बाँकेका तालतलैया, सिमसार, जलाशय तथा नदी क्षेत्रमा पानीमा आश्रित जलपन्छीको वार्षिक गणना सुरु गरिएको छ । मङ्गलबारदेखि सुरु भएको गणना बुधबार पनि भइरहेको हो । राप्ती नदी तटीय क्षेत्र, तालतलैया तथा नेपालगन्जस्थित कान्ति तालमा गणना भइरहेको नेपाल पन्छी संरक्षण संघले जनाएको छ ।
हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि गरिने यस गणनाबाट जलपन्छीको प्रजाति, संख्या, अवस्था तथा सिमसार क्षेत्रको स्वास्थ्यबारे तथ्याङ्क संकलन गरिन्छ । जाडो याममा उत्तरी क्षेत्रबाट बसाइँसराइ गरी नेपाल आउने आगन्तुक जलपन्छी—विशेषतः हाँस प्रजाति—को अवस्थामाथि विशेष ध्यान दिइन्छ ।
नेपालभर ८० भन्दा बढी सिमसार क्षेत्रमा चार सयभन्दा बढी स्वयंसेवक सहभागी गणनाबाट प्राप्त तथ्याङ्क सरकारलाई बुझाइनेछ, जसले चरा संरक्षण, सिमसार व्यवस्थापन र नीतिनिर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । बाँकेको कान्ति तालमा संरक्षण सूचीमा परेको सारससहित विभिन्न जलपन्छी पाइने उल्लेख गरिएको छ ।
