संघमा चौलागाई सर्वसम्मत नेतृत्व

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा रविन्द्र चौलागाई चुनिएका छन् । संघको नेपालगन्जमा आयोजित १२ आंै केन्द्रीय महाधिवेशनले चौलागाईको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

निवर्तमान कार्यसमितिका महासचिव चौलागाई सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । नयाँ केन्द्रीय समितिमा ऋषि ज्ञवाली महासचिव चुनिएका छन् । केन्द्रीय समितिमा बाँकेबाट सुजन ददेल, गोविन्द पौडेल र पशुपति अधिकारी चुनिएका छन् । ददेल निवर्तमान कार्यसमितिमा पनि केन्द्रीय सदस्य थिए भने पौडेल लुम्बिनी प्रादेशिक समितिका अध्यक्ष हुन् । त्यस्तै, केन्द्रीय लेखा समितिमा अमित गुबाजु बाँकेबाट प्रतिनिधित्व गर्ने भएका छन् ।

नयाँ नेतृत्व चयन सँगै शनिबार संघको १२औं केन्द्रीय महाधिवेशन समापन गरिएको केन्द्रीय सदस्य सुजन ददेलले जानकारी दिए ।

त्यसअघि महाधिवेशनले विभिन्न १० बुंदे प्रस्ताव सर्वसम्मत पारित गरेको छ । प्रस्तावको पहिलो नम्बरमा भनिएको छ, हाल बैंकमा कार्यरत एक तिहाई कर्मचारी (योगदानमा आधारित उपदान प्रणाली) सिबिजी व्यवस्था कार्यरत रहनुभएकाले बैंकको उत्पादकत्व र उत्प्रेरणा वृद्धिका लागि सिबिजी व्यवस्थाबाट पाउने सुविधा अन्य सुविधा थप गरी समस्या समाधान गरियोस् ।

बैंकमा रहेको अधिक तरलताको समस्या समाधान तथा लगानीको सम्भाव्य क्षेत्र खोजी सिडी रेसियो उच्चतम उपयोग गर्न बैंक व्यवस्थापनलाई माग समन्वय र सहकार्य गर्ने प्रस्तावलाई संघको महाधिवेशनले प्राथमिकतामा राखेको छ । त्यस्तै, प्रस्तावको तेस्रो नम्बरमा भनिएको छ, अर्थमन्त्रालयमा भनिएको विनियमावली स्वीकृत गरी ल्याउन पहल र सम्बन्धित निकायमा समन्वय गर्ने ।

बोनस नीति परिमार्जनका लागि लबिङ्ग गरेको संघले टे«ड यूनियनको विपक्षमा भएको फैसला विरुद्ध आवाज उठाउने, सिबिए निर्वाचनको माग गर्ने प्रस्ताव पनि अघि सारेका छन् । महाधिवेशनले बैंकिङ्ग क्षेत्रका कर्मचारीमाथि भएको आक्रमण र अपमानको निन्दा गर्दै बैंकका सेवा सुविधा प्रभावकारी बनाइ उत्पादकत्व वृद्धिका लागि व्यवस्थापनसँग समन्वयकारी भूमिका निर्वाह गर्ने कार्यभार पनि प्रस्तावका रूपमा पारित गरेको केन्द्रीय सदस्य ददेलले जानकारी दिए ।

बैंकभित्रको आन्तरिक सुरक्षा मजबुत बनाउन माग गरेको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले बैंक भित्रका पदपूर्ति, सरुवा, पदस्थापन र सम्पूर्ण मानव संशाधन सम्बन्धी विषयलाई वैज्ञानिक र विधि सम्मत बनाउन माग गर्ने प्रस्ताव पनि पारित गरेको छ । देशभरबाट आएका ८ सय बढी प्रतिनिधि, पर्यवेक्षक बीच लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमाले महासचिव शंकर पोखरेलले शुक्रबार महाधिवेशनको उद्घाटन गरेका
थिए ।

शनिबार संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेको अध्यक्षतामा भएको पद हस्तान्तरण तथा महाधिवेशन समापन कार्यक्रममा पेशागत महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, बैंक, विमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ राष्ट्रिय समिति (बिफु) नेपालका अध्यक्ष धर्मराज मैनाली, संघका वरिष्ठ उपाध्यक्ष बद्री प्रसाद तिमिल्सिना लगायतले आगामी कार्यभार र तीन बर्षको कार्यकालका लागि आवश्यक प्राथमिकताबारे सुझाव तथा शुभकामना दिएका थिए ।

Exit mobile version