बार एशोसिएसन : मानव अधिकार र न्यायिक सुशासनको पहरेदार कि आन्तरिक राजनीतिमा अल्झिएको पेशागत संस्था ?

१. भूमिका : मानव अधिकार, कानूनी शासन -(Rule of Law) र न्यायिक सुशासन (Judicial Good Governance) लोकतान्त्रिक राज्य व्यवस्थाका आधारभूत स्तम्भ हुन् । यी मूल्यहरूको संरक्षण र प्रवद्र्धन बिना न त नागरिक स्वतन्त्रता सुरक्षित रहन सक्छ, न त न्याय प्रणाली प्रति जनविश्वास कायम रहन्छ । यस्ता संवेदनशील र आधारभूत विषयमा न्यायपालिकाको संस्थागत सुदृढीकरणसँगै बार एशोसिएसनको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको छ । बार एशोसिएसन केवल कानुन व्यवसायीहरूको पेशागत संगठन मात्र नभई, न्यायिक स्वतन्त्रता, मानव अधिकारको रक्षा र कानूनी शासनको संस्थागत विकासका लागि सशक्त आवाज पनि हो ।

२. नेपाल बार एशोसिएसन ः अवधारणा र ऐतिहासिक पृष्ठभूमि ः बार एशोसिएसन कानुन व्यवसायीहरूको प्रतिनिधि साँझा संस्था हो, जसले आफ्ना सदस्यहरूको पेशागत हित, मर्यादा र आचारसंहिता संरक्षण गर्नुका साथै न्याय प्रणालीको सुधार र सुदृढीकरणमा योगदान पु¥याउने उद्देश्य राख्दछ । नेपालमा बार एशोसिएसनको विकास लोकतान्त्रिक आन्दोलन, संवैधानिक परिवर्तन र मानव अधिकारको संघर्षसँग गहिरो रूपमा जोडिएको देखिन्छ । ऐतिहासिक रूपमा हेर्दा, निरंकुश शासनका विरुद्ध भएका आन्दोलनहरूमा कानुन व्यवसायी र बार एशोसिएसनको भूमिका अग्रणी रहँदै आएको छ ।

३.मानव अधिकारको संरक्षणमा बार एशोसिएसनको भूमिका ः मानव अधिकारको संरक्षण र प्रवद्र्धन बार एशोसिएसनको केन्द्रीय दायित्वहरूमध्ये एक हो । बार एशोसिएसनले निम्न माध्यमबाट मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छः
(क) कानूनी सहायता र पहुँच ः आर्थिक, सामाजिक वा भौगोलिक कारणले न्यायबाट वञ्चित वर्ग र समुदायलाई निःशुल्क वा सहुलियत कानूनी सहायता उपलब्ध गराउने कार्यमा बार एशोसिएसनको भूमिका उल्लेखनीय छ । यसले न्यायमा पहुँच (ब्अअभकक तय व्गकतष्अभ) लाई व्यवहारमा रूपान्तरण गर्न मद्दत पु¥याएको छ।
(ख) गैरकानूनी थुना तथा हिरासत अनुगमन ः बार एशोसिएसन तथा यससँग आबद्ध कानुन व्यवसायीहरूले हिरासत केन्द्र, कारागार र प्रहरी थुना केन्द्रहरूको अनुगमन गरी गैरकानूनी थुना, यातना तथा मानव अधिकार उल्लङ्घनका घटनामा आवाज उठाउँदै आएका छन् ।
(ग) सार्वजनिक सरोकारका मुद्दा ः मानव अधिकार र कानूनी शासनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सार्वजनिक सरोकारका रिट दायर गरी बार एशोसिएसनले संरचनागत अन्याय र राज्यको निष्क्रियता विरुद्ध न्यायिक हस्तक्षेपको माग गर्दै आएको छ ।

४.कानूनी शासनको सुदृढीकरणमा बार एशोसिएसन ः कानूनी शासनको अर्थ कानून सबैका लागि समान रूपमा लागू हुनु, राज्यका सबै अंग कानूनको अधीनमा रहनु र मनोमानीको अन्त्य हुनु हो । यस सन्दर्भमा बार एशोसिएसनको भूमिका बहुआयामिक छ ।
(क) संविधान र कानूनको रक्षा ः संविधान र कानून विपरीत हुने सरकारी निर्णय, अध्यादेश, नीति वा अभ्यासविरुद्ध बार एशोसिएसनले संस्थागत रूपमा असहमति जनाउने, दबाब सिर्जना गर्ने र आवश्यक परे अदालतको ढोका ढकढक्याउने कार्य गर्दै आएको छ।
(ख).न्यायिक स्वतन्त्रताको संरक्षण ः न्यायपालिकामाथि हुने राजनीतिक हस्तक्षेप, दबाब वा प्रभावको विरुद्ध बार एशोसिएसनले आवाज उठाउँदै न्यायिक स्वतन्त्रताको पक्षमा उभिने गरेको छ ।
(ग) विधायिका र कार्यपालिकाप्रति निगरानी ः कानून निर्माण र कार्यान्वयन प्रक्रियामा हुने त्रुटि, दुरुपयोग वा अधिकारको अतिक्रमण प्रति बार एशोसिएसनले निगरानी भूमिका निर्वाह गर्दछ ।

