बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले घरदैलो अभियान शुरु गरेको जनाएका छन् । मंगलवार बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का मतदाता भेटघाटमा पुगेका विष्टले घरदैलोसँगै प्रत्यक्ष संवादमार्फत उनीहरुको भावना बुझ्ने काम गरिरहेको बताए ।
‘मतदाताका समस्या पनि सुन्ने र भोलिका दिनमा यसको समाधानमा पहल लिने प्रतिबद्धता पनि जनाएको छु,’ वडा नम्बर ३ मा खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान कोशिश गर्ने कुरामा गम्भीर रहेको जानकारी दिंदै भने भने ।
नेकपाका समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुनसँगै मतदाता भेटघाटमा सक्रिय विष्टले मतदातासँग प्रतिबद्धतामा समावेशी विकास, सामाजिक न्याय र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न संसदभित्र सशक्त भूमिका खेल्ने विश्वास दिलाएका छन् ।
स्थानीयबासीका अनुसार, उम्मेदवार बिष्टले वडा नं. ३ ले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावलाई गम्भीर चुनौतीका रूपमा लिँदै नीतिगत पहल, बजेट सुनिश्चितता र कार्यान्वयनको ठोस योजना अघि बढाउने बताएका थिए ।































