विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको अवस्थाबारे सरोकारवालासँग विज्ञापन बोर्डले उपभोक्ता हित संरक्षण मञ्च नेपालको समन्वयमा सोमवार नेपालगन्जमा अन्तक्र्रिया गरेको छ ।
विज्ञापन नियमनमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा उपभोक्तामैत्री विज्ञापन हुनुपर्नेमा जोड दिंदै भ्रामक र अनियन्त्रित विज्ञापनले उपभोक्ता र मिडियामा नकारात्मक असर पारिरहेको धारणा व्यक्त गरिएको थियो ।
त्यसको नियन्त्रणका लागि सरोकारवाला गम्भीर र संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याइएको कार्यक्रममा विज्ञापन नियमनमा पनि जोड दिइएको छ ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बोर्डको अधिकार प्रयोग गरेर स्थानीय तहले काम गर्न सक्ने उल्लेख गर्दै जथाभावी रुपमा प्रयोग भएको होर्डिङ बोर्डले सहरी सौन्दर्यकरण बिगारेको बताए । अध्यक्ष हुमागाईले उपभोक्ता हितलाई केन्द्रमा राखेर विज्ञापन नियमन गर्नुपर्ने भन्दै भ्रामक विज्ञापनप्रति कडा निगरानी आवश्यक रहेको बताए । उनले भ्रामक तथा अनियन्त्रित विज्ञापनले उपभोक्ता र सञ्चार माध्यम दुवैलाई असर गर्ने भएकोले नियमित अनुगमन जरुरी रहेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले विज्ञापनले समाजमा पार्ने प्रभावलाई ध्यानमा राख्दै कानुन अनुसार मात्रै विज्ञापन प्रकाशन र प्रशारण हुनुपर्ने बताए । उनले भ्रामक, अतिरञ्जित वा उपभोक्तालाई धोका दिने खालका विज्ञापन नियन्त्रणका लागि प्रशासन, विज्ञापन बोर्ड, सञ्चार माध्यम र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । आफुले पनि त्यसमा आवश्यक भूमिका खेल्ने प्रजिअ तामाङले प्रतिबद्धता व्यक्त गरे ।
‘विज्ञापनको विषय उपभोक्तासँग गाँसिएको विषय भएको’ उल्लेख गर्दै प्रजिअ तामाङले विभिन्न ‘प्लेटफर्म’मा आएका विज्ञापनलाई नियन्त्रण र नियमन गर्न समन्वयकारी भूमिका निर्वाह गरिने बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विज्ञापनले मनोसामाजिक रुपमा प्रभाव पारेको उल्लेख गर्दै नेपालमा मदिराको विज्ञापन गर्न रोक लगाउनु मञ्चको ठूलो उपलब्धि भएको बताए ।
उक्त अवसरमा स्थानीय तह र प्रदेश सरकारले विज्ञापनका विषयमा गर्ने नियमन र जरिवानाका विषयमा जानकारी गराइएको थियो ।
बानियाले उपभोक्तामैत्री विज्ञापन प्रवद्र्धन र उपभोक्तालाई सही सूचना दिनु सबै सरोकारवालाको साझा दायित्व भएको बताए । उनले विज्ञापनबाट हुने ठगी, गलत प्रचार र स्वास्थ्य तथा शिक्षा जस्ता संवेदनशील क्षेत्रमा हुने भ्रामक प्रचारप्रति कडा निगरानी आवश्यक रहेको धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले विज्ञापन र समाचारबीचको स्पष्ट विभाजन, आचारसंहिता पालन र तथ्यमा आधारित सामग्री प्रकाशन प्रशारणमा पत्रकारहरू सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा विज्ञापन, कानुनी व्यवस्था, कार्यान्वयनमा देखिएका चुनौती तथा सुधारका उपायबारे सहभागीहरूबीच खुला छलफल समेत गरिएको थियो । त्यसक्रममा हुमागाई र बानियाले प्रस्तुतिकरण समेत गरेका थिए ।
अन्तरक्रियाले विज्ञापन क्षेत्रलाई जिम्मेवार, पारदर्शी र उपभोक्तामैत्री बनाउने दिशामा सहकार्य बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा बाँकेमा क्रियाशील पत्रकार, विज्ञापन एजेन्सी, उपभोक्ता अधिकारकर्मी लगायत सरोकारवालाको सहभागिता थियो ।






























