‘विकाससँगै आध्यात्मिक चेतना आवश्यक’

योगी डा विकाशानन्दसँग बाँके २ का उम्मेदवार दिपेन्द्र बिष्टको भेटघाटः

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आध्यात्मिक व्यक्तित्व योगी डा. विकाशानन्दसँग भेटघाट गरेका छन् ।

नेपालगन्जमा भएको उक्त भेटका क्रममा उम्मेदवार बिष्टले डा. विकाशानन्दसँग ‘मनको शान्ति, सामाजिक सद्भाव र समृद्धिका विषयमा आशिष् र मार्गदर्शन लिएको’ बताए ।

‘यो मेरो भावनात्मक आकर्षण पनि हो,’ विष्टले दैनिक नेपालगन्जसँग भने, ‘बहुधार्मिक र बहुसांस्कृतिक पहिचान बोकेको बाँके क्षेत्र नम्बर २ मा सामाजिक एकता कायम राख्न आध्यात्मिक केन्द्रहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले पनि यसमा मेरो चासो छ ।’

त्यसक्रममा डा. विकाशानन्दले राजनीतिमा युवाहरूको सक्रियतालाई स्वागत गर्दै पद र शक्तिभन्दा माथि उठेर जनताको सेवामा समर्पित हुन सुझाव दिए । ‘नैतिकताविहीन राजनीतिले समाजलाई सही दिशा दिन नसक्ने’ भन्दै उनले उम्मेदवार बिष्टलाई इमानदार प्रयासका लागि सुझाव र शुभकामना दिए ।

बिष्टले आफ्नो ‘भिजन’ प्रस्तुत गर्दै भौतिक विकास मात्र नभई जनताको मानसिक र आध्यात्मिक चेतना अभिवृद्धिका लागि पनि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपाका तर्फबाट युवा उम्मेदवारका रूपमा मैदानमा उत्रिएका बिष्टले विभिन्न धार्मिक तथा सामाजिक अगुवाहरूलाई भेटेर आफ्नो पक्षमा जनमत सिर्जना गरिरहेको निर्वाचन परिचालन समितिले जनाएको छ ।

Exit mobile version