आदर्श माविले प्लस टुका विद्यार्थीहरू बीच खेल उत्सव आयोजना गरेको छ । ‘आदर्श प्लस टु स्पोर्टस् कार्निभल २०८२’ नाम दिइएको खेल उत्सवमा तीन दिनसम्म विभिन्न १२ वटा विधामा झण्डै चार सय विद्यार्थीले सहभागिता जनाएको विद्यालयका प्राचार्य महेश्वर जोशीले जानकारी दिए ।शनिबार सकिएको खेल उत्सवमा ‘प्लेयर अफ टुनामेन्ट’ प्रेरणा चालिसले पाँच गोल्डमेडल सहित उत्कृष्ट नतिजा हासिल गर्न सफल भइन् । एथलेक्टिक्ससँगै फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, चियर्स लगायतका प्रतियोगिताले तीन दिनसम्म नेपालगन्ज रंगशाला खेलमय बनेको थियो । पहिलो दिन नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले खेल उत्सव उद्घाटन गरिरहँदा सुजाता कुमारी चन्दको कमाण्डमा कक्षा ११ का विद्यार्थीले मार्चपास र सलामी दिएका थिए । अन्तिम दिन शनिबार विद्यालयका अध्यक्ष सञ्जय थापा, चिफ डाइरेक्टर इश्वर पोखरेल, एकेडेमी एडभाइजर प्रकाश लामिछाने, प्राचार्य महेश्वर जोशी लगायतले खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
