निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति बाँकेले ३५औँ स्थापना दिवस अर्थात् प्याब्सन डे भव्य रूपमा मनाउने भएको छ।
प्याब्सन बाँकेले भोलि बिहीबार बिहान ९:३० बजे बिपि चोक देखि रंगशाला सम्म शिक्षकहरुको उपस्थितिमा प्रभातफेरी गरेर ११ बजे नेपालगन्ज रंगशालामा विशेष कार्यक्रमको आयोजना गरी १२ विधामा सम्मान र आफ्ना सम्पुर्ण १०६ बिधालयका १०६ जेहेन्दार बिद्यार्थी र १०६ शिक्षकलाई सम्मान गर्ने जनाएको छ। यसबारे आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थी तथा शिक्षकलाई उत्प्रेरित गर्ने कार्य र समाजमा सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको ब्यक्तित्वलाई कदरस्वरूप विभिन्न क्षेत्रका कला–संस्कृति, मानव बेचबिखन नियन्त्रण, खेलकुद, पत्रकारिता लगायत सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गरिनेछ।
हाल बाँके जिल्लामा १०६ वटा विद्यालय प्याब्सन बाँकेमा आबद्ध रहेका छन् भने तीमध्ये ५४ वटा विद्यालय नेपालगन्ज उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका छन्।
प्याब्सन डे कार्यक्रमले शैक्षिक क्षेत्रका सरोकारवालाबीच आपसी सहकार्य, प्रेरणा र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।






























