बाँके जिल्लाको नेपालगन्ज क्षेत्रमा यात्रुहरुलाई तानातान गर्ने तथा दुख–हैरानी दिने कार्यमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार बसपार्क, धम्बोझी, पुष्पलाल चोक तथा वाटरपार्क क्षेत्र लगायतका स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले यात्रुहरुलाई जबर्जस्ती तान्ने, गाडी चढाउन दबाब दिने तथा अनावश्यक हैरानी दिने जस्ता गतिविधि गर्दै आएका थिए । यसरी सार्वजनिक स्थानमा यात्रुहरुलाई असुविधा हुने गतिविधि बढेपछि प्रहरीले विशेष निगरानी गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकामध्ये बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेत जिल्लाका व्यक्तिहरु रहेका छन् । उनीहरूमाथि आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन् ।
