विपद् व्यवस्थापनका लागि प्रतिकार्य योजनासँगै त्यसका लागि बजेट पनि विनियोजन हुनुपर्ने आवश्यकता औंल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि सरोकारवालासँग बिहीबार आयोजना गरिएको टेबुलटप सिमुलेसनमा वक्ता तथा प्रस्तुतिकर्ताले विपद् प्रतिकार्यको योजना बनाउने र अद्यावधिक गर्ने कार्य भैरहेपनि त्यसका लागि बजेट विनियोजन हुनुपर्ने बताएका थिए ।
विपद्का लागि कोष नै बनाएर स्थानीय तहले केही रकम छुट्याएपनि विपद्का आइहाले विभिन्न क्षेत्रमा गर्नुपर्ने कार्यका लागि तोकेर बजेट छुट्याउने गरेका छैनन् । त्यसैले पूर्व तयारी प्रतिकार्य योजनाका लागि बजेट विनियोजन गरेर राखे विपद् आइहाले त्यसबेला प्रतिकार्य गर्न सहज हुने सहभागीहरूले बताएका थिए ।
शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी परियोजना (सुपर)को सहजीकरण, समन्वयमा भएको कार्यक्रममा विभिन्न विषयगत समितिको छलफल पछि यसअघिको रहेको प्रतिकार्य योजनामा थप गर्नुपर्ने विषयका बारेमा प्रस्तुति राखिएको थियो ।
कार्यक्रममा बोल्दै नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले विपद् प्रतिकाय योजना अद्यावधिक भएपछि त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लग्ने बताएका थिए । उनले प्रतिकार्य योजनाले उपमहानगरपालिकालाई विपद् विरुद्ध तयार गर्ने विश्वास व्यक्त गरेका थिए ।
त्यस्तै, कार्यक्रमका अध्यक्ष, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष समेत रहेका विपद् समिति संयोजक समिर प्रताप सिंहले उपमहानगरपालिकाले विपद् विरुद्ध प्रत्येक बर्ष योजना बनाएर पूर्व तयारी गर्दै आएको बताए ।
आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा सुपर परियोजनाका डम्मर बोहराले प्रस्तुति राख्दै विपद्मा प्रतिकार्य योजना समयमै कार्यान्वयन हुँदा त्यसले क्षति न्यूनीकरणमा सहयोग पुग्ने बताएका थिए ।
‘पूर्वतयारीका लागि गरिने कार्यहरूले विपद् विरुद्ध स्थानीय क्षमताको विश्लेषण गरी थप प्रभावकारी योजना बनाउन सकिन्छ’, उनले भने, ‘त्यसैले प्रतिकार्य योजना अद्यावधि अगाडि टेवलटप कृतिम घटना अभ्यास, छलफल लगायतका गर्दै आएका छौं ।’
यूनिसेफका राकेश मल्लिकले विगतको अनुभवबाट प्रतिकार्य योजना अद्यावधिक हुनुपर्ने बताए । ‘विगतमा भएका विपद्का घटनाबाट प्रतिकार्य योजना बनाउँदा प्रभावकारी हुन्छ’, उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, सरकारी, गैरसरकारी क्षेत्रका प्रतिनिधि लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
एक सय ६६ को गयो ज्यान
चालु आ.व.को माघ १५ गतेसम्म लुम्बिनीमा भएका विपद्का घटनामा १ सय ६६ जनाको ज्यान गएको छ । प्रदेश आपतकालीन सञ्चालन केन्द्रको तथ्यांक अनुसार, बिहीबारसम्म भएका विपद् सम्बन्धी विविध १ हजार १ सय १९ वटा घटना हुँदा १ सय ५ पुरुष र ६१ महिलाको ज्यान गएको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा विपद्का घटनामा ४ सय ९४ जना घाइते भएका थिए भने ७ जना बेत्तपा भएका हुन् ।
प्रदेशमा भएको विपद् जन्य घटनामा ठूलो आर्थिक क्षति पनि भएको छ । ५२ करोड ८० लाख ५ हजार ३ सय रूपैयाँ बराबरको क्षति भएको छ । चालु आ.व.को हालसम्म विपद्का घटनामा १ सय ७ व्यक्तिगत घर पूर्ण क्षति भएको छ भने आंशिक क्षति ६ सय ६६ वटामा पुगेको छ । त्यस्तै, विपद्का घटनामा २ सय २६ पशुको मृत्यु भएको छ भने ९० वटा गोठमा क्षति पुगेको छ ।
सर्पदंशका २ सय ५३ घटना
चालु आ.व.को हालसम्म लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सर्पदंशका २ सय ५३ वटा घटना भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक रहेको छ । उक्त घटनामा ७ पुरुष र ८ महिला गरी १५ जनाले अकालमा ज्यान गुमाएका छन् ।
३ सय २१ आगलागीका घटनामा ९ जनाको गयो ज्यान
लुम्बिनी प्रदेशका ३ सय २१ वटा घटना चालु आ.व.को हालसम्म भएका छन् । उक्त घटनामा २ पुरुष र ७ महिला सहित ९ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् ।
त्यस्तै पानीमा डु्बेर मृत्यु हुनेको संख्या अत्याधिक रहेको छ । लुम्बिनीमा पानीमा डु्बेको १ सय १७ घटनामा ७७ पुरुष र ३५ महिला गरी १ सय १२ जनाको मृत्यु भएको छ । पानीमा डुबेर लुम्बिनीमा हालसम्म १२ घाइते र ५ बेपत्ता भएका छन् ।
