रुपईडीहा नाका हुँदै आवतजावत गर्ने भारतीय, नेपाली र भूटानी नागरिकलाई यात्री कर नलाग्ने
नेपाल–भारत सीमा अन्तर्गत रुपईडीहा नाकाबाट भारत प्रवेश गर्ने तथा नेपाल र मित्र राष्ट्र भूटानतर्फ आवतजावत गर्ने भारतीय, नेपाली र भूटानी नागरिकलाई कुनै पनि प्रकारको यात्री कर नलाग्ने भएको छ । गृह मन्त्रालयको आदेशअनुसार यी तीन देशबाहेक अन्य तेस्रो मुलुकका नागरिकले भने इमिग्रेशन चेकपोस्ट प्रयोग गर्दा यात्री कर तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
इमिग्रेशन स्रोतका अनुसार, कोरोना महामारीको समयमा बन्द गरिएको भारत–नेपाल इमिग्रेशन चेकपोस्ट पुनः विदेशी नागरिकका लागि सञ्चालनमा ल्याइएको छ । रुपईडीहा नाकाबाट विदेशी नागरिकको आवागमन कोरोना कालदेखि रोकिएको थियो । तर जनवरी महिनाको पहिलो सातादेखि पुनः इमिग्रेशन चेकपोस्ट खुला गरी भारत र नेपाल आवतजावतको व्यवस्था सुचारु गरिएको हो ।
भारतीय पत्रकार एसके मधेसियाका अनुसार, अब तेस्रो मुलुकका नागरिकले इंटीग्रेटेड चेकपोस्ट (आईसीपी) मा सञ्चालित इमिग्रेशन कार्यालयमा आफ्नो नाम दर्ता तथा पासपोर्ट जाँच गराएर भारत तथा नेपाल आवतजावत गर्न सक्नेछन् । यससँगै कोरोना महामारीअघिको जस्तै व्यवस्था पुनः लागू भएको इमिग्रेशन कार्यालयले जनाएको छ ।
‘भारत, नेपाल र मित्र राष्ट्र भूटानबाहेक अन्य देशका नागरिकले मात्र इमिग्रेशन चेकपोस्टमार्फत भारत वा नेपाल प्रवेश गर्दा यात्री कर तिर्नुपर्नेछ,’ पत्रकार मधेसियाले दैनिक नेपालगन्जसँग भने । सर्वसाधारण भारतीय, नेपाली र भूटानी नागरिकले भने आईसीपी वा रुपईडीहाको एसएसबी चेकपोस्टमार्फत आवतजावत गर्दा कुनै पनि प्रकारको यात्री कर तिर्नुपर्ने छैन ।
भारत सरकारले भारत–नेपाल सीमाका एकीकृत चेकपोस्ट हुँदै आवतजावत गर्ने यात्रुका लागि यात्रु कर सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । भारतको गृह मन्त्रालय अन्तर्गतको ल्याण्डपोर्ट अथोरिटी अफ इन्डियाले जारी गरेको सूचनाअनुसार भारत, नेपाल र भूटानका नागरिकलाई भारत प्रवेश वा नेपाल–भूटान यात्रा गर्दा कुनै पनि यात्रु कर लाग्ने छैन ।
ल्याण्डपोर्ट अथोरिटी अफ इन्डियाले सीमा क्षेत्रमा यात्रुका लागि आधुनिक पूर्वाधार, प्रतिक्षालय, पार्किङ, ब्यागेज स्क्यानर, सुरक्षा, खानेपानी, शौचालय, सूचना सेवा लगायत सुविधा विकास तथा सञ्चालनमा ठूलो लगानी गर्दै आएको उल्लेख गरेको छ । ती सुविधाको दिगो सञ्चालनका लागि कानुनी व्यवस्था अनुसार यात्रु युजर चार्ज तोकिएको हो ।
तर, भारत–नेपाल सीमा प्रयोग गर्ने भारतीय र नेपाली नागरिकलाई भने पूर्ण रूपमा शुल्क छुट दिइएको छ । त्यस्तै भारत–भूटान सीमा प्रयोग गर्ने भारतीय र भूटानी नागरिकले पनि कुनै शुल्क तिर्नु नपर्ने स्पष्ट गरिएको छ ।
नयाँ व्यवस्था अनुसार भारत र नेपाल बाहेक तेस्रो मुलुकका नागरिकले मात्र ल्याण्डपोर्ट प्रयोग गर्दा यात्रु युजर चार्ज तिर्नुपर्नेछ । शुल्क नगद, क्यूआर कोड÷यूपिआई वा कार्डमार्फत संकलन गरिने र आधिकारिक निकाय वा बैंकमार्फत मात्र उठाइने व्यवस्था गरिएको छ । बालबालिकाका हकमा समेत छुटको व्यवस्था गरिएको छ । १० वर्षमुनिका बालबालिकाबाट सीमित शुल्क मात्र लिने वा निश्चित नाकामा पूर्ण छुट दिने प्रावधान राखिएको छ । साथै, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सुरक्षा निकाय, सरकारी प्रतिनिधि लगायतका लागि अलग्गै छुट सूचीसमेत तोकिएको छ ।
यस व्यवस्थाले भारत–नेपाल सीमामा दैनिक आवतजावत गर्ने सर्वसाधारण नागरिकलाई थप आर्थिक बोझ नपर्ने स्पष्ट भएको छ । नेपालगन्ज–रुपैडिहा जस्ता सीमावर्ती नाकाबाट हुने आवागमन सहज रहँदै तेस्रो मुलुकका नागरिकको निगरानी र व्यवस्थापनलाई भने थप व्यवस्थित बनाउने अपेक्षा गरिएको पत्रकार मधेसियाले बताए ।































