राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगन्जमा सशक्त हस्तक्षेप गर्दै संगठन बिस्तार गरेको छ । नगर सभापति नविन खड्काको नेतृत्वमा तदर्थ समितिले यस बीच १३ वटै वडामा वडाधिवेशन र पाँच वटा वडामा तदर्थ समिति गठन गरिसकेको क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठले जानकारी दिए ।
‘बाँकी वार्डमा पनि प्रतिनिधित्व हुने गरी संगठन बिस्तार भैरहेको छ’, आज मंगलबार प्रथम नगर अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिंदै क्षेत्रीय सभापति श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘नयाँ पुस्ताका मतदाताहरूलाई संगठित गर्दै हस्तक्षेपकारी ढंगले संगठन बिस्तार गरिरहेका छौं ।’
रास्वपाका केन्द्रीय पार्टी प्रवक्ता मनिषकुमार झाको प्रमुख आतिथ्यतामा पहिलो नगर अधिवेशन गर्न लागेको उक्त पार्टीले आज नयाँ नेतृत्व छान्नेछ । ‘बढी भन्दा बढी युवा प्रतिनिधि छनोट भएकाले नेतृत्व पनि युवा हुने गरी संगठन अगाडि बढेको छ’, क्षेत्रीय सभापति श्रेष्ठले पार्टी केन्द्रीय सदस्य हरि ढकाल अधिवेशनका लागि नेपालगन्ज आइसकेको जानकारी दिंदै भने ।
