नगरलाई कुरूप बनाइरहेका सडक छेउका तार व्यवस्थापन सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले कार्यविधि नै बनाएर टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका अव्यवस्थित तार व्यवस्थापन सुरु गरेको हो ।
आइतबार विपीचोकबाट अव्यस्थित तार व्यवस्थापन सुरु गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सबै इन्टरनेट सेवा प्रदायक संस्थालाई आपसी समन्वय गरी विद्युत र टेलिकमसँगको समझदारीमा तार व्यवस्थापन अगाडि बढाइएको बताए । ‘त्यसका लागि हामीले कार्ययोजना नै बनाएका छौं’, नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने, ‘दुर्घटनाको कारकपनि बन्दै गैरहेको र सहरको सौन्दर्यमा पनि बाधक बनेकाले फागुन मसान्तभित्रै घना बस्ती भित्रका सबै अव्यवस्थित तार व्यवस्थापन गरिसक्छौं ।’
अभियानकै रूपमा तार व्यवस्थापन अगाडि बढाइएको जानकारी दिंदै नगर प्रमुख विष्टले सुर्खेतरोडलाई यसै महिना व्यवस्थित गरिसकिने गरी कार्ययोजनाले निर्देश गरेको बताए ।































