हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ । जनवरी २६ तारिखका दिन भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज सोमबार नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाइन्छ । नेपालगन्ज भन्सार कार्यालयले पनि सचेतनाका दिवसका अवसरमा सचेतनामूलक कार्यक्रमहरू गरेको छ ।
नेपाल–भारत सीमाको जमुनाहमा अहिले सुविधा सम्पन्न एकीकृत जाँच चौकी (आइसीपी) सञ्चालनमा छ । आइसीपी सञ्चालनमा आएपछि जमुनाह नाकामा अहिले भीड व्यवस्थापन भएको छ । आइसीपी नहुँदा सडकमै भारतबाट भित्रिएका मालवाहक गाडी पार्किङ्ग गर्नुपथ्र्यो भने सुरक्षाको पनि जोखिम थियो ।
‘आइसीपी निर्माण भएपछि मालवाहक सवारीसाधन आवातजावत गर्न तथा भन्सार प्रक्रिया सहज भएको छ’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ भन्छन्, ‘भन्सारका सबै काम एउटै ठाउँबाट हुँदा सहज भएपनि त्यसले आयात, निर्यातकर्ताको लागत भने बढाएको छ, आइसीपीमा थप शुल्क तिर्नु परिरहेको छ ।’
दुवै देशको भन्सार एकैठाउँमा हुँदा भारतबाट प्रक्रिया पुर्याएर सिधै नेपालको भन्सारमा मालवाहक सवारीसाधन प्रवेश गर्छन् । सुविधासम्पन्न र सुरक्षित पार्किङ्गका कारण कर्मचारीहरू पनि रेखदेखमा खटिर्नुपर्ने बाध्यता हटेको छ ।
आइसीपीका अधिकारीहरू सुविधा थपिंदा त्यस वापत शुल्क बढेपनि आयातकर्ताले पहिले जस्तो झन्झट ब्यहोर्नु नपरेको बताउँछन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाट जमुनाह नाकालाई थप व्यवस्थित गर्न आवश्यक रहेको बताउँछन् । ‘नाकामा सीमापारी जस्तै स्क्यानर मेसिन राखे आवातजावत गर्ने यात्रुहरूलाई पनि सहज हुन्थ्यो भने मालसामान चेकजाँच र रेकर्ड राख्ने कार्य पनि सहज हुन्थ्यो’, उनी भन्छन्, ‘तर, धेरै प्रयास गर्दा पनि त्यो अझै सफल हुन सकेको छैन ।’
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल आइसीसी बनेपछि आयातकर्ता पहिले भन्दा सन्तुष्ट रहेको बताउँछन् । ‘अब जमुनाह नाकामा जस्तो भीडभाड छैन आइसीपीमा, खुला ठाउँ छ, सुविधा सम्पन्न बाइपास रोड छ’, उनले भने, ‘मालवाहक सवारी आइसीपीबाट आवातजावत गर्दा जमुनाह नाकामा हुने भीडभाड कम हुँदा त्यहाँबाट आवातजावत गर्ने यात्रुहरूलाई पनि सहज भएको छ ।’ उनले आयातकर्ताले आइसीपीको प्रयोग गर्दा चार्ज बढी भएको गुनासो गरेको उल्लेख गर्दै त्यसबारे मालवाहकको किसिम अनुसारको दररेट व्यवस्था गर्न इन्टर मोडेल यातायात विकास समितिलाई सुझाव दिएको जानकारी दिए ।































