एमाले बाँकेले गर्यो उम्मेदवार सिफारिस

आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्दै चुनावी तयारीलाई तीव्र बनाएको छ ।

देश निर्वाचनको बाटोमा अघि बढिरहेका बेला एमालेले समयमै उम्मेदवार छनोट प्रक्रिया अघि बढाउनु सकारात्मक राजनीतिक संकेतका रूपमा हेरिएको छ । पार्टीको निर्णयअनुसार, समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम तथा अन्य समूहबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरिएको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा पेश गरिएको विवरणअनुसार एमाले बाँकेले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै राष्ट्रिय सभा र प्रतिनिधि सभातर्फ विभिन्न क्लस्टरबाट उम्मेदवार सिफारिस गरेको छ । राष्ट्रिय सभातर्फ खस–आर्य महिलाबाट शान्ति ढकाल, अपांगता भएका व्यक्तितर्फ गोपीन्द्र बुढा र पुरुष समूहबाट नरेन्द्र शर्मालाई सिफारिस गरिएको छ

त्यसैगरी प्रतिनिधि सभातर्फ खुला समूहबाट होमप्रकाश सुवेदी, बेदनिधि प्याकुरेल, सनत रेग्मी र भक्त बहादुर केसी सिफारिस भएका छन् । मधेसी समूहबाट पशुपति दयाल मिश्र र जयराम यादव, जनजाति समूहबाट बलदेव पुन र लाल बहादुर थापा तथा मुस्लिम समूहबाट मो. हारुन हलवाइलाई अघि सारिएको छ

नेकपा एमाले बाँके स्रोतका अनुसार, महिला समूहबाट विजय धिताल, थारु समूहबाट रामदास थारु र दलित समूहबाट नन्द विश्वकर्मा सिफारिस भएका छन् । पार्टी अध्यक्ष निरक गुरुङले शुक्रवार उक्त सिफारिस केन्द्र पठाएका हुन् । पार्टीले समानुपातिक प्रणालीअन्तर्गत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले उम्मेदवार छनोट गरिएको जनाएको छ ।

बाँकेबाट गरिएको सिफारिसमा राष्ट्रिय सभा तथा प्रतिनिधिसभा दुवैका लागि उपयुक्त हुने गरी उम्मेदवारहरूको सूची तयार पारिएको छ । पार्टी नेताका अनुसार, सिफारिस प्रक्रियामा संगठनप्रतिको योगदान, राजनीतिक अनुभव, समावेशिता र क्षेत्रीय सन्तुलनलाई प्राथमिकता दिइएको छ ।

देश निर्वाचनको दिशातर्फ अघि बढिरहेका बेला एमालेले समानुपातिक उम्मेदवार सिफारिस गरेर संगठनात्मक तयारी मजबुत बनाएको पार्टी केन्द्रीय सदस्य सुर्य ढकालले बताए । नेता ढकालले दैनिक नेपालगन्जसँग भने, ‘प्रमुख राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने सहमतिमा पुगेको सन्दर्भमा एमालेको यो कदमलाई लोकतान्त्रिक प्रक्रिया सुदृढ बनाउने जिम्मेवार पहलका रूपमा हेरिएको छ ।’

प्रत्यक्षतर्फ सिफारिसका लागि बाँके एमालेले केन्द्रको इशारा पर्खिरहेको पार्टी नेता बताउँछन् ।

Exit mobile version