बन्न शुरु भयो वैकुण्ठधाममा पूर्वाधार

बाँके डुडुवास्थित राप्ती नदीको किनारामा बैकुण्ठधाम सिधनियाघाटका लागि आवश्यक पूर्वाधार निर्माण शुभारम्भ गरिएको छ ।

नेपालगन्ज र यस वरपरका हिन्दुधर्माबलम्बीहरुको दाह संस्कार हुने प्रमुख घाट राप्ती नदी किनाराको सिधनिया घाट व्यवस्थित घाट निर्माणका लागि आवश्यक पूर्वाधार कार्य शुभारम्भ गरिएको हो ।

विहीवार माघे संक्रान्तिको पावन अवसर पारेर सिधनिया घाटको अस्तब्यस्त अवस्था सुर्धानका लागि पहल लिएका नेपालगन्जका नागरिक समाजका अगुवाहरुलेनै बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि सामूहिक शुभारम्भ गरेका हुन् । बैकुण्ठधामका संस्थापक अध्यक्ष डा. सुरेश कुमार कनोडिया, उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सचिव श्रीराम सिग्देल, सह–सचिव राकेश मिश्र, कोषाध्यक्ष सशी स्वाँर, सदस्य डा. केदार अग्रवाल, डा. बद्री चापागाईं, कमल कार्की, उदय यादब लगायतले सामुहिक शुभारम्भ गरेका हुन् । ‘आजदेखि देखि विधिवत् रूपमा राप्ती नदीतटमा वैकुण्ठधाम सिधनियाघाटको पूर्वाधार निर्माण कार्य शुरु भएको छ,’ सचिव सिग्देलले भने ।

त्यसका लागि नदी किनारको करिब १४ कठ्ठा जग्गा किनेर बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि जनस्तरबाटै सहयोग जुटाएर नयाँ र ब्यवस्थित घाट निर्माणदेखि पार्क निर्माणसम्मको योजना अगाडी बढको हो ।

आफ्नो मृत्यु सहज र दाहसंस्कार पनि सम्मानजनक होस् भन्ने चाहना गर्नेहरुका बीचमा घाटको अवस्थामा सुधार गर्नुपर्छ भनेर वर्षाैदेखि चर्चा हुँदै आएको थियो । ब्यवस्थित घाट निर्माणका लागि बैकुण्ठधाम सिधनियाघाट निर्माणको योजना बनाइएपछि वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेललाई मूल वाचकका रूपमा राखेर गतवर्ष कार्तिकको २२ देखि ३० गतेसम्म महायज्ञ गरियो ।

महायज्ञबाट प्राप्त सहयोग र व्यापक जनसमर्थनपछि घाटसँगै विशाल आध्यामिक केन्द्र निर्माण गर्ने गरी अगाडि बढेको समितिले बैकुण्ठधाम सिधनियाघाटलाई एक सुव्यवस्थित तथा सुविधायुक्त शवदाह गृहस्थलको रुपमा विकास गरी पार्क, मन्दिर तथा अन्य पर्यटकीय महत्वका संरचनासमेत निर्माण गर्ने डिपीआर तयार गरेको छ । पितृको मृत्यु कर्म, सोह्र श्राद्ध कर्म, आत्म शान्तिका कर्मकाण्ड सम्पन्न गर्ने आध्यात्मिकस्थल साथै ध्यान तथा योग केन्द्र विकास गरी आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको समितिका सदस्य डा. बद्री चापागाइको भनाइ छ ।

सचिव सिग्देलका अनुसार, निर्माण कार्य शुभारम्भसँगै ठेक्काको जिम्मा पाएको कम्पनिले काम अगाडी बढाएको छ । ‘यो वर्ष सरकारबाट प्राप्त झण्डै डेढकरोडबढीको काम अगाडी बढेको छ,’ सचिव सिग्देलले भने, ‘लगत्तै सरकारले छुट्याएको तीन करोडको टेण्डर खुल्ने प्रतिबद्धता आइसकेको छ ।’

Exit mobile version