नेपालगञ्ज। मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाँकेस्थित जयेन्दु बालसुधार गृह (आसमानपुर, डुडुवा) मा कानूनी विवादमा परेका बालकहरूका लागि खेलकुद तथा पाठ्य सामग्री सहयोग उपलब्ध गराएको छ। सुधार गृहमा पर्याप्त पाठ्य सामग्री र खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गरेका थिए। सुधार गृह प्रशासन र बालकहरूको संयुक्त अनुरोधपछि फोरमले करिब १७ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका सामग्री उपलब्ध गराएको हो।
सहयोगअन्तर्गत भलिबल, फुटबल, पुस्तक, कापी, कलमलगायतका सामग्री प्रदान गरिएको छ। शैक्षिक सामग्रीमा सामान्य ज्ञानका पुस्तकदेखि धार्मिक पुस्तकसम्म समावेश गरिएको एडभोकेसी फोरमले जनाएको छ। सामग्री हस्तान्तरण कार्यक्रम कानूनी विवादमा परेका बालकहरूको उपस्थितिमा तथा सुधार गृहका जग्गादाता समाजसेवी जयकेस सिंहको रोहबरमा सम्पन्न भएको थियो। कार्यक्रममा एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले जयेन्दु बालसुधार गृहका प्रमुख किशोर शर्मालाई सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सुधार गृह प्रमुख किशोर शर्माले फोरमको सहयोगले बालकहरूलाई पढाइ र मनोरञ्जन दुवैमा सहयोग पुगेको बताए। “यस प्रकारको सहयोगले बालकहरूको दैनिकी सहज बनेको छ र मानसिक रूपमा पनि सकारात्मक प्रभाव परेको छ,” उनले भने। फोरमको सहयोगले सुधार गृह प्रशासनलाई समेत ठूलो राहत मिलेको उनको भनाइ थियो।
पहिलेदेखि बहुआयामिक सहयोग गर्दै आएको फोरम
एडभोकेसी फोरम नेपालले यसअघि पनि सुधार गृहमा रहेका बालकहरूका लागि शिक्षा, स्वास्थ्य, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको जनाएको छ। साथै, शैक्षिक भाषा सिकाइ, कपाल काट्ने (हेयरकट) तालिमलगायतका सीपमूलक तालिमसमेत सञ्चालन गरिएको छ। आर्थिक रूपमा कमजोर र आफैंले कानूनी व्यवसायी राख्न नसक्ने असक्षम पक्षका लागि निःशुल्क कानूनी सहायता पनि फोरमले प्रदान गर्दै आएको छ।






























