राष्ट्रोदय होइन व्यक्ति उदय क्रान्ति भएकै छ

संसारमा कुनैपनि कारणले पपुलर बनेको व्यक्ति राजनीतिमा आउने र जनताले कुनै काल्पनिक कथानकमा अभिनय गर्ने अभनिेताको पर्दामा हुने तिसमार्खेइँ झैं देशमा पनि सबथोक उसैले गर्नसक्छ भन्ने भ्रम बिभिन्न देशमा चलेको छ । भारत पाकिस्तान बंग्लादेश देखि पछिल्लो समय नेपालमा पनि त्यस्तै तिसमार्खाहरूको बिगबिगी चलेको देखिन्छ । यस्ताले देश कति बनाउँछन् या बनाउँदैनन् भन्ने कुरा हाम्रा छिमेकी देशमा नदेखिएको होइन । तिनीहरूले कति राष्ट्रोदय गरे या व्यक्ति उदय मात्रै भए र राष्ट्रलाई अस्थिर मात्रै गरे भन्ने कुरा हामीले बुझ्न भन्दा पनि आफै अनुभव गरेर भोग्न तयार भएका छौं । कतै न कतै यसलाई पनि क्रान्ति भनेर अलाप गरिरहेका छौं ।

नेपालमा सबैभन्दा प्रचलित शब्द कुनै छ भने त्यो हो क्रान्ति । यहाँ हरेक कुरामा क्रान्ति भन्ने शब्द जोडिन्छ । देश जलाउने, देशमा बमबारुद चलाउने, देशको अस्मिता बेच्ने, देशको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता सबैथोक बेच्ने मास्ने र लत्याउने सबै कार्य जो जो नेपालको मुल परम्परा भन्दा भिन्न कार्य कुकार्यहरू जे जे हुने गर्छन् ती सबैलाई प्रगतिशीलता र क्रान्ति भन्ने नेपाली राजनीति र नेपालका बुद्धिबिलासकहरूको प्रचलन जस्तो बनेको छ । गर्दा गर्दा यहाँसम्म हुन थालेको छ कि मात्रै एउटा लोकतान्त्रिक सरकारलाई अपदस्त गर्नैका लागि देशभर आगो लगाइन्छ त्यो देशको सरकारी नीजि र सार्वजनिक सम्पत्तिमा आगो लगाइन्छ, उद्यम गर्नेलाई अपमानित गरिन्छ र उसको सम्पत्ति जलाइन्छ लुटिन्छ अनि त्यसलाई पनि क्रान्तिको भ्रान्ति भनेर ठूला कुरा गर्ने गरिन्छ । यहि चलन नेपालमा आएको छ । यी सबै क्रियाकलापमा न कुनै राजनेता हुन्छ, न नीति र नैतिकता हुन्छ, न कुनै पनि कुनामा देशको माया र देशको अम्मिता ऐतिहासिकताको हेक्का हुन्छ न राष्ट्रोदयको कुनै छनक हुन्छ तर पनि त्यो क्रान्ति हुने गरेको छ । यस्तै कथित क्रान्ति भएको छ गत भदौमा र त्यहि क्रान्तिले एउटा जनप्रतिनिधिमूलक संस्था मात्रै होइन यसका सबै भौतिक ऐतिहासिक अवयहरू समेत जलाएर फेरि नयाँ जनादेशको लागि चुनावमा हामी होमिएका छौं ।

आज वसन्त पञ्चमी । नेपाली परम्परा अनुसार आजबाट हिउँद सकिन्छ र बर्षा लाग्छ । खेतबारी र माटोसँगको सम्बन्ध जोडिन्छ । नेपाली मौलिकताको विशेष दिनको रूपमा आज देशमा र शैक्षिक क्षेत्रमा यो पर्व मनाउँदै गर्दा राज्य सञ्चालकहरू र क्रान्तिका उपजहरूको दिलोदिमागमा भने यस्ता पर्वलाई अपमान गरेर नेपाली मौलिकताको तेजोबध गर्नमा अर्को क्रान्तिकारिता देखिने गरेको छ । यसपटक भने चुनाव र भोट राजनीतिले दाँत ङिच्याएर हात जोड्दै प्रसादै खान पुगे भने नौलो नमाने हुन्छ ।

चुनावको माहौल छ । देशमा नयाँ नयाँ गैर राजनीतिक चरित्र भएका तर राजनीतिक कर्म गर्न निस्केका चतुरेहरूको निकै हल्लिखल्ली छलेको छ । देशको मूल समस्या कहाँ छ ? बिग्रेको कुन ठाउँमा हो ? देशका मूल समस्याको जरो कता छ र त्यसको निराकरणको उपाय के हो ? भन्ने बारेमा निकासका शुत्रहरू यो चुनावमा मुद्दा नै छैन । छ त केवल सोलोडोलो समस्या पस्किने काम छ । अमुक व्यक्तिको वैयत्तिक रिसराग छ, कसैलाई देखाइदिने, सिध्याइदिने हुटहुटीमा उसको चटके छविलाई भजाएर सत्ताको मझेरीमा कसरी पुग्ने भन्ने अर्को क्रान्तिको भ्रान्ति मात्रै छ ।

