नेपालगन्जमा साइकल उत्सव आयोजना हुने भएको छ । नेपालगन्ज साइक्लिङ्ग क्लबले माघको अन्तिम साता साइकल उत्सव मनाउने निर्णय गरेको अध्यक्ष कविराम बुढाथोकीले जानकारी दिए ।
‘पहिलो दिन नेपालगन्ज किड्स रेस हुनेछ’, नेपालगन्ज टुर दि ठाकुरद्वाराको आठौं संस्करणको तयारी सुरु भएको जानकारी दिंदै अध्यक्ष बुढाथोकी दैनिक नेपालगन्जसँग भने, ‘साइकल उत्सवको महत्वपूर्ण कार्यक्रम टुर दि ठाकुरद्वारा हुनेछ ।’
नेपालगन्ज साइक्लिङ्ग क्लबले पछिल्लो आठ बर्षदेखि बाँके, बर्दियाका पर्यटकीय क्षेत्रलाई जोड्दै त्यसको विकास र विस्तारमा दबाब सिर्जना हुने गरी यो आयोजना गर्दै आएको हो ।
त्यसैबीच नेपालगन्जका साइक्लिष्टहरू आज जनवरी पहिलो दिन अर्थात् राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाउँदै छन् ।
त्यसका लागि स्वस्फूर्त साइक्लिष्टहरूले सहर परिक्रमाको योजना बनाएको साइकल अभियन्ता गगन थापाले जानकारी दिए । ‘हामी विहान सात बजे ढाका टोपीमा सजिएका साइक्लिष्ट विपीचोकमा भेला भएर सहर परिक्रमा गर्नेछौं’, विना कुनै औपचारिक निर्णय, विना कुनै आव्हान बर्षौदेखि यसखालको कार्यक्रम आयोजना भैरहेको जानकारी दिंदै बाँके जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष समेत रहेका थापाले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्ज साइक्लिष्टहरूले यसलाई स्वस्फूर्त मनाउँदै आएका छौं ।’
