी प्रादेशिक समितिका अध्यक्ष गोविन्द पौडेलले सञ्चालन गरेको औपचारिक सत्रमा संघका उपाध्यक्ष लक्ष्मी ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघ रा.बा. बैंकका अध्यक्ष इश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.बा. बैंकका अध्यक्ष चुडामणि गुप्ता, कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष छगेन्द्र आचार्य, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङलगायतले बोलेका थिए ।
उद्घाटन कार्यक्रममा संघको वार्षिक मुखपत्र ‘लक्ष्ययात्रा–२०८२’ को विमोचन गरिएको थियो भने लुम्बिनी प्रदेश सरकारका मन्त्री भूमेश्वर ढकालले बन्दसत्रलाई सम्बोधन गरे ।
त्यसअघि, संघका सयौं प्रतिनिधि सम्मिलित र्यालीले नेपालगन्जको धम्बोझी चोकबाट सुर्खेतरोडमा सचेतनामूलक ब्यानर, प्लेकार्ड र नाराबाजीसहित कार्यक्रमस्थल बाजागाजा बजाउँदै उत्सवमय सहभागिता देखाएका थिए ।
आज नेतृत्व चयन
संघका केन्द्रीय सदस्य सुजन ददेलका अनुसार, महाधिवेशनको बन्द सत्रले आवश्यक प्रक्रिया पुरा गरेलगत्तै आगामी कार्यकालको नेतृत्व चयन प्रक्रिया शुरु हुनेछ । उद्घाटन सत्रमैं अधिकांश वक्ताहरुले सर्वसम्मत नेतृत्व चयनका लागि शुभकामना थिएका थिए भने, छलफल प्रक्रिया पनि त्यसै अनुसार अगाडी बढेको बताइएको छ ।
‘वर्तमान अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेले फेरि नेतृत्व गर्ने लालसा नराख्नु भएकाले नेतृत्वको पुस्तान्तरण हुने सम्भावना देखिएको छ,’ महाधिवेशन प्रतिनिधिहरुको आकर्षण बनेका वर्तमान महासचिव रविन्द्रप्रसाद चौलागाईंलाई नेतृत्व दिने सम्भावना रहेको औल्याउँदै स्रोतले भन्यो, ‘निर्वाचनमा जाने मूडमा कोही छैनन् ।’ पार्टीले हस्तक्षेप नगरेकाले पनि सर्वसम्मत युवा नेतृत्व आउने सम्भावना रहेको प्रतिनिधिहरुको भनाइ छ ।
