रजतोत्सव मनाउँदै गोरखा युनाइटेड पब्लिक स्कूल

गोरखा युनाइटेड पब्लिक स्कूलले आफ्नो स्थापना भएको २५ वर्ष पूरा गर्दै आजदेखि रजत जयन्ती मनाइरहेको छ ।

त्यसक्रममा पहिलो दिन विहीवार खेल उत्सव आयोजना गरेको गोरखाले शुक्रवार भव्य रुपमा रक्तदान, स्वास्थ्य शिविरसहित अभिभावक दिवस आयोजना गर्न लागिएको छ । विद्यालयका अनुसार, तेस्रो दिन शनिवार भव्य रजतोत्सव गरिनेछ ।

विद्यालयका प्रशासन प्रवन्धक कर्ण बहादुर बस्नेतका अनुसार, आज शुक्रवार अभिभावक दिवसमा विभिन्न इभेन्टस् आयोजना गरिंदैछ । अभिभावकहरुबीच शैक्षिक प्रदर्शनीदेखि विद्यार्थी सम्मानसम्मका कार्यक्रम गर्न लागेको गोरखाको रजत उत्सवमा सहभागी अभिभावक विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच शिविर गरिंदैछ । ‘साँस्कृतिक प्रस्तुतिदेखि ट्यालेन्ट हन्ट शोसम्मका कार्यक्रम गरिंदैछन्,’ प्रशासन प्रवन्धक बस्नेतले दैनिक नेपालगन्जसँग भने ।

विद्यालय संस्थापक केशर बहादुर आलेको नेतृत्वमा ब्रिटिश गोर्खा सैनिक तथा सिङ्गापुर पुलिसबाट सेवानिवृत्त र कार्यरत व्यक्तिहरूले करिब ४० प्रतिशत विद्यार्थीका रूपमा आफ्ना सन्तान भर्ना गरी विद्यालय स्थापना गरेका थिए ।

‘स्थापनाको साढे दुई दशकमा विद्यालय बाँके जिल्ला मात्र होइन, लुम्बिनी प्रदेश हुँदै पश्चिम नेपालकै एक नमुना र अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ,’ गोरखा परिसर पुग्ने र त्यसको उपलब्धी अध्ययन गर्ने जोकोहीले पनि निष्कर्ष दिन्छ, ‘गुणस्तरीय शिक्षाका कारण विद्यालय अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको छ ।’

आफ्नो योजना र सोंचले सार्थक परिणाम दिएको सन्तुष्ट संस्थापक अध्यक्ष आले भन्छन्, ‘स्थापना कालदेखि हालसम्म विद्यालयले हरेक वर्ष कुनै न कुनै उपलब्धि हासिल गर्दै आएको छ भने बितेका २५ वर्षमा अनगिन्ती सफलता हात पारेको छ ।’

गोरखा युनाइटेड देशकै उत्कृष्ट विद्यालयमध्ये एक भएको पुष्टि गर्न विद्यालयले २०६७ र २०७० सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा संस्थागत विद्यालयतर्फ उत्कृष्ट पुरस्कार २०७३ सालमा लुम्बिनी प्रदेशमा संस्थागत विद्यालयतर्फ उत्कृष्ट पुरस्कार जितेर देखाएको छ ।

‘राष्ट्रिय स्तरमा तीन पटक उत्कृष्ट पुरस्कार (ह्याट्रिक) प्राप्त गर्ने पश्चिम नेपालको संस्थागत विद्यालय हुनु विद्यालयका लागि गौरवको विषय बनेको छ,’ संस्थापक अध्यक्ष आलेको भनाइ छ ।

गोरखाले स्थापनाको यो २५ वर्षमा विद्यालयस्तरबाट महाविद्यालयमा रूपान्तरण हुँदै उच्च शिक्षासमेत उपलब्ध गराउँदै आएको छ । ‘हाईस्कुलदेखि स्नातक तहसम्म एउटै थलोबाट शिक्षा पाउने व्यवस्था भएपछि विद्यार्थीलाई पढाइका लागि जिल्ला बाहिर, काठमाडौं वा विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको छ,’ विद्यालय प्रशासन सम्हाल्दै आएका बस्नेतको भनाइ छ ।

बस्नेतका अनुसार, उच्च शिक्षा स्तरोन्नतिका लागि गोरखा युनाइटेडले २०७४ सालमा कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवनबाट सम्बन्धन प्राप्त गरी स्नातक तहको कृषि संकायमा बी.एस्सी. एजी. कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल कलेजमा चार वटा ब्याचका विद्यार्थी अध्ययनरत छन् । भविष्यमा छोटो अवधिका प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने विद्यालयको योजना रहेको छ ।

Exit mobile version