बाँकेको कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पतालले पत्रकार र उनका परिवारको उपचार छुट गर्ने भएको छ । अस्पतालसँग नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले गरेको एउटा सम्झौताका आधारमा अस्पतालले युनियनका सदस्य तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने भएको हो ।
उक्त सम्झौता अनुसार नेपाल प्रेस युनियनमा आबद्ध सम्पूर्ण सदस्य र युनियनको सिफारिसमा उपचारका लागि आउने व्यक्ति तथा उनका परिवारले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन् ।
सो सम्झौतामा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र बहादुर महतो र नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका तर्फबाट वरिष्ठ उपाध्यक्ष जय सिंह के.सीले हस्ताक्षर गरेका हुन् । दुवै पक्षले आपसी सहकार्य, समन्वय र प्रतिबद्धतासहित सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जुन सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू भई दुई वर्षसम्म मान्य रहने उल्लेख छ ।
‘यसले पत्रकार र उनीहरूको परिवारलाई सहज, सुलभ तथा किफायती रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको’ वरिष्ठ उपाध्यक्ष केसीले बताए । सम्झौता अनुसार, अस्पतालले प्रयोगशाला, एमआरआई, एक्स–रे, ईसीजी, डेन्टल विभागलगायत सेवामा २५ प्रतिशत छुट दिनेछ ।
छुट सुविधा लिनका लागि युनियनको परिचयपत्र वा युनियनको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।






