५.न्यायिक सुशासन र बार एशोसिएसन ः न्यायिक सुशासन भनेको छिटो, निष्पक्ष, पारदर्शी र उत्तरदायी न्याय सम्पादन हो । यसमा बार एशोसिएसनको योगदान निम्न रूपमा देखिन्छः
(क).पेशागत आचारसंहिता र मर्यादा ः कानुन व्यवसायीको आचारसंहिता पालनामा जोड दिई बार एशोसिएसनले न्यायिक प्रक्रियाको गरिमा र विश्वास कायम गर्न योगदान पु¥याउँछ ।
(ख)न्यायिक सुधारका लागि पहल ः ढिलासुस्ती, भ्रष्टाचार, पहुँचको आधारमा न्याय हुने प्रवृत्ति विरुद्ध बार एशोसिएसनले सुधारात्मक सुझाव, संवाद र दबाब सिर्जना गर्दै आएको छ ।
(ग)न्यायिक उत्तरदायित्व ः न्यायिक निकायको कार्यसम्पादन प्रति स्वस्थ आलोचना र सुधारको माग गर्नु पनि न्यायिक सुशासनको महत्वपूर्ण पक्ष हो, जसमा बार एशोसिएसनले सन्तुलित भूमिका निर्वाह गर्दछ ।
६.चुनौतीहरू ः बार एशोसिएसनको भूमिका उल्लेखित तवरबाट महत्वपूर्ण हुँदा हुदै पनि केही चुनौतीहरू पनि विद्यमान छन् । राजनीतिक ध्रुवीकरण, संस्थागत कमजोरी, सीमित स्रोत, तथा कहिले काहीँ पेशागत हित र सार्वजनिक हित बीचको द्वन्द्वले बारको भुमिका माथी प्रश्न उठ्ने गरेको छ । उल्लेखित चुनौतीहरू समाधान नगरेसम्म बार एशोसिएसनको प्रभावकारिता अपेक्षित स्तरमा पुग्न कठिन हुन्छ ।
७.भावी दिशा र सुझाव ः बार एशोसिएसनले भविष्यमा मानव अधिकार, कानूनी शासन र न्यायिक सुशासनको पक्षमा अझ प्रभावकारी भूमिका खेल्न निम्न कुरामा ध्यान दिनु आवश्यक देखिन्छ । संस्थागत स्वतन्त्रता र पेशागत एकता मजबुत बनाउने, मानव अधिकारमुखी कानूनी अभ्यासलाई प्रवद्र्धन गर्ने, युवा कानुन व्यवसायीको क्षमता विकासमा जोड दिने, नागरिक समाज र सरोकारवालासँग सहकार्य बढाउने कार्यमा बार अग्रसर हुनु पर्दछ ।
मानव अधिकार, कानूनी शासन र न्यायिक सुशासन लोकतान्त्रिक राज्यका आधार स्तम्भ हुन्, र यी मूल्यहरूको संरक्षणमा बार एशोसिएसनको भूमिका ऐतिहासिक रूपमा निर्णायक रहँदै आएको छ । न्यायालयको स्वतन्त्रता, कानुन व्यवसायीको पेशागत गरिमा र नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्ने सवालमा बार एशोसिएसनलाई समाजको विवेक र न्यायको पहरेदारका रूपमा हेरिन्छ । तर पछिल्ला वर्षहरूमा बार एशोसिएसन भित्र मौलाउँदै गएको आन्तरिक राजनीति, गुटबन्दी र दलगत प्रभावले यस संस्थालाई आफ्नो मूल दायित्वबाट क्रमशः विमुख बनाउँदै लगेको यथार्थ गम्भीर चिन्ताको विषय बनेको छ । तर न्यायको पक्षमा उभिनुपर्ने बार कहिले काही आन्तरिक राजनीतिले बन्धक बनेको पेशागत संगठन रुपमा चिनिने गर्दछ ।

पेशागत संगठन हुनुपर्ने बार एशोसिएसन आज धेरै हदसम्म राजनीतिक दलहरूको प्रतिछायाँ संगठनझैँ देखिन थालेको छ । बारको नेतृत्व चयन देखि निर्णय प्रक्रियासम्म राजनीतिक झुकाव निर्णायक बन्नु,नेतृत्व छनौटमा योग्यता क्षमता होइन आफ्ना निकट र आसेपासेले पश्रय पाउन थालेको छ ।

