रुपैडिहामा भारतीय रेलको प्राविधिक टोलीद्वारा अन्तिम निरीक्षण
भारत–नेपाल सीमा नजिकै रहेको रुपैडिहास्थित नेपालगन्ज रोड रेलमार्गमा भारतीय रेलको प्राविधिक निरीक्षण यान (इन्स्पेक्शन भेहिकल) आइपुगेसँगै यस क्षेत्रका बासिन्दामा रेल सञ्चालनको आशा झनै प्रबल बनेको छ ।
भारतीय रेलको वरिष्ठ प्राविधिक टोलीले बुधवार बहराइचदेखि नेपालगन्ज रोड–रुपैडिहा सेक्शनसम्म ब्रडगेज ट्र्याक तथा ओभरहेड इलेक्ट्रिक सिस्टम (ओएचई) को विस्तृत निरीक्षण गरेको हो ।
निरीक्षण यानलाई ट्र्याकमै सञ्चालन गरी वास्तविक अवस्थामै पटरिको मजबुती, रेल फिटिङ, ओएचई लाइनको प्राविधिक गुणस्तर, सिग्नलिङ प्रणाली, सुरक्षा सूचक, प्लेटफर्म, फुट ओभरब्रिज तथा स्टेशन परिसरका संरचनाहरूको सूक्ष्म परीक्षण गरिएको थियो । ट्र्याकको स्थिरता र विद्युत् आपूर्तिको कार्यक्षमता समेत यही क्रममा जाँच गरिएको छ ।
भारतीय रेलका स्रोतका अनुसार, यो निरीक्षण रेल सञ्चालनअघिको अत्यन्त महत्वपूर्ण सुरक्षा प्रक्रिया हो, जसबाट भविष्यमा कुनै पनि जोखिम नहोस् भन्ने उद्देश्य राखिएको छ । निरीक्षणका क्रममा इन्जिनियर ए.पी. नौविक, रविन्द्र कुमार, ए.बी. सिंह, एस.पी. गौउ, जगदीश प्रसाद, कृष्णा मिश्रा, सईद आलम, विनोद कुमार र सुरेश कुमारलगायतको टोली सक्रिय रूपमा खटिएको थियो । टोलीले ओभरहेड इन्स्पेक्शन यान एनई–१२९६१ प्रयोग गरी सम्पूर्ण सेक्शनको परीक्षण गरेको हो ।
उल्लेखनीय छ, रुपैडिहा–नेपालगन्ज रोड सेक्शनमा पछिल्ला वर्षहरूमा करिब ५५ किलोमिटर लामो ब्रडगेज रेल लाइन विस्तार गरिएको छ । परियोजनाअन्तर्गत नयाँ स्टेशन भवन, प्लेटफर्म तथा आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । यसअघि सन् २०२५ अक्टोबर ५ मा सुरक्षा निरीक्षण र स्पिड ट्रायल सम्पन्न भई १२० किलोमिटर प्रतिघण्टासम्मको गति सफलतापूर्वक परीक्षण गरिएको जानकारी सार्वजनिक भएको थियो । साथै, प्रि–सीआरएस र सीआरएससम्बन्धी प्रक्रिया पनि भारतीय रेलका उच्च अधिकारीहरूबाट पहिल्यै सम्पन्न भइसकेको छ ।
भारतीय पत्रकार सन्तोषकुमार शुक्लका अनुसार, हालसम्म नियमित यात्रु रेल सेवा सुरु भएको औपचारिक घोषणा गरिएको भने छैन । उनी भन्छन्, ‘तर, स्थानीय स्रोतहरूले जनवरी १० देखि रेल सञ्चालनको प्रबल सम्भावना रहेको दाबी गरेका छन् ।’ यही कारण रुपैडिहा र नेपालगन्ज रोड आसपासका बासिन्दा तथा यात्रुहरूमा उत्साहको माहोल देखिएको पत्रकार शुक्लको भनाइ छ ।
बुधबार दिउँसो बहराइचबाट निरीक्षण यानमार्फत नेपालगन्ज रोड रेलवे स्टेशन पुगेको टोलीले पटरि र प्लेटफर्मको संयुक्त निरीक्षण गरेपछि स्थानीयवासीहरूबीच चासो र चर्चा बढेको थियो । धेरैले यसलाई रेल सञ्चालनको अन्तिम तयारीका रूपमा व्याख्या गरेका छन् ।
स्थानीय अगुवा तथा सरोकारवालाहरूले रेल सेवा सुरु भएमा क्षेत्रको चौतर्फी विकास हुने विश्वास व्यक्त गरेका छन् । ‘ब्रडगेज रेल सञ्चालनले रुपैडिहा बजारको आर्थिक गतिविधि बढाउने, स्थानीय आम्दानीमा वृद्धि गर्ने र छिमेकी मुलुक नेपालबाट आउने पर्यटक तथा व्यापारीलाई समेत ठूलो लाभ पुग्नेछ,’ स्थानीय पत्रकार एसके मधेसियाले दैनिक नेपालगन्जसँग भने । पत्रकार मधेसियाले सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र आवागमनलाई नयाँ गति दिने यो रेलमार्ग अब छिट्टै सपनाबाट यथार्थमा बदलिने अपेक्षा गरिएको बताए ।
