वैकल्पिक राजनीतिक मार्गको आह्वान
दैनिक नेपालगन्ज
स्वतन्त्र संयुक्त जनसरकार र जनसंविधानको पक्षमा बाँकेको नेपालगन्जमा ‘औचित्यहीन संसदीय निर्वाचनमाथि बहिष्कार’ विषयक संयुक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
विभिन्न वामपन्थी दल, नागरिक समाज, बुद्धिजीवी तथा मूलधारका राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा शुुक्रवार नेपालगन्जमा आयोजित कार्यक्रममा विषयगत अवधारणा पत्र प्रस्तुत गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य दीपकबहादुर शाहीले ‘वर्तमान सरकारले गराउने निर्वाचनको औचित्व नरहेको’ टिप्पणी गरे । कार्यक्रमको अध्यक्षतासमेत गरेका शाहीले बहसको विषय प्रवेश गराए ।
कार्यक्रमका प्रमुख अतिथि समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्ण सिंह रहेका थिए भने विशेष अतिथि नरेन्द्रजंग पिटर थिए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव सुधाँशु कोइराला, नेकपा एमालेका प्रतिनिधि कृष्ण प्रसाद श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीकी प्रतिनिधि करिश्मा कुमारी योगी, नेमकिपाका पदम शाही, समाजवादी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अशोक सुवेदी, नेकपा (बहुमत) का कृष्ण शाहले आफ्ना धारणा राखे ।
प्रगतिशील लेखक संघका केन्द्रीय सचिव डा. हरि तिमिल्सिना, प्राध्यापक कमनसिंह बोहोरा, लेखक जितबहादुर शाह, बासका कार्यकारी निर्देशक नमस्कार शाह, जनप्रतिनिधि धनिराम वली लगायतले पनि धारणा राखेको कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमा वर्तमान संसदीय निर्वाचन प्रणाली जनताको वास्तविक प्रतिनिधित्व गर्न असफल भएको दाबी गरिएको छ । ‘वक्ताहरूले हालको राजनीतिक व्यवस्था दलाल पुँजीपति र शक्ति केन्द्रको हितमा केन्द्रित रहेको आरोप लगाउँदै यही प्रणालीमार्फत हुने निर्वाचनले जनताको समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकाले,’ आयोजक संयुक्त केन्द्रीय संघर्ष समितिको दाव िछ ।
कतिपय वक्ताहरूले भने फागुन २१ मा तय गरिएको निर्वाचनलाई ‘औचित्यहीन’ ठहर गर्दै त्यसको बहिष्कार नै ऐतिहासिक जिम्मेवारी भएको धारणा राखे । ‘जनताको वास्तविक सार्वभौमिकता सुनिश्चित गर्न स्वतन्त्र संयुक्त जनसरकार र जनसंविधान अपरिहार्य रहेको उनीहरूको निष्कर्ष थियो,’ अवधारणा पत्रका प्रस्तोता शाहीले भने ।
कार्यक्रममा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले लगायत मूलधारका दलका प्रतिनिधिहरूले पनि अवधारणा पत्रमा उठाइएका कतिपय विषयमा सहमति जनाउँदै बहस ढिला भए पनि यस्ता संवाद आवश्यक रहेको बताएका थिए । उनीहरूले निर्वाचन नजिक आएकाले तत्काल विकल्प खोज्न कठिन भए पनि वैकल्पिक राजनीतिक बहस अपरिहार्य भएको धारणा राखे ।
कार्यक्रमले वैकल्पिक राजनीतिक मार्ग, निर्वाचन प्रणालीमाथिको गहिरो पुनर्विचार र व्यापक राष्ट्रिय बहसको आवश्यकता औँल्याउँदै सफल भएको आयोजकले जनाएका छन् । कार्यक्रमको सञ्चालन विष्णु परियारले गरेका थिए भने स्वागत मन्तव्य सोही क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्य गुणानिधि आचार्यले व्यक्त गरेका थिए ।































