बाँकेका तीन साहित्यकारले गरेका साहित्यिक रचनाका छुट्टाछुट्टै संग्रह, तीन कृति शनिवार एकसाथ लोकार्पण गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बाँकेले आयोजना गरेको कृति विमोचन तथा समालोचना कार्यक्रमका क्रममा तीनवटै कृति लोकार्पण गरिएको हो । कवि भरत बहादुर रानाभाटबाटको सिर्जनात्मक कृति ‘ढुकढुकीमा देश’ कविता संग्रह, चन्द्रावती अधिकारीको ‘चन्द्राध्र्य’ र ‘भुपेन्द्र सुवेदीका कविता’ एकैसाथ विमोचन गरिएको छ ।
देवी रानाभाटद्वारा प्रकाशित ‘ढुकढुकीमा देश’, भेरी साहित्य समाजले प्रकाशन गरेको ‘चन्द्राध्र्य’ र भुपेन्द्र सुवेदीका कविता कृति विमोचन तथा समालोचना कार्यक्रम गरि लोकार्पण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोग सदस्य प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गोपाल प्रसाद अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभा सदस्य महानन्द ढकाल, शशिराम कार्की, प्रगतिशील लेखक संघका केन्द्रीय सचिव डा. हरीप्रसाद तिमिल्सिना र वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले कृति विमोचन गरे । त्यसक्रममा उनीहरुले कृति र साहित्यबारे आफ्ना धारणा पनि व्यक्त गरे ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बाँकेका अध्यक्ष भरतबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक डा. तिमिल्सिना, डा. राजकुमार थारु र डा. पुष्कर रिजालले लोकार्पित कृति समीक्षा गरे ।































