कानुन व्यवसायमा संलग्न रहेर सार्वजनिक वकालत कार्य गर्दै आएको ५० बर्ष पूरा गर्ने दुई वरिष्ठ कानुन व्यवसायीलाई बुधबार नेपालगन्जमा सम्मान गरिएको छ ।
सार्वजनिक सरोकार कानुन व्यवसायी समूह (पिआइएल)ले वरिष्ठ कानुन व्यवसायी गिरिवर प्रसाद अग्रवाल र इन्द्रजित प्रसाद तिवारीलाई सार्वजनिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । वकालतको सफलतापूर्वक ५० बर्षमा पनि सक्रिय जिम्मेवारी निर्वाह गर्दै आएका दुवै वरिष्ठ कानुन व्यवसायीलाई उच्च अदालत नेपालगन्जका वरिष्ठतम् न्यायाधीश वामदेव ज्ञवालीले पिआइएलका तर्फबाट कदर पत्र प्रदान गरे ।
पिआइएलको बार्षिक समीक्षा तथा सम्मान कार्यक्रम आयोजना गरी वरिष्ठ अधिवक्ताद्वयलाई पेशाको निरन्तरता र सक्रियताका लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।
वरिष्ठ अधिवक्ता अग्रवाल नियमित वहस पैरवी मात्रै होइन अहिले पनि सार्वजनिक सरोकारका कार्यक्रमहरुमा आफ्नो प्रतिनिधित्व निरन्तर गरिरहेका भेटिन्छन् ।
