खाद्य स्वच्छता तथा खाद्य पदार्थ प्रतिजैविक प्रतिरोध सम्बन्धी अन्तर्क्रिया नेपालगन्जमा भएको छ । कृषि तथा खाद्य संगठन (एफएओ) काठमाण्डौको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा भएको अन्तर्क्रियामा बोल्दै सहभागीहरुले पशु पन्छीहरुमा जथाभावी एन्टीबाईटीकको प्रयोगले समस्या निम्तिएको बताएका थिए ।
बिरामी पशुपन्छीलाई डाक्टरको सल्लाह विनै उपचार गर्ने र अनावश्यक औषधिको प्रयोगले समस्या घट्नुको साटो बढ्दै गएको सहभागीको भनाई थियो । एमआर सम्बन्धी सचेतना अभियान सञ्चालन गर्न सरोकारवाला निकाय बीच समन्वय गर्न पर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर गणेश पुनले बताएका दिए । प्रमुख डा. पुनले पशु पालन गर्ने किसानले सम्बन्धित भेटेरिनरीसंग परामर्श गरेर मात्र औषधिहरू प्रयोग गर्न पर्नेमा जोड दिए । उनले बजार अनुगमनमा गर्दा गर्नपर्ने कारबाही अनुगमनकर्ता लाई अधिकार प्रदान गर्न सके केही मात्रामा सुधार आउने उल्लेख गरे ।
कार्यक्रमका सहभागी तथा भेटेरिनरी अस्पतालका अधिकृत भोजराज रावलले अनुगमन टोलीले दिएको निर्देशन खाद्य व्यवसायीले पालना नगर्ने भेटिएकोले यसमा सुधार ल्याउन मुस्किल देखिएको उल्लेख गरे । कुखुरा व्यवसायी मञ्चका अध्यक्ष धर्मराज पोखरेलले भारतबाट अवैध रुपमा भित्रने कुखुरा तथा माछा दाना र अण्डालाई रोक्न नसक्दा समस्या बढ्दै गएको गुनासो गरे । कार्यक्रममा खाद्यसंग जोडिएको विषयमा गल्ती नगर्न सम्बन्धहरूलाई आग्रह गरिएको थियो ।
खाद्य पदार्थ प्रति जैविक प्रतिरोध प्रति सबैले इमान्दारी पूर्वक कार्य सञ्चालन गरिने जरुरी रहेको बताए । कार्यक्रममा खाद्य वस्तुको स्वच्छता बिगार्ने प्रमुख कारक तत्त्वहरु भौतिक, रसायनिक र जैविक हुन सक्ने हुँदा खाद्य सुरक्षामा गम्भीर बन्न पर्नेमा जोड दिइएको थियो । यसको असर अधिक रुपमा ५ वर्ष मुनिका बालबालिकामा पर्ने तथ्याङ्क रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले जनाए । उनले दूषित खाद्य पदार्थ बिक्री वितरण पूर्ण रुपमा बन्द गरिनुपर्नेमा जोड दिए । न्यून स्तरको खाद्य पदार्थ, ढाटी झुक्काई खाद्य पदार्थ बिक्री गर्ने र लेबल नलगाई खाद्य पदार्थ उत्पादन गर्नेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय कटिबद्ध हुन जरुरी रहेको स्वास्थ्य कार्यालय नेपालगञ्जका केशव ज्ञवालीले जनाए ।
कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा आयोजनाका राष्ट्रिय कार्यक्रम संयोजक डा. साकार सिवाकोटी, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईले सहजीकरण गरेका थिए । अभिमुखिकरणमा कुखुरा व्यवसायी मञ्च, ह्यचरी उद्योग, ठूला कुखुरा व्यवसायी, एग्रोभेट ब्यवसायी, निजी पाराभेट, सरकारी नियमन निकाय, उपभोक्ता हित संरक्षण लगायतको उपस्थिति रहेको थियो ।






























