१५ वर्षसम्म निरन्तर हरेक वर्ष औषधी खुवाउँदा पनि अपेक्षित सफलता हासिल हुन नसकेपछि बाँके जिल्लामा बिहीबारदेखि हात्तीपाइले रोगविरुद्ध १६औँ पटकको आम औषधी सेवन अभियान सुरु गरिएको छ । औषधी सेवन गर्नेको दर न्यून रहेकाले नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको एउटा वडामा पुनः अभियान सञ्चालन गरिएको हो ।स्वास्थ्य कार्यालय बाँकेका अनुसार, १६औँ पटकको अभियान बिहीबार नरैनापुर गाउँपालिकाबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ । कार्यालय प्रमुख सुनिता पौडेलले हात्तीपाइले निवारणका लागि लक्षित जनसंख्याको सहभागिता अझै पनि ८० प्रतिशत नपुगेकाले अभियान दोहोर्याउनुपरेको बताइन् ।नेपालगन्ज उपमहानगरपालिकामा बैजनाथमा माघ १२ गतेदेखि अभियान सञ्चालन गरिने जनाइएको छ ।यसपटकको अभियानमार्फत नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९, नेपालगन्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ र डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । अभियान सञ्चालनका लागि ४५ लाख रुपियाँभन्दा बढी बजेट खर्च हुने जनाइएको छ ।अभियानको उद्घाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले स्वयं औषधी सेवन गर्दै सबै नागरिकलाई अनिवार्य रूपमा औषधी खान आग्रह गरे । ‘अब १७औँ पटक अभियान दोहोरिन नदिन सबैले जिम्मेवारीपूर्वक औषधी सेवन गर्न आवश्यक छ,’ उनले भने ।स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा औषधी सेवन नगर्नेहरू मध्ये ३३.२८ प्रतिशतले प्रतिअसरको डर र ३२.५३ प्रतिशतले जानकारीको अभावका कारण औषधी नखाएको पाइएको छ । प्रभावकारी अभियान शुरु गर्दै डुडुवाबाँकेको डुडुवामा १६ औँ पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन आवश्यक तयारी गरिएको छ ।डुडुवा गाउँपालिका स्वास्थ शाखा प्रमुख सिताराम चौधरीले शुक्रवारदेखि १० दिनसम्म डुडुवामा १६ औँ हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियान सञ्चालन गरिन लागेको जानकारी दिए । उनले यसपटकको अभियानलाई प्रभावकारी बनाउन दिनभर र साँझसमेत स्वास्थ्यकर्मीहरु घरदैलो गर्ने बताए ।‘टोलटोलमै पुगेर जहाँ समस्या हुन्छ, त्यहीँ प्रवुद्ध व्यक्तित्वलाई उभ्याएर सम्झाउने बुझाउने काम गरिनेछ,’ स्वास्थ्य सेवामा अगाडी रहेको डुडुवा हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानको असफलताले नराम्रो छाप पारेकोमा दुखी हुँदै भने, ‘यसपटक ८० प्रतिशतमा कभरेज पुर्याउनै पर्छ ।’बिहीवार डुडुवामा पालिकास्तरीय हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानको अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम गरिएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारणका लागि भइरहेका प्रयासमा सामुहिक पहलको खाँचो औलाइ । ‘अब समाज पुरै जिम्मेवार हुन आवश्यक छ,’ महतोले भने ।डुडुवामा वडा नम्बर २ सबैभन्दा जोखिमको अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ । त्यही वडामा पालिका अध्यक्ष नरेन्द्र चौधरीको पनि बसोबास छ । वडाध्यक्षनै गोष्ठीमा उपस्थित नहुँदा कर्तव्यबोध हुन नसकेको टिप्पणी कार्यक्रममा सहभागीको थियो ।‘५० प्रतिशतमात्रै कभरेज देखिन्छ,’ वडा नम्बर २ को अवस्थामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले चिन्ता गर्दै भने, ‘जनप्रतिनिधि निकै जिम्मेवार भएर यस अभियानलाई सफल बनाउनुपर्छ ।’जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले आफ्नै वडामा १६ औँ पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियान चलाउनु परेकोमा दुख व्यक्त गरे । ‘म जिम्मेवार छु, तपाईहरुसँग हातेमालो गरेरै यो अभियानलाई सफल बनाउन लागिपर्छु,’ चौधरीले भने ।डुडुवा – ३ का वडाध्यक्ष आमोद तिवारीले आफ्नो वडामा १६ औँ पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानलाई सफल बनाउने गरि परिचालित हुने प्रतिबद्धता जनाए ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले बाँकेका दुई जनामा संक्रमण भेटिएपछि बैदेशिक रोजगारीबाट फिर्ता हुनु परेको तथ्य गोष्ठीमा सुनाए । उनका अनुसार, डुडुवामामात्रै पछिल्लो सर्वेक्षणमा ८ जना संक्रमित भेटिएकोमा ६ जना संक्रमित डुडुवा – ६ का मात्रै छन् ।‘अब त बैदेशिक रोजगारीका लागि पनि अनफिट हुनुपर्ने अवस्था आउनसक्छ, लाखौं खर्च गरेर विदेश पुगेर फर्किनुप¥यो भने के होला ?,’ महतोले समस्या बढ्दै गएको औल्याउँदै भने, ‘सरकारले घरदैलोमै औषधी सेवन गराउँदा किन नखाने ?’ घरछिमेककाले नखाँदा औषधी खाएको आफुपनि संक्रमणको जोखिममा पर्ने भएकाले एकअर्काको निगरानी र प्रोत्साहन आवश्यक भएको उनले बताए ।
बाँकेमा १६औँ पटक हात्तीपाइले विरुद्ध अभियान
- Dainik Nepalgunj

- Categories: News
Related Content
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
by
Dainik Nepalgunj
April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस
by
Dainik Nepalgunj
April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत
by
Dainik Nepalgunj
April 3, 2026
बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच
by
Dainik Nepalgunj
April 3, 2026
हाइसको ठक्करबाट बालकको मृत्यु
by
Dainik Nepalgunj
April 3, 2026