आफूलाई स्थापित गर्ने नरैनापुर पुगे इश्तियाक

‘यो निर्वाचन विकास र विनास गर्नेहरूबीचको लडाइँ हो’

बाँके क्षेत्र नं २ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूलाई नरैनापुरले राजनीतिमा स्थापित गरेको बताउनुभएको छ। आज क्षेत्र नं १ स्थित नरैनापुरमा आयोजित उम्मेदवारहरूसँग भेटघाट तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै राईले आफ्नो राजनीतिको सुरूआती समयमा नरैनापुरले देखाएको माया र भरोसाले नै आफू यहाँसम्म आइपुगेको बताउनुभयो।

नरैनापुरसँग जोडिएका आफ्ना इतिहासहरूको स्मरण गर्दै राईले भन्नुभयो, ‘मलाई इश्तियाक राई बनाएको नरैनापुरले हो। यसका लागि म सधैं आभारी रहन्छु। तपाइँहरूले मप्रति लगाएको ऋणका लागि म सुक्रिया अदा गर्दछु।’ आफूहरूबीचको पूरानो सम्बन्ध, आपसी इज्जत र मायामा कुनै ह्रास नआएको बताउनुभएका एमाले उम्मेदवार राईले यो निर्वाचन विकास-निर्माण गर्ने र ध्वंश गर्नेहरूबीचको लडाइँ भएको जिकिर गर्नुभयो।

भदौ २४ गतेको घटनाले देशमा माओवादी द्वन्द्वमा भन्दा पनि ज्यादा क्षति भएको राईको दाबी छ। वहाँले भन्नुभयो ‘ देश बनाउने भन्दै आएका स्वार्थी समूहका व्यक्तिहरूले देशको न्यायालय , सुरक्षा र प्रशासनिक संरचनाहरूमा आगो लगाए। जसबाट माओवादीको १० वर्षे द्वन्द्वभन्दा पनि बढी क्षति भयो। ४ घण्टामै देशमा ठूलो ध्वंस भयो।’

राईले बाँके क्षेत्र नं १ मा एमालेका उम्मेदवार सूर्य ढकाललाई जिताउन नरैनापुरवासीसँग अपिल पनि गर्नुभयो। ‘तपाइँहरू क्षेत्र नं २ बाट मेरो सानदार जित चाहनुहुन्छ भने सूर्य ढकाल जीलाई जिताउनुस्। यता तपाइँहरूले सूर्य ढकाल जीलाई भोट दिनुभयो भने उता मेरो पनि थपिन्छ।’, राईले भन्नुभयो।

केही गुनासाहरू भए त्यसलाई विर्सेर चुनाव चिन्ह सूर्यमा मतदान गर्न आग्रह गर्नुभएका राईले बाँधको समस्या समाधान, सुकुम्बासीको व्यवस्थापन तथा कब्रिस्तान, शमशानघाट लगायतको निर्माणका लागि यो पटक एमालेबाट आफूसहित सूर्य ढकालले पनि जित्नु जरूरी रहेको भनाई राख्नुभयो। राईले बाँकेबाट नरैनापुर हुँदै दाङ जोड्ने सडक निर्माणको आफ्नो योजना पनि कार्यक्रममा सुनाउनु भएको थियो।

Exit mobile version