यसै गरि सार्वजनिक सरोकारका महत्वपुर्ण बिषय र गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा समेत बारको स्पष्ट र एकीकृत धारणा नआउनु, र न्यायिक ढिलासुस्ती, गैरकानूनी थुना, हिरासतमा यातना जस्ता संवेदनशील विषयमा संस्थागत मौनता देखिनु यसको प्रत्यक्ष उदाहरण हुन ्। यस्तो अवस्थामा बार एशोसिएसनले न्यायको पक्षमा उभिएको दाबी गर्नु केवल औपचारिक नारामा सीमित भएको छ, व्यवहारमा होइन ।

बारभित्रको यो राजनीतिले केवल संस्थाको नैतिक विश्वसनीयता कमजोर पारेको छैन, यसले सम्पूर्ण कानुन व्यवसायी पेशा प्रति आम नागरिकको विश्वास समेत कमी ल्याउछ । जब नागरिकले देख्छन् कि न्यायालयसँग प्रत्यक्ष सरोकार राख्ने पेशागत संगठन नै स्वार्थ, पद र शक्ति सन्तुलनमा अल्झिएको छ, तब कानूनी शासनप्रतिको भरोसा कमजोर हुनु स्वाभाविक हुन्छ । अझ गम्भीर कुरा त के हो भने, बार एशोसिएसन स्वयंले कमजोर, सीमान्तकृत र न्यायबाट वञ्चित वर्गको पक्षमा निर्भीक आवाज उठाउने आफ्नो ऐतिहासिक भूमिकालाई बिर्सिँदै गएको छ ।

राजनीति कुनै पनि पेशागत संगठनबाट पूर्णतः अलग हुन सक्दैन, तर त्यो राजनीति मूल्य र सिद्धान्तको अधीनमा हुनुपर्दछ, न कि तिनलाई दबाउने साधन । बार एशोसिएसन भित्र देखिएको राजनीतिले पेशागत स्वतन्त्रता, मानव अधिकार र न्यायिक सुशासनको पक्षमा उभिन अवरोधक बन्नु हुदैछ । नेतृत्वमा पुग्ने प्रतिस्पर्धा संस्थागत एजेन्डा भन्दा व्यक्तिगत हैसियत र पहुँच विस्तारमा केन्द्रित हुनु, र आलोचनात्मक आवाजलाई गुटगत चश्माबाट हेर्ने प्रवृत्तिले बारलाई कमजोर, विभाजित र दिशाहीन बनाउन अभिप्रेरित गर्दछ ।

अब बार एशोसिएसनले गम्भीर आत्मसमीक्षा नगर्ने हो भने यो संस्था लोकतान्त्रिक संरचनाभित्र एउटा औपचारिक, प्रभावहीन र अवसरवादी निकायमा सीमित हुने खतरा रहन्छ । आवश्यक छ—स्पष्ट वैचारिक पुनर्संरचना, पेशागत आचारसंहिताको कडाइका साथ पालना, दलगत प्रभावभन्दा माथि उठेको नेतृत्व विकास र मानव अधिकार तथा न्यायिक सुशासनका सवालमा साझा न्यूनतम संस्थागत धारणा निर्माणको । बार एशोसिएसनले गुट होइन संस्था, व्यक्ति होइन मूल्य र स्वार्थ होइन न्यायलाई केन्द्रमा राख्न सके मात्र यसले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्छ ।

पछिल्लो समय जेनजी आन्दोलनका क्रममा न्याय क्षेत्र माथीको आक्रमणको सन्दर्भलाई गंभिर समिक्षा गर्दै बिगतमा भएका कमी कमजोरी सुधार गर्दै बारलाई एउटा ब्यवशायिक संगठनको रुपमा बिकाश गर्न जरुरी छ । अहिलेको समय भनेको आत्मालोचना र पुनःप्रतिबद्धताको हो । यदि बार एशोसिएसन साँच्चै मानव अधिकार, कानूनी शासन र न्यायिक सुशासनको पक्षमा उभिन चाहन्छ भने, उसले सबैभन्दा पहिले आफ्नै भित्रको राजनीतिक विकृति र अवसरवादलाई चुनौती दिनु अपरिहार्य छ ।

निष्कर्ष ः समग्रमा, बार एशोसिएसन मानव अधिकारको रक्षक, कानूनी शासनको पहरेदार र न्यायिक सुशासनको प्रवद्र्धकको रूपमा लोकतान्त्रिक समाजको अभिन्न अंग हो । सक्षम, स्वतन्त्र र उत्तरदायी बार एशोसिएसन बिना न्याय प्रणाली सुदृढ हुन सक्दैन । त्यसैले नेपाल बार एशोसिएसनले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई आत्मसात् गर्दै संविधान, कानून र मानव अधिकारको पक्षमा दृढतापूर्वक उभिनु आजको अपरिहार्य आवश्यकता हो ।
ड्ड लेखक अधिवक्ता हुन

Exit mobile version