नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको नवौं अधिवेशनले दुर्गा सिंह बस्नेतलाई अध्यक्ष निर्वाचित गरेको छ ।
मंगलबार भएको मतदानमा बस्नेतले १ सय ३ मत प्राप्त गरी प्रतिस्पर्धी शिव प्रसाद गुप्तालाई पराजित गरेका हुन् । मतदान भएको द्वितीय उपाध्यक्ष तर्फ मोहन चन्दले १ सय २४ मत प्राप्त गरी विजयी भए भने सहसचिव विशम्भर वलीले १ सय १० मत प्राप्त गरेर निर्वाचित भए । २ सय २२ मतदाता रहेको महासंघमा २ सय ४ जनाले मतदानमा सहभागिता जनाए ।
अन्य पदहरू भने निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता धु्रव प्रसाद वस्यालले जानकारी दिए । निर्विरोध हुनेहरूमा प्रथम उपाध्यक्ष ताराप्रसाद खनाल, सचिव सविन लुइँटेल, कोषाध्यक्ष हिरालाल न्यौपाने, सदस्यहरूमा डिल्लीराज डाँगी, प्रकाश कंडेल, शोभाखर अधिकारी, यज्ञकुमार गुरुंग, रमेश रिजाल, राजेन्द्र कुमार सोनी, विष्णु प्रसाद अधिकारी, राजिव चौधरी, गणेश बहादुर जीएम, गणेश बहादुर थारु, धन बहादुर खड्का, रमेश बिएम र डिल बहादुर शाही छन् ।
नवनिर्वाचित कार्यसमितिलाई महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि प्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा निर्वाचित प्रमाणपत्र प्रदान गरिएको निवर्तमान कार्यसमितिका सचिव समेत रहेका निर्वाचित उपाध्यक्ष मोहन चन्दले जानकारी दिए ।
अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । अधिवेशन उद्घाटन लगत्तै गतसातादेखि सर्वसम्मत नेतृत्व चयनको प्रयत्नमा अग्रजहरू लागेपनि सहमति जुट्न नसकेपछि मतदानमा जाने निर्णय भएको थियो ।
