दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला बुधवारदेखि नेपालगन्जमा आयोजना गरिएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनी मेलाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे ।
महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्यसहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगन्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहको अध्यक्षतामा भएको उद्घाटनमा नगर प्रमुख विष्टले महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न प्रदर्शनी मेला महत्वपूर्ण सावित हुँदै गएको बताए ।
महिला उद्यमी संघ नेपालक अध्यक्ष दर्शना श्रेष्ठले बाँकेले उत्कृष्ट काम गर्दै आइरहेको बताइन् । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, केएल दुगद ग्रुप नेपालगन्जका सिइओ प्रदिप छाछेड लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
महिला उद्यमी संघ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी– कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका
सामग्री तथा वस्तुहरु बिक्री वितरण र प्रचारप्रसारको लागि राखिएको
बताइन् ।
प्रदर्शनीले नव–आगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासंघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताइन् ।
महिला उद्यमी संघ नेपाल बाँकेकी निवर्तमान अध्यक्ष सावित्रा पोख्ररेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गरिरहेको बताइन् ।
महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्यसहित हरेक वर्ष नेपालगन्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ । त्यसैको यो श्रृंखला भएको आयोजक महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिंहले बताइन् ।
संघका अनुसार, प्रर्दशनी यही १८ गते सम्म चल्नेछ । प्रर्दशनीमा नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ, भने केएल दुगड गु्रपले मुख्य प्रयोजन गरेको छ ।
प्रर्दशनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट महिलाले उत्पादन गरेका बस्तु राखिएको छ । जहाँ महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामाग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गरिनेछ ।
करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी अवलोकन गर्नको लागि निःशुल्क व्यवस्था गरिएको अध्यक्ष सिंहले बताइन् ।




