देशको मुल कुलप्रति बेवास्ता छ । दिइएको काम कर्तव्यको बेवास्ता छ । जनादेशको बेवास्ता छ । जनादेशलाई आफ्नो पकेटको मर्जी मान्ने चरित्रमा कुनै परिवर्तन नै छैन । समाजमा जुनसुकै काममा नाम कमाएपनि ख्याति कमाएपनि त्यसको अन्तिम मुकाम राजनीति र सत्ताको मझेरीतिर सोझिएको छ । जीवनभर अरू जे जे गरेपनि राजनीतिको ताजपोसी बिना कासी पुगिन्न भन्ने चटारो छ । अनि फेरि चुनाव हुने र नयाँ प्रतिनिधि आउने बाटोमा देश गएको छ ।

यो चुनावमा देश कतैपनि देखिने छैन । देशको अस्मिताको रक्षाका कुरा क्रान्तिकारितामा पर्ने छैन । पर्ने छ त मात्रै ‘फलानोलाई देखाइदिनेछु, ढिस्कानोलाई रसातलमा पुर्याइदिने छु । फलानोको पार्टी गुट सक्दिनेछु । फलानाले चोरेको मैले अलिकति चोरेर के भयो र मलाई त छूट हुनुपर्छ, मेरो ढिस्कानालाई अन्याय भएको छ उसलाई माफि गरिनुपर्छ ।’ आदि इत्यादि मात्रै यो चुनावका मुल मुद्दा बन्ने देखिएको छ । यहाँ कहिँ कतै राष्ट्रोदयका कुरा छैनन् । राष्ट्रोदयको क्रान्तिका कुरा छैनन् । देश र जनताका कुरा छैनन् ।

हिजोको ब्याज खानैका लागि मात्रै राजनीतिक वाद सिद्धान्त र विचार सबथोक मरेको देश हो नेपाल । आफु र आफ्ना आसेपासे हुक्के बैठके ढोके चौकेहरूको हितको लागि मात्रै काम गरेर त्यसैलाई राष्ट्रको सेवा गरेको बखान गर्नेहरूको गठबन्धन भत्किनुलाई भने यसपटको चुनावको खास बिशेषता भन्नुपर्ला जस्तो छ । यो चुनावले राष्ट्रोदय त होला नहोला तर नेपालको लोकतन्त्रमा नयाँ इँटा भने पक्का थपिने छ भन्नै पर्छ ।

लोकतान्त्रिक चरित्र इतरको निर्वाचन अगावै सबथोक भागबण्डा गर्ने प्रचलनले नेपालका कुन पार्टीको वास्तविक हैसियत कति हो भन्ने नै आँकलन हुन छोडिसकेको थियो । जनताले कसलाईं कति पत्याएका हुन र कुन पार्टीको चुनावी वाचा वा कुन अनुहारलाई चुनेका हुन भन्ने कुराको यसपटकको चुनावले भने प्रष्ट पार्नेछ । यसपटक चुनाव अवागै भागबण्डा गरेर सिण्डिकेट खडा गर्ने कामको अन्त्य भएको छ । यसले हरेक पार्टीलाई पढ्न्े बुझ्ने् र तीनका कार्यकर्ताले आफ्नै पार्टीको उम्मेदवार छान्ने मौका पाउने छन् ।

हुन त नेपालको चुनाव भनेको गर्न नसकिने, देशको श्रोतले नभ्याउने बाचाहरू गरेर भ्रम छर्ने र जित्ने खेल झैं भएको छ । यसमा यसपटक झन व्यत्तिगत रिसराग र प्रतिशोधले भरिपूर्ण चुनाव हुँदैछ । राष्ट्रका समस्या र मुलभूत कुराहरू सबै गौण राखेर कसैले आफ्नो उपस्थितिको औचित्य पुष्ट्याइँ गर्नुछ भने कसैले हिजोको भागबण्डा गलत थिएन भन्ने पुष्ट्याइँ गर्नु छ त कसैलाई आफ्ना भितरिया करतूतहरू आर्थिक हिनामिनाका कथाहरूलाई सच्याउन, र सोख्याउनु छ । विधि र पद्धतिका कुरा, नीति र नैतिकताका कुरा, राष्ट्र रहने र नरहने कुरा, लोकतन्त्रका कुरा, देशबासिको मौलिकता, धर्म सँस्कृति र परम्पराको रक्षाका कुरा, भौगोलिक अखण्डताका कुरा, देशको सीमाका कुरा, विदेशनीति, कुटनीति, कृषि र अर्थनीतिका कुरा, देशको सर्र्वाङ्गिण र दिगो विकासका कुरा यो चुनावका खासै मुद्दा हुने छैनन् । तर पनि नेपालीजनलाई गर्व छ हामी पटकपटक क्रान्ति गरेका छौं, देश भत्काएका छौं, समाज बाँडेर नैतिका भाँडेर, परधर्मको खतीउपती गरेर, आफ्नो इतिहास र भूगोललाई गाली गरेर अर्काको दावेदारी गर्दै राष्ट्र बनाउने सपनाका ठेकेदारहरू चुनिरहेका छौं र फेरि पनि चुन्दै जाने नै छौं ।
वसन्तीपञ्चमी, सरस्वती पूजाको सबैलाई शुभकामना !

Exit mobile version