दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको हो ।प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गर्नुभएको छ । लुम्बिनी प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीन जना राष्ट्रियसभा सदस्य निर्वाचित गरिनेछ ।तीन सिटका लागि आठ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेस–एमाले गठबन्धनबाट तीन जना, नेपाली कम्युनिष्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेदवारी दर्ता भएको हो ।कांग्रेस र एमालेबीच तालमेल गरी उम्मेदवारी दर्ता गरिएको छ । गठबन्धन अनुसार एमालेको भागमा महिला कोटा परेको छ भने कांग्रेसलाई अपांगता तथा अन्य समूहको कोटा परेको छ । यसअनुसार एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्री महिला कोटाबाट उम्मेदवार रहनुभएको छ ।कांग्रेसबाट अपांगता कोटामा दाङको लमही नगरपालिका–२ का बासुदेव घिमिरे र अन्य समूहको कोटामा गुल्मीको रेसुङ्गा नगरपालिका–३ का चन्द्रबहादुर केसी उम्मेदवार रहनुभएको छ ।नेपाली कम्युनिष्ट पार्टीले पनि तीनै कोटामा उम्मेदवारी दर्ता गराएको छ । महिला कोटाबाट पाल्पाको बराङ्दी गाउँपालिका–१ की दुर्गाकुमारी भण्डारी, अपांगता कोटाबाट बाँकेको बैजनाथ गाउँपालिका–५ का सर्जन विक र अन्य समूहबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१४ का बृहस्पति अधिकारी चुनावी मैदानमा रहनुभएको छ । राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य समूहमा उम्मेदवारी परेको छ । महिला कोटामा प्युठान नगरपालिका–८ की पद्मा पण्डित र अन्य समूहमा प्युठानको मल्लरानी गाउँपालिका–२ का बोमबहादुर खत्री उम्मेदवार रहनुभएको छ ।हाल एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते सकिँदैछ । भट्टराई अन्य समूह, घिमिरे महिला र शर्मा अपांगता कोटाबाट निर्वाचित हुनुभएको थियो ।लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २ सय १७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय जना मतदाता रहेका छन् ।
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
by
Dainik Nepalgunj
April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस
by
Dainik Nepalgunj
April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत
by
Dainik Nepalgunj
April 3, 2026
बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच
by
Dainik Nepalgunj
April 3, 2026
हाइसको ठक्करबाट बालकको मृत्यु
by
Dainik Nepalgunj
April 3, 2